Connect with us

अर्थ

सागर डिस्टिलरीको सेयरमा ब्रोकर नम्बर ५८ को अस्वाभाविक चलखेल

Published

on

देशको अर्थतन्त्र मन्दीमा रहेकै बेला उद्योगधन्दा बन्द हुने क्रममा रहेकै बेला सागर डिस्टिलरीको सेयरको मूल्य भने बिनाअर्थ बढेको बढ्यै छ । वित्तीय अवस्था कमजोर रहेको सो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कर्नरिङ गरेर बढाइएको हो ।

आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमास (साउन–असोज) मा मात्रै डेढ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानी व्यहोरेको सो कम्पनीको सेयर मूल्य एक महिनाको अन्तरालमा ३ सय रुपैयाँबाट उकालो लागेर १ हजार ९ सय ५१ रुपैयाँ पुगेको छ ।

– ब्रोकर नम्बर ५८ को पासोमा सागर डिस्टिलरीको सेयर

– सेयर कर्नरिङ नेटवर्कको केन्द्रविन्दुमा सन्दीप जलान

यो कुनै सामान्य बजार वृद्धि भने होइन । यो ब्रोकर नं. ५८ (नासा सेक्युरिटिज) कम्पनीका मुख्य प्रवर्धक सन्दीप जलान र सीमित सेयर खेलाडीहरूको मिलेमतोमा रचिएको एउटा योजनाबद्ध ‘पासो’ भएको सेयर विश्लेषक र कारोबारीहरू बताउँछन् ।

सागर डिस्टिलरीको पहिलो त्रैमासिक वित्तीय विवरण हेर्दा घाटामा रहेको कम्पनीको सेयर १ हजार ९ सय ५० रुपैयाँमा पुग्नु भनेको अप्रत्याशित हो । युनिलिभर वा बोटलर्स नेपालजस्ता बहुराष्ट्रिय कम्पनीसँग तुलना हुनेगरी रक्सी उद्योगको मूल्य उचाल्नुका पछाडि कर्नरिङ र इन्साइडर ट्रेडिङ हो भन्ने निष्कर्षमा लगानीकर्ता पुगेका छन् ।

यो अस्वाभाविक मूल्यवृद्धिको मुख्य कारण कम्पनीको सेयर संरचना र सञ्चालकहरूको पृष्ठभूमिमा लुकेको छ । सागर डिस्टिलरीको २० दशमलव ९० प्रतिशत (१२ लाख १४ हजार कित्ता) सेयर उनै जलानको नाममा छ । उनी कम्पनीका मुख्य प्रवर्धक हुन् ।

उनै जलान नेपालको सबैभन्दा ठूलो ब्रोकर हाउस नासा सेक्युरिटिज )ब्रोकर नं.५८) का पूर्वसञ्चालक र ‘डिफ्याक्टो’ मालिक मानिन्छन् ।

सागर डिस्टिलरीको कुल ७२ लाख ६० हजार कित्ता सेयरमध्ये ८० प्रतिशत (५८ लाख कित्ता) सेयर जलान, आशुतोष खेतान र अलका गोयलजस्ता प्रवर्धकहरूको नाममा ‘लक–इन’ (३ वर्ष बेच्न नमिल्ने) अवस्थामा छ । बाँकी रहेको २० प्रतिशत ९करिब १४ लाख ५२ हजार कित्ता० मात्र सर्वसाधारणका लागि बजारमा आएको छ ।

सर्वसाधारणलाई परेको १०–१० कित्ता सेयर ब्रोकर नं. ५८ र ४२ मार्फत सुरुवाती दिनमै ३ सयदेखि ५ सय रुपैयाँको हाराहारीमा उठाइयो । जब बजारमा उपलब्ध अधिकांश सेयर सीमित व्यक्तिले कब्जा गरे, तब बिक्री गर्ने कोही भएनन् ।

बेच्ने मान्छे नभएपछि थोरै कित्ता ९१०–२० कित्ता० को खरिद आदेश राखेर ‘सकारात्मक सर्किट’ लगाउँदै कृत्रिम माग गराइरहेको छ । अहिले १ हजार ९ सयको विन्दुमा कारोबार भइरहँदा ब्रोकर नं। ५८ ले नै सबैभन्दा धेरै किन्ने र बेच्ने गरिरहेको तथ्यांकले देखाउँछ । एउटै ब्रोकरबाट ठूलो परिमाणमा किनबेच हुँदा भोल्युम बढेको देखिन्छ, जसले प्राविधिक विश्लेषकलाई झुक्याउँछ ।

कम्पनीका प्रमोटर जलान आफैं विगतमा ‘बजार माफिया’को छायाले घेरिएका व्यक्ति हुन् । उनीमाथि इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङ, बजार चलखेलजस्ता आरोप विगतमा बारम्बार लाग्दै आएका छन् ।

उनी संलग्न अघिल्ला कम्पनीहरूको मूल्य उचाल्ने, सिजन नै हेर्नुपर्ने कामलाई सूचना बाहिर आएपछि मूल्य घट्ने खेल अहिले फेरि दोहोरिएको संकेत पाइन्छ । सेयर बजारमा पटक–पटक विवादमा तानिएका र ‘बजार माफिया’को आरोप खेप्दै आएका जलान कम्पनीका तेस्रो ठूला हिस्सेदार हुन् ।

कम्पनीमा शोभा मिश्रको नाममा ३ दशमलव ४९ प्रतिशत (२ लाख २ हजार ५ सय कित्ता) र श्रीराम केसीका नाममा ३ दशमलव १० प्रतिशत )१ लाख ७५ हजार कित्ता) सेयर छ ।

यसरी कम्पनीको झन्डै आधा हिस्सा सीमित प्रमोटरहरूको ‘लकर’मा थन्किएपछि बजारमा सर्वसाधारणका लागि उपलब्ध सेयर ९फ्लोटिङ सेयर०को मात्रा स्वतः कम भएको छ । यही कम आपूर्तिको फाइदा उठाउँदै ठूला खेलाडीले सेयर ‘कर्नर’ गर्ने र कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने खेल चलिरहेको हो ।

जलान कम्पनीका तेस्रो ठूला हिस्सेदार, पाँच जनाको हातमा ४१ प्रतिशत स्वामित्व
कम्पनीको सेयर स्वामित्व संरचना हेर्दा प्रत्यक्ष रूपमा ‘कर्नरिङ–फ्रेन्डली’ विशेषता देखिन्छ । ५ जना व्यक्तिले ४० दशमलव ८८ प्रतिशत सेयर आफ्नो मुठीमा राखेका छन् ।

उनीहरू हुन् आशुतोष खेतान, अल्का गोयल, सन्दीप जलान, शोभा मिश्र र श्रीराम केसी ।

‘फ्लोटिङ सेयर’ अत्यन्त न्यून भएपछि बजारमा आपूर्ति नियन्त्रण गर्न सजिलो हुन्छ । सेयर आपूर्ति ‘सुकाएर’, माग कृत्रिम रूपमा बढाएपछि मूल्य एकाएक उकालो लाग्छ । यही संरचना अहिले सागर डिस्टिलरीमा देखिएको छ ।

कम्पनी घाटामा, तर सेयरमा ‘सर्किट’
वित्तीय सूचकहरूमा कडा गिरावट आएको समयमा सेयर मूल्य भने उल्टै उचाइमा लाग्न थालेको छ ।

३ सय २० रुपैयाँमा कारोबार सुरु गरेको सागर डिस्टिलरी हाल १ हजार ८ सय रुपैयाँको हाराहारीमा पुगेको छ । कम्पनीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागिरहेको अवस्था छ । तर, वास्तविक कारोबार भने अत्यन्त न्यून छ ।

कारोबार संख्यामा कम हुनु भनेको कृत्रिम अभाव सिर्जना गरी, थोरै कारोबारमा मूल्य उचाल्ने खेल हो भने स्पष्ट देखिन्छ । नेप्सेमा देखिएको चार्ट पनि अस्वाभाविक छ, लगातार ‘सिँढी मोडेल’मा उकालो लागिरहेको छ । यो प्रवाह प्राकृतिक क्षेत्रमा देखिँदैन, बरू ‘पम्प–एन्ड–डम्प’को संकेत हो ।

वित्तीय बोझ बढ्दो, नेटवर्थ खस्किँदो
कम्पनीको वास्तविक आर्थिक स्वास्थ्य कमजोर छ । बैंक तथा वित्तीय संस्थासँगको ऋण दायित्व बढेको, ब्याज भुक्तानीले आम्दानीलाई खाइदिएको, उत्पादन लागत नियन्त्रणबाहिर गएको देखिन्छ ।

इन्फोमेरिक्सले उल्लेख गरेको ‘इन्टरेस्ट कभरेज रेसियो’ अत्यन्त न्यून छ, जसको अर्थ कम्पनीले ब्याज तिर्ने क्षमतासमेत घट्दो छ । विगत एक महिनामा मात्र बजार पुँजीकरण १३ अर्ब २८ करोड ५८ लाख रुपैयाँ पुगेको छ, जुन उचाइमा देशका वर्षांैदेखि स्थिर चलिरहेका, बहुराष्ट्रिय कम्पनीहरू उभिन्छन् ।
पूर्णभक्त दुवाल/राजधानी दैनिक

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.