Connect with us

समसामयिक

ट्रम्पको दोस्रो कार्यकालको पहिलो एक वर्षमै पाँच सय ८३ नेपाली ‘डिपोर्ट’

Published

on

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति भएपछिको एक वर्षमैपाँच सय ८३ नेपाली डिपोर्ट (निष्कासन) मा परेका छन् । डोनाल्ड ट्रम्पले सन् २०२५ जनवरी २० मा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको शपथ लिएका थिए । सन् २०२५ जनवरी २० देखि २०२६ जनवरी २० सम्म एक वर्षको अवधिमा अमेरिकाले पाँच सय ८३ जना नेपालीलाई विभिन्न आरोप लगाई डिपोर्ट गरेको छ ।

“डोनाल्ड ट्रम्पले दोस्रो पटक अमेरिकी राष्ट्रपतिको शपथ लिएयताको एक वर्षमा अमेरिकाबाट झण्डै ६ सय नेपाली डिपोर्ट भई काठमाडौं पठाइएको छ । धेरैजसोलाई चाटर्ड विमानमा राखी पठाइएको छ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अनुज भण्डारीले सञ्चारकर्मीलाई जानकारी दिएका छन्।

भण्डारीका अनुसार गत सोमबार (माघ ५ गते) मात्र एकैदिन अमेरिकाले ९१ जना नेपालीलाई डिपोर्ट गरेर काठमाडौंमा झारिदिएको थियो । यसअघि अमेरिकाले एकैदिन यति ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरेको थिएन । उनीहरूलाई चाटर्ड विमानमा राखेर अमेरिकाले काठमाडौं पठाएको थियो ।

यसअघि अमेरिकाले डिपोर्ट गरी पठाएका ७५ जना नेपाली पुस ३ गते काठमाडौं आइपुगेका थिए । उनीहरूलाई पनि अमेरिकाले चाटर्ड विमानमा राखी पठाएको थियो । ०८२ भदौ १९ गते अमेरिकाले यसैगरी एकैदिन ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरेको थियो । सो दिन अमेरिकाले चाटर्ड विमान राखेर ३७ जना नेपालीलाई पठाएको थियो ।

अमेरिकाले ०८२ जेठ २५ गते पनि एकसाथ डिपोर्ट गरी पठाएका ३७ जना नेपाली काठमाडौं आइपुगेका थिए । उनीहरूलाई पनि अमेरिकाले चाटर्ड विमानमा नेपाल पठाएको थियो । अमेरिकामा बस्नका लागि कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिकहरू डिपोर्ट गरिएको अमेरिकाले जनाउँदै आएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट भएकाहरू काठमाडौं आउनु केही दिनअघि त्यसबारे अध्यागमन विभागलाई जानकारी दिने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ ।

प्रायः अवैध बाटो अमेरिका गएकाहरू डिपोर्टमा पर्ने गरेका छन् । यसैकारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गरेको छ । खासगरी उनीहरूलाई अमेरिका पठाउने ९मानव तस्कर० का बारेमा उनीहरूसँग सूचना लिने काम प्रहरीले गर्छ ।

अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकाहरूमाथि अमेरिकाले लगाएको छ ।

ट्रम्पले राष्ट्रपति निर्वाचन अभियानकै क्रममा आप्रवासीमाथि कडाइ गर्ने घोषणा गरेका थिए । निर्वाचित भएपछि राष्ट्रपतिको शपथ लिएलगत्तै उनले अवैध आप्रवासीलाई निष्कासन गर्नेसम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

त्यसपछि ट्रम्प प्रशासनले निष्कासित गर्ने एक हजार तीन सय ६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको सूची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लगाइएको थियो ।

सन् २०२४ मा अमेरिकाले मात्र ३५ जना नेपालीलाई डिपोर्ट गरेको थियो । ट्रम्प दोस्रो पटक राष्ट्रपति भएपछि डिपोर्ट हुने नेपालीको संख्या बढेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.