Connect with us

अन्तर्राष्ट्रिय

गाजामा जीवित रहेको आशा गरिएका बन्धक यी हुन्

Published

on

इजरायल र हमासबीच गाजामा रहेका बाँकी बन्धक मुक्त गर्न सम्झौा भएको छ । साथै प्यालेस्टाइनी कैदी रिहा गर्ने पनि सम्झौता भएको छ । यो सम्झौता यसै साताभित्र कार्यान्वयन हुने छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसक्रममा २५० जनालाई बन्धक बनाइएको थियो । उनीहरूमध्ये अझै ४८ बन्धक गाजामा छन् । तीमध्ये २० जीवितै र २६ जनाको मृत्यु भइसकेको इजरायली सरकारको विश्वास छ ।

इजरायली अधिकारीका अनुसार, दुई बन्धकको मृत्यु घोषणा गरिएको छैन । तर, उनीहरूको जीवनका कुनै पछिल्लो संकेत प्राप्त छैन ।

जीवित रहेको विश्वास गरिएका बन्धकको विवरण–

१. निम्रोड कोहेन (१९ वर्ष)
निम्रोड कोहेन अनिवार्य सैन्य सेवामा रहेका सिपाही थिए । २०२३ को अक्टोबर ७ मा उनी गाजा सीमानजिकै ट्यांक चालक दलसँग गार्ड डियुटीमा थिए । ट्यांक बिग्रिएपछि उनलाई जीवितै गाजा लगिएको थियो, जबकि चालक दलका अरू सदस्य मारिएका थिए ।

२. तामिर निम्रोदी (२० वर्ष)
इजरायली सैनिक तामिर निम्रोदी २०२३ को अक्टोबर ७ मा आक्रमणका क्रममा गाजानजिकको सैन्य अखडाबाट अपहरणमा परेका थिए । यही वर्षको सुरुमा अधिकारीहरूले उनको मृत्यु भएको आशंका गरेका थिए । तर, बन्धक तथा बेपत्ता परिवार मञ्चका अनुसार, उनी जीवित छन् वा छैनन् भन्नेबारे कुनै निश्चित प्रमाण छैन ।

३. रोम ब्रास्लाभ्स्की (२१ वर्ष)
उनी नोभा महोत्सवमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । उनी अन्तिमपटक हमासले जारी गरेको भिडियोमा देखिएका थिए । त्यहाँ उनी कमजोर र रोगी देखिन्थे ।

४. मातान एङ्ग्रेस्ट (२२ वर्ष)
इजरायली सेनाका सिपाही मातान एङ्ग्रेस्ट गाजा सीमानजिकको भिडन्तका क्रममा ट्यांकबाट अपहरणमा परेका थिए ।

५. बार कुपरस्टीन (२३ वर्ष)
बार कुपरस्टीन नोभा महोत्सवमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । उनका आफन्तका अनुसार, उनी अरूलाई बचाउन त्यहाँ बसेका थिए ।

६. विपीन जोशी (२४ वर्ष)
नेपाली विद्यार्थी विपीन जोशी अपहरणमा पर्नुभन्दा करिब २५ दिनअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गाजा सीमानजिकको किबुज अलुमिम पुगेका थिए । इजरायली अधिकारीले उनको जीवन जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

गएको बुधबार उनको परिवारले २०२३ को नोभेम्बरतिर गाजामा खिचिएको एउटा फुटेज सार्वजनिक गरेको थियो । त्यसमा उनी चोट नलागेको अवस्थामा देखिएका थिए । परिवारले विज्ञप्तिमा भनेको छ, “यो फुटेजले उनी जीवित छन् भन्ने हाम्रो अटल विश्वासलाई पुष्टि गर्छ ।”

७. एभ्याटर डेभिड (२४ वर्ष)
एभ्याटर डेभिड साथी गाय गिल्बोआ–दलालसँग नोभा महोत्सवबाट अपहरणमा परेका थिए । डेभिडका दाइ इलाईले उनलाई ‘लाज मान्ने तर जीवनले भरिएको व्यक्ति’ भन्दै उनको संगीतप्रेमको चर्चा गरेका छन् ।

इलाई डेभिडले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा दिएको भाषणमा हमासले जारी गरेको भाइको भिडियोमा उनले शरीरको लगभग आधा वजन गुमाएको बताएका थिए ।

८. गाय गिल्बोआ–दलाल (२४ वर्ष)
उनी नोभा महोत्सवबाट अपहरणमा परेका थिए । हमासले जारी गरेका कम्तीमा दुई भिडियोमा उनी देखिएका छन् । यस्ता भिडियो दबाबमा बनाइने र यसलाई युद्ध अपराध मानिने मानवअधिकार समूहको भनाइ छ ।

९. एलोन ओहिल (२४ वर्ष)
उत्तरी इजरायलका पियानोवादक एलोन ओहिललाई हमासको आक्रमणमा ३८० भन्दा बढी मानिस मारिएका नोभा संगीत महोत्सवबाट भाग्ने क्रममा सडकछेउको बम आश्रयस्थलबाट हमासले नियन्त्रणमा लिएको थियो ।

आक्रमणका क्रममा उनको दाहिने आँखामा छर्राको घाउ लागेको थियो । हमासले हालै सार्वजनिक गरेको भिडियोमा उनी आंशिक रूपमा दृष्टिविहीन देखिएका परिवारको भनाइ छ । फेब्रुअरीमा मुक्त गरिएका तीन बन्धकले ओहिललाई सुरुङमा साङ्लोले बाँधेर राखिएको बताएका थिए ।

१०. मातान जाङ्गाउकर (२५ वर्ष)
उनी प्रेमिका इलाना ग्रिट्जेस्कीसँग निर ओजबाट अपहरणमा परेका थिए । उनकी प्रेमिका २०२३ को नोभेम्बरमा युद्धविरामका बेला रिहा भइन् । जाङ्गाउकरकी आमा आइनाभ छोराको अपहरणपछि सरकारको कट्टर आलोचक बनेकी छन् ।

११. योसेफ–हाइम ओहाना (२५ वर्ष)
नोभा महोत्सवमा घाइतेलाई बचाउने क्रममा हमासले उनलाई नियन्त्रणमा लिएको थियो । अपहरणअघि उनी तेल अभिभमा बारटेन्डरका रूपमा कार्यरत थिए ।

१२. एतान मोर (२५ वर्ष)
एतान मोर नोभा महोत्सवमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । आक्रमणका बेला उनी घाइतेलाई बाहिर निकाल्न सहयोग गरिरहेका थिए । उनले अपहरण भएमा आफू आतंकवादको अभियोगमा दोषी ठहरिएका प्यालेस्टाइनीसँग आदानप्रदान हुन नचाहने बताएका थिए ।

१३. सेगेभ काल्फोन (२७ वर्ष)
आक्रमणका बेला नोभा महोत्सवबाट भाग्ने क्रममा उनलाई बन्धक बनाइएको थियो ।

१४. एरियल कुनियो (२८ वर्ष)
एरियल कुनियो र उनकी प्रेमिका अर्बेल येहुदलाई गाजा सीमानजिकको किबुज निर ओजस्थित घरबाट अपहरण गरिएको थियो ।

जनवरीमा रिहा भएकी येहुदले गएको महिना फेसबुक पोस्टमा कुनियोको ७०० दिनको बन्दी जीवन सम्झँदै लेखेकी थिइन्, “यो हाम्रो निजी स्वर्ग थियो ।” कुनियोका दाइ डेभिडलाई पनि किबुजबाट अपहरण गरिएको थियो ।

१५. गाली बेर्मन र जिभ बेर्मन (२८ वर्ष)
यी जुम्ल्याहा दाजुभाइलाई साथी एमिली दामारीसँगै कफर अजाबाट अपहरण गरिएको थियो । जनवरीमा रिहा भएकी दामारीका अनुसार, बन्धक जीवनको पहिलो दिनमै उनीहरूलाई अलग गरिएको थियो ।

१६. अविनातान ओर (३२ वर्ष)
अविनातान ओर आफ्नी प्रेमिका नोआ आर्गमानीसँग नोभा संगीत महोत्सवबाट अपहरणमा परेका थिए । भिडियो फुटेजमा बन्दुकधारीले उनलाई घिसार्दै लगेको देखिन्छ, जबकि आर्गमानीलाई मोटरसाइकलमा राखेर गाजातर्फ लगिँदा उनी रोइरहेकी थिइन् ।

आर्गमानीलाई इजरायली सेनाले २०२४ को जुनमा मध्य गाजाको एक अपार्टमेन्टबाट उद्धार गरेको थियो । अपहरणपूर्व ओर एक प्रमुख प्रविधि कम्पनीमा कार्यरत थिए ।

१७. डेभिड कुनियो (३५ वर्ष)
डेभिड कुनियो आफ्नी पत्नी शारोन र तीन वर्षीया जुम्ल्याहा छोरीहरू युली र एम्मासँगै अपहरणमा परेका थिए । पत्नी र छोरीहरू २०२३ को नोभेम्बरमा रिहा भए ।

गएको जुलाईमा खिचिएको भिडियोमा छोरीहरूले आफ्नो पाँचौँ जन्मदिनमा बुवा फर्किऊन् भन्ने इच्छा व्यक्त गरेका थिए । शारोनले भनिन्, “यो सधैँ एक मात्र इच्छा हो, अरू केही होइन ।”

१८. एल्काना बोहबोट (३६ वर्ष)
नोभा महोत्सवमा उत्पादन क्षेत्रमा काम गर्ने एल्काना बोहबोट भाग्नुको सट्टा अरूलाई मद्दत गर्न बसेका थिए । त्यहीक्रममा अपहरणमा परे ।

१९. म्याक्सिम हेर्किन (३७ वर्ष)
युक्रेनबाट इजरायल बसाइँ सरेका म्याक्सिम हेर्किन नोभा महोत्सवबाट अपहरणमा परेका थिए । अपहरणको समयमा उनकी ती वर्षीया छोरी थिइन् । उनी परिवारका मुख्य आयस्रोत थिए ।

२०. एतान हर्न (३८ वर्ष)
एतान हर्न किबुज निर ओजबाट दाइ इआइर हर्नसँगै अपहरणमा परेका थिए । इआइर फेब्रुअरीमा रिहा भए । संसदीय समितिमा बयान दिँदा उनले बन्धकलाई रिहा र युद्ध अन्त्य गर्ने सम्झौताका निम्ति आग्रह गरेका थिए । उनले सुरुङमा मिसाइल खस्दा भाइलाई तानेर बचाउने प्रयास गरेको बताएका थिए ।

२१. ओम्री मिरान (४८ वर्ष)
किबुज नाहल ओजबाट हमास लडाकुले ओम्री मिरानलाई अपहरण गरेका थिए, जबकि उनकी पत्नी र दुई साना सन्तानलाई छाडिएको थियो । उनकी पत्नीले बीबीसीसित भनेकी छन्, “कहिलेकाहीँ श्रीमान्को नजिक महसुस गर्न म गाजाबाट आधा माइल टाढा रहेको हाम्रो ध्वस्त किबुजमा फर्कन्छु ।”

न्युयोर्क टाइम्सबाट

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.