देशको अर्थतन्त्र मन्दीमा रहेकै बेला उद्योगधन्दा बन्द हुने क्रममा रहेकै बेला सागर डिस्टिलरीको सेयरको मूल्य भने बिनाअर्थ बढेको बढ्यै छ । वित्तीय अवस्था कमजोर रहेको सो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कर्नरिङ गरेर बढाइएको हो ।
आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमास (साउन–असोज) मा मात्रै डेढ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानी व्यहोरेको सो कम्पनीको सेयर मूल्य एक महिनाको अन्तरालमा ३ सय रुपैयाँबाट उकालो लागेर १ हजार ९ सय ५१ रुपैयाँ पुगेको छ ।
– ब्रोकर नम्बर ५८ को पासोमा सागर डिस्टिलरीको सेयर
– सेयर कर्नरिङ नेटवर्कको केन्द्रविन्दुमा सन्दीप जलान
यो कुनै सामान्य बजार वृद्धि भने होइन । यो ब्रोकर नं. ५८ (नासा सेक्युरिटिज) कम्पनीका मुख्य प्रवर्धक सन्दीप जलान र सीमित सेयर खेलाडीहरूको मिलेमतोमा रचिएको एउटा योजनाबद्ध ‘पासो’ भएको सेयर विश्लेषक र कारोबारीहरू बताउँछन् ।
सागर डिस्टिलरीको पहिलो त्रैमासिक वित्तीय विवरण हेर्दा घाटामा रहेको कम्पनीको सेयर १ हजार ९ सय ५० रुपैयाँमा पुग्नु भनेको अप्रत्याशित हो । युनिलिभर वा बोटलर्स नेपालजस्ता बहुराष्ट्रिय कम्पनीसँग तुलना हुनेगरी रक्सी उद्योगको मूल्य उचाल्नुका पछाडि कर्नरिङ र इन्साइडर ट्रेडिङ हो भन्ने निष्कर्षमा लगानीकर्ता पुगेका छन् ।
यो अस्वाभाविक मूल्यवृद्धिको मुख्य कारण कम्पनीको सेयर संरचना र सञ्चालकहरूको पृष्ठभूमिमा लुकेको छ । सागर डिस्टिलरीको २० दशमलव ९० प्रतिशत (१२ लाख १४ हजार कित्ता) सेयर उनै जलानको नाममा छ । उनी कम्पनीका मुख्य प्रवर्धक हुन् ।
उनै जलान नेपालको सबैभन्दा ठूलो ब्रोकर हाउस नासा सेक्युरिटिज )ब्रोकर नं.५८) का पूर्वसञ्चालक र ‘डिफ्याक्टो’ मालिक मानिन्छन् ।
सागर डिस्टिलरीको कुल ७२ लाख ६० हजार कित्ता सेयरमध्ये ८० प्रतिशत (५८ लाख कित्ता) सेयर जलान, आशुतोष खेतान र अलका गोयलजस्ता प्रवर्धकहरूको नाममा ‘लक–इन’ (३ वर्ष बेच्न नमिल्ने) अवस्थामा छ । बाँकी रहेको २० प्रतिशत ९करिब १४ लाख ५२ हजार कित्ता० मात्र सर्वसाधारणका लागि बजारमा आएको छ ।
सर्वसाधारणलाई परेको १०–१० कित्ता सेयर ब्रोकर नं. ५८ र ४२ मार्फत सुरुवाती दिनमै ३ सयदेखि ५ सय रुपैयाँको हाराहारीमा उठाइयो । जब बजारमा उपलब्ध अधिकांश सेयर सीमित व्यक्तिले कब्जा गरे, तब बिक्री गर्ने कोही भएनन् ।
बेच्ने मान्छे नभएपछि थोरै कित्ता ९१०–२० कित्ता० को खरिद आदेश राखेर ‘सकारात्मक सर्किट’ लगाउँदै कृत्रिम माग गराइरहेको छ । अहिले १ हजार ९ सयको विन्दुमा कारोबार भइरहँदा ब्रोकर नं। ५८ ले नै सबैभन्दा धेरै किन्ने र बेच्ने गरिरहेको तथ्यांकले देखाउँछ । एउटै ब्रोकरबाट ठूलो परिमाणमा किनबेच हुँदा भोल्युम बढेको देखिन्छ, जसले प्राविधिक विश्लेषकलाई झुक्याउँछ ।
कम्पनीका प्रमोटर जलान आफैं विगतमा ‘बजार माफिया’को छायाले घेरिएका व्यक्ति हुन् । उनीमाथि इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङ, बजार चलखेलजस्ता आरोप विगतमा बारम्बार लाग्दै आएका छन् ।
उनी संलग्न अघिल्ला कम्पनीहरूको मूल्य उचाल्ने, सिजन नै हेर्नुपर्ने कामलाई सूचना बाहिर आएपछि मूल्य घट्ने खेल अहिले फेरि दोहोरिएको संकेत पाइन्छ । सेयर बजारमा पटक–पटक विवादमा तानिएका र ‘बजार माफिया’को आरोप खेप्दै आएका जलान कम्पनीका तेस्रो ठूला हिस्सेदार हुन् ।
कम्पनीमा शोभा मिश्रको नाममा ३ दशमलव ४९ प्रतिशत (२ लाख २ हजार ५ सय कित्ता) र श्रीराम केसीका नाममा ३ दशमलव १० प्रतिशत )१ लाख ७५ हजार कित्ता) सेयर छ ।
यसरी कम्पनीको झन्डै आधा हिस्सा सीमित प्रमोटरहरूको ‘लकर’मा थन्किएपछि बजारमा सर्वसाधारणका लागि उपलब्ध सेयर ९फ्लोटिङ सेयर०को मात्रा स्वतः कम भएको छ । यही कम आपूर्तिको फाइदा उठाउँदै ठूला खेलाडीले सेयर ‘कर्नर’ गर्ने र कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने खेल चलिरहेको हो ।
जलान कम्पनीका तेस्रो ठूला हिस्सेदार, पाँच जनाको हातमा ४१ प्रतिशत स्वामित्व
कम्पनीको सेयर स्वामित्व संरचना हेर्दा प्रत्यक्ष रूपमा ‘कर्नरिङ–फ्रेन्डली’ विशेषता देखिन्छ । ५ जना व्यक्तिले ४० दशमलव ८८ प्रतिशत सेयर आफ्नो मुठीमा राखेका छन् ।
उनीहरू हुन् आशुतोष खेतान, अल्का गोयल, सन्दीप जलान, शोभा मिश्र र श्रीराम केसी ।
‘फ्लोटिङ सेयर’ अत्यन्त न्यून भएपछि बजारमा आपूर्ति नियन्त्रण गर्न सजिलो हुन्छ । सेयर आपूर्ति ‘सुकाएर’, माग कृत्रिम रूपमा बढाएपछि मूल्य एकाएक उकालो लाग्छ । यही संरचना अहिले सागर डिस्टिलरीमा देखिएको छ ।
कम्पनी घाटामा, तर सेयरमा ‘सर्किट’
वित्तीय सूचकहरूमा कडा गिरावट आएको समयमा सेयर मूल्य भने उल्टै उचाइमा लाग्न थालेको छ ।
३ सय २० रुपैयाँमा कारोबार सुरु गरेको सागर डिस्टिलरी हाल १ हजार ८ सय रुपैयाँको हाराहारीमा पुगेको छ । कम्पनीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागिरहेको अवस्था छ । तर, वास्तविक कारोबार भने अत्यन्त न्यून छ ।
कारोबार संख्यामा कम हुनु भनेको कृत्रिम अभाव सिर्जना गरी, थोरै कारोबारमा मूल्य उचाल्ने खेल हो भने स्पष्ट देखिन्छ । नेप्सेमा देखिएको चार्ट पनि अस्वाभाविक छ, लगातार ‘सिँढी मोडेल’मा उकालो लागिरहेको छ । यो प्रवाह प्राकृतिक क्षेत्रमा देखिँदैन, बरू ‘पम्प–एन्ड–डम्प’को संकेत हो ।
वित्तीय बोझ बढ्दो, नेटवर्थ खस्किँदो
कम्पनीको वास्तविक आर्थिक स्वास्थ्य कमजोर छ । बैंक तथा वित्तीय संस्थासँगको ऋण दायित्व बढेको, ब्याज भुक्तानीले आम्दानीलाई खाइदिएको, उत्पादन लागत नियन्त्रणबाहिर गएको देखिन्छ ।
इन्फोमेरिक्सले उल्लेख गरेको ‘इन्टरेस्ट कभरेज रेसियो’ अत्यन्त न्यून छ, जसको अर्थ कम्पनीले ब्याज तिर्ने क्षमतासमेत घट्दो छ । विगत एक महिनामा मात्र बजार पुँजीकरण १३ अर्ब २८ करोड ५८ लाख रुपैयाँ पुगेको छ, जुन उचाइमा देशका वर्षांैदेखि स्थिर चलिरहेका, बहुराष्ट्रिय कम्पनीहरू उभिन्छन् ।
पूर्णभक्त दुवाल/राजधानी दैनिक