अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई सञ्चालन गर्न विशेष टोली गठन गरिएको बताएका छन् । यस टोलीमा अमेरिकाका विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेग्सेथ र अन्य शीर्ष अधिकारीहरू समावेश हुनेछन् ।
यो टोलीले भेनेजुएलामा कानन–व्यवस्था कायम राख्ने, सरकारी संस्थाहरू पुनः सञ्चालन गर्ने, तेल, ऊर्जा र सुरक्षा जस्ता महत्त्वपूर्ण क्षेत्रहरूलाई स्थिर बनाउने तथा संक्रमणकालीन अवधि सम्हाल्न सहयोग गर्नेछ । ट्रम्पले यसका लागि अमेरिका भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजसँग मिलेर काम गरिरहेको पनि बताए ।
भेनेजुएलाको तेल अमेरिकाका लागि आवश्यक: ट्रम्प
पत्रकार सम्मेलनमा डोनाल्ड ट्रम्पसँग दक्षिण अमेरिकाको एउटा देशमा हस्तक्षेप गर्नु ‘अमेरिका फर्स्ट’ नारासँग कसरी मेल खान्छ भन्ने प्रश्न सोधियो ।
यसमा ट्रम्पले यो पूर्ण रूपमा मेल खाने बताए, किनभने अमेरिकालाई आफ्नो आसपास राम्रा छिमेकीहरू चाहिने उनको भनाइ थियो । उनले अमेरिकालाई आफ्नो वरपर स्थिर देशहरू आवश्यक पर्ने पनि बताए ।
ट्रम्पले भेनेजुएलामा तेल र ऊर्जाका विशाल स्रोतहरू रहेको र ती स्रोतहरू सम्पूर्ण विश्वका लागि, साथै अमेरिकाका लागि पनि आवश्यक रहेको बताए । त्यसैले अमेरिकाले यी स्रोतहरू सुरक्षित राख्न चाहेको उनले स्पष्ट पारे ।
ट्रम्पले भने– अमेरिका अब भेनेजुएलाको शासन सम्हाल्नेछ
ट्रम्पले भेनेजुएलाको अर्को नेता को हुने भन्ने अझै स्पष्ट नभएको बताए । जबसम्म त्यहाँको अवस्था पूर्ण रूपमा सुधार हुँदैन र सत्ता उचित रूपमा हस्तान्तरण हुँदैन, तबसम्म भेनेजुएलाको जिम्मेवारी अमेरिकाले आफ्नै हातमा राख्ने उनले बताए ।
ट्रम्पले स्पष्ट शब्दमा अमेरिका अहिले भेनेजुएलालाई सञ्चालन गर्ने बताए । उनका अनुसार, मादुरो सरकार कुनै अर्को नेतामार्फत फेरि सत्तामा रहोस् भन्ने उनीहरू चाहँदैनन् । पुरानो व्यवस्थालाई नयाँ अनुहारसँग निरन्तरता दिन अनुमति नदिइने उनले बताए ।
ट्रम्पले भेनेजुएलाको सेनालाई अमेरिकाको आक्रमणबारे पहिल्यै थाहा भएको पनि दाबी गरे । यही कारण त्यहाँको सेना धेरै समय टिक्न नसकी छिट्टै कमजोर भएको र अमेरिकी सेनाले चाँडै नियन्त्रण लिएको उनले बताए ।
यसरी गरियो माधुरो समात्ने अपरेसन
पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले अमेरिकी सैनिकहरूले भेनेजुएलामा उत्कृष्ट सैन्य अपरेसन सम्पन्न गरेको बताए । यो अमेरिकी शक्तिको उत्कृष्ट प्रदर्शन भएको उनको भनाइ थियो । उनले यो अपरेसन धेरै योजनाबद्ध रूपमा गरिएको र कुनै पनि देशले यस्तो गर्न नसक्ने दाबी गरे ।
यो अपरेसनमा अमेरिकाको पूर्ण सैन्य शक्ति प्रयोग गरिएको थियो । आक्रमणका लागि आकाश, जमिन र समुद्र तीनै माध्यमबाट सेना परिचालन गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार, दोस्रो विश्वयुद्धपछि यति प्रभावशाली सैन्य दृश्य कसैले देखेका थिएनन् ।
उनले पहिलो सैन्य आक्रमणपछि अमेरिका दोस्रो आक्रमण गर्न पनि पूर्ण तयारीमा रहेको बताए । तर, पहिलो आक्रमण सफल भएकाले दोस्रो कारबाहीको आवश्यकता नपरेको उनको भनाइ थियो । भविष्यमा आवश्यकता परे अमेरिका फेरि आक्रमण गर्न तयार रहने उनले बताए ।
यसैबीच ट्रम्पले फक्स न्यूजलाई अन्तर्वार्ता दिँदै आफ्ना योजनाबारे प्रकाश पारेका छन् । उनले अमेरिका भेनेजुएलासँग अब के गर्ने भन्नेबारे सोच्दा विपक्षका कुनै नेताले देशको कमाण्ड सम्हाल्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा योजना बनाइरहेको बताए ।
उनले मादुरोलाई समात्ने अपरेसन टेलिभिजनमा शो हेरेजस्तै देखिएको र यो अपरेसन अत्यन्त विशेष रहेको बताए । उनका अनुसार, यसमार्फत विश्वलाई अमेरिकालाई कसैले दबाउन सक्दैन भन्ने सन्देश दिन जबरदस्त शक्ति प्रयोग गरिएको थियो ।
उनका अनुसार, मादुरोको घरमा मोटा स्टिलका ढोकाहरू थिए । चारैतिर बलियो स्टिलबाट बनेको सुरक्षित कोठा पनि थियो । उनी त्यसमा प्रवेश गर्ने प्रयास गरिरहेका थिए, तर आक्रमण यति तीव्र थियो कि उनलाई मौका नै मिलेन । “हाम्रा सैनिकहरू स्टिल काट्न ब्लोटर्चसहित पूर्ण तयारीमा थिए, तर त्यसको प्रयोग नै गर्नु परेन,” ट्रम्पले भने ।
उनले अमेरिकासँग विश्वका सबैभन्दा ठूला र शक्तिशाली तेल कम्पनीहरू रहेको र अब ती कम्पनीहरू भेनेजुएलाका तेल क्षेत्रहरूमा पनि सक्रिय भूमिका खेल्ने बताए । मादुरोलाई अत्यन्त उच्च सुरक्षा भएको स्थानबाट समातिएको उनले बताए । अपरेसनका क्रममा केही व्यक्ति घाइते भए पनि उनीहरू अहिले ठीक रहेको जानकारी दिए ।
उनले मादुरोपछि अर्को व्यक्तिले उस्तै सत्ता सम्हाल्ने परिस्थिति अमेरिका हुन नदिने र भेनेजुएलामा अब पुरानो प्रणाली पुनः लागु हुन नदिइने स्पष्ट पारे ।
एजेन्सीको सहयोगमा बाह्खरीबाट