Connect with us

अन्तर्राष्ट्रिय

गाजामा ७० हजार प्यालेस्टिनी मारिएको इजरायली सेनाद्वारा स्वीकार

Published

on

स्वास्थ्य मन्त्रालयको तथ्यांक ‘सही’ भएको पुष्टि

इजरायली सेनाले गाजा युद्धमा हालसम्म करिब ७० हजार प्यालेस्टिनी मारिएको स्वीकार गरेको छ । इजरायली पत्रकारहरूसँगको ब्रिफिङका क्रममा सैन्य अधिकारीहरूले गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्दै आएको मृतकको संख्या धेरै हदसम्म सही रहेको बताएका छन् ।

सीएनएनका अनुसार यसअघि इजरायलले उक्त मन्त्रालय हमासद्वारा नियन्त्रित रहेको भन्दै तथ्यांकप्रति शंका व्यक्त गर्दै आएको थियो ।

इजरायली पत्रिका ‘येदिओथ अहरोनोथ’ले सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ, “हाम्रो अनुमानमा युद्धमा करिब ७० हजार गाजावासी मारिएका छन्, जसमा बेपत्ता भएकाहरूको संख्या समावेश छैन ।” सार्वजनिक प्रसारक ‘कान ११’ ले यो जानकारी ‘कोअर्डिनेटर अफ गभर्मेन्ट अफेयर्स इन द टेरिटोरिज’बाट प्राप्त भएको उल्लेख गर्दै मारिएकामध्ये कति सर्वसाधारण र कति लडाकु थिए भन्ने विषयमा विश्लेषण भइरहेको जनाएको छ ।

बुधबार प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले युद्ध सुरु भएयता गाजामा कुल ७१ हजार ६६७ प्यालेस्टिनी मारिएको र एक लाख ७१ हजार ३४३ जना घाइते भएको तथ्यांक सार्वजनिक गरेको थियो । यो संख्यामा अक्टोबरको मध्यतिर युद्धविराम सुरु भएयता इजरायली आक्रमणमा मारिएका ४९२ प्यालेस्टिनीहरू पनि समावेश छन् । मन्त्रालयले मृतकमध्ये लडाकु र सर्वसाधारणको वर्गीकरण नगरे पनि मृतकहरूको विस्तृत सूची नियमित रूपमा प्रकाशित गर्दै आएको छ ।

युद्धको सुरुआती चरणमा इजरायलले हमासले तथ्यांक बढाइचढाई गरेको आरोप लगाएको थियो । तर, सेप्टेम्बरमा तत्कालीन इजरायली सेना प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हालेभीले भनेका थिए, “गाजामा २२ लाख मानिस छन् । आज गाजाका १० प्रतिशतभन्दा बढी मानिस मारिएका वा घाइते भएका छन्, जसको संख्या दुई लाख नाघेको छ । यो कुनै सामान्य युद्ध होइन ।” यो भनाइ स्वास्थ्य मन्त्रालयको तत्कालीन तथ्यांकसँग मेल खाएको थियो ।

इजरायली सेनाका प्रवक्ताले भने पत्रकारहरूलाई दिइएको यो जानकारीको आधिकारिक पुष्टि गर्न अस्वीकार गरेका छन् । उनले भने, “प्रकाशित विवरणहरूले आधिकारिक आईडीएफ तथ्यांकलाई प्रतिबिम्बित गर्दैनन् । यसबारे कुनै पनि आधिकारिक रिपोर्ट व्यवस्थित माध्यमबाट मात्र सार्वजनिक गरिनेछ ।”

सेनासँग मृतकको आधिकारिक तथ्यांक छ कि छैन अथवा कहिल्यै सार्वजनिक हुन्छ कि हुँदैन भन्ने प्रश्नमा भने उनले कुनै जवाफ दिएका छैनन् । सार्वजनिक रूपमा तथ्यांक स्वीकार नगरे पनि इजरायली उच्च अधिकारीहरूले निजी कुराकानीमा मृतकको संख्याबारे चर्चा गर्ने गरेका छन् ।

गत अगस्टमा सार्वजनिक भएको एक अडियोमा पूर्वगुप्तचर प्रमुख मेजर जनरल अहारोन हलिभाले गाजामा ५० हजारको मृत्यु भविष्यका पुस्ताका लागि आवश्यक रहेको बताएका थिए । गाजामा मृतकको संख्या मार्च २०२५ मै ५० हजार नाघेको थियो ।
सीएनएन

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.