Connect with us

अर्थ

भिजिट भिसामा असुली धन्दाको ‘कनेक्सन’ गृहमन्त्रीसम्मै, मुद्दा सहसचिवसम्म मात्रै

Published

on

अख्तियार भन्छ–तत्कालीन गृहमन्त्री लेखक, सचिव दुवाडीसहितका उच्चपदस्थमाथि अनुसन्धान जारी छ

विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख भट्टराईको डायरी र टेलिकमको सिडिआर विवरणमा गृहमन्त्री लेखकका निजी र स्वकीय सचिवसँग अस्वाभाविक सम्पर्क भएको खुलेको छ, तर लेखकसहितका उच्चपदस्थको बयान लिएको अभियोगपत्रमा देखिँदैन

भिजिट भिसामा संगठित रूपमा भएको असुलीको सञ्जाल तत्कालीन गृहमन्त्री रमेश लेखकसम्मै रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटाएको छ । तर, मुद्दा भने विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख सहसचिव तीर्थराज भट्टराईसम्मका कर्मचारी र ट्राभल व्यवसायीमाथि मात्रै दायर गरेको छ ।

अख्तियारले करिब साढे ६ महिना लगाएर गरेको अनुसन्धानपछि पहिलो चरणमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दै तत्कालीन गृहमन्त्री लेखकलगायत उच्चपदस्थमाथि अनुसन्धान जारी रहेको उल्लेख गरेको छ । प्रमुख प्रतिवादी बनाइएका भट्टराईको तत्कालीन गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, अध्यागमन विभागका तत्कालीन महानिर्देशक, मन्त्रालयको शान्तिसुरक्षा महाशाखा हेर्ने तत्कालीन महाशाखा प्रमुखसँग गैरकानुनी रकम लेनदेन भएको हुन सक्ने देखिएको औँल्याएको छ । सहसचिव भट्टराईको निवेदनसाथ प्राप्त भएको डायरी तथा नेपाल टेलिकमबाट प्राप्त सिडिआर विवरणबाट तत्कालीन गृहमन्त्री लेखकका निजी सचिव बद्रीप्रसाद तिवारी ९हाल म्याग्दीका प्रमुख जिल्ला अधिकारी० तथा स्वीकृत सचिव जनक भट्टसँग अस्वाभाविक सम्पर्क भएको खुल्न आएको पनि उल्लेख गरेको छ ।

‘बदनियतपूर्वक भिजिट भिसामा विदेश पठाउन तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन हेर्ने गृह मन्त्रालयका शान्तिसुरक्षा महाशाखा प्रमुख, गृहकै प्रशासन महाशाखा प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृहसचिवका सचिवालय र अन्य राष्ट्रसेवकहरूको संलग्नताको सम्बन्धमा अनुसन्धान भइरहेको।।।,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

तर, अभियोगपत्रमा तत्कालीन गृहमन्त्री लेखक, गृहसचिव दुवाडीलगायत उच्चपदस्थको बयान भने छैन । सहसचिव भट्टराईको मोबाइल र डायरीबाट भिजिट भिसाको पैसा मन्त्रालयका उच्च अधिकारीलाई नियमित रूपमा बुझाउने गरेको प्रमाणहरू आयोगले फेला पारेको छ । दबाबमुक्त भएर अख्तियारले अनुसन्धान गरे तत्कालीन गृहमन्त्री लेखक यो मुद्दामा तानिने निश्चित देखिएको छ ।

अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित सात व्यक्ति र दुई ट्राभल कम्पनीविरुद्ध मात्रै मुद्दा दायर गरेको छ । भट्टराईले ट्राभल एजेन्सी सञ्चालकसँग बदनियतपूर्वक सेटिङ गरी प्रतिमहिला ४० हजार र प्रतिपुरुष २० हजार रुपैयाँका दरले १४२ महिला र ११५ पुरुष गरी २५७ जनालाई ७९ लाख ८० हजार रुपैयाँ लिएर भिजिट भिसामा पठाएको अख्तियारको निष्कर्ष छ । गैरकानुनी सेटिङ गरेर यात्रुबाट घुस–रिसवत लिएर भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसमेत गरेको आरोपमा भट्टराईलाई प्रमुख प्रतिवादी कायम गरेको अख्तियारले विमानस्थल अध्यागमन कार्यालयकै तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्याल, ट्राभल कम्पनी ग्रिनलाइन होलिडेज प्रालि, उक्त कम्पनीका अध्यक्ष बालकृष्ण खड्का र सोही कम्पनीका तत्कालीन संस्थापक सेयर सदस्य एवं सञ्चालक राम खड्काविरुद्ध मुद्दा दायर गरेको छ ।

भट्टराईलाई ७९ लाख ८० हजार बिगो कायम गरेको अख्तियारले अर्याल, ग्रिनलाइन होलिडेज र खड्काद्वयविरुद्ध जनही ३० लाख २० हजार बिगो तोकेको छ । त्यस्तै, मुद्दा चलाइएको अर्को कम्पनी फेमिली होलिडेज ट्राभल्स एन्ड टुर्स प्रालि र उक्त कम्पनीका संस्थापक सेयर सदस्य एवं सञ्चालक दीपक भण्डारीलाई १० लाख ६० हजारका दरले बिगो कामय गरेको छ । त्यस्तै, कविता पौडेल र खेम ९खगेन्द्र० सुवेदीसँग पनि भट्टराईसरह नै ७९ लाख ८० हजार बिगो कायम भएको छ । भट्टराई, पौडेल र सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दासमेत दायर गरेको छ । यो मुद्दामा जनही एक करोड तीन लाख ७९ हजार ६ सय बिगो कायम गरिएको छ ।

रोजगारीका लागि भिजिट भिसामा युवालाई विदेश पठाएर सेटिङमा अध्यागमन कर्मचारीहरूले दैनिक लाखौँ रकम असुल गरेको उजुरीपछि अख्तियारले छानबिन थालेको थियो । गत ७ जेठमा विमानस्थलस्थित अध्यागमन कार्यालयमै छापा हानेर कार्यालय प्रमुख भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

प्रमुख प्रतिवादी भट्टराई कार्यरत रहेको अवधिभर विमानस्थल अध्यागमनबाट भिजिट भिसामा एक लाख ५३ हजार ९७४ व्यक्ति विभिन्न देश गएका थिए । त्यसमध्ये ४२ हजार ३५७ श्रमका हिसाबले जोखिमपूर्ण देश दुबई, ओमन, कतारलगायत देश गएका र लामो समयसम्म पनि नफर्किएकाले उनीहरू कहाँरकस्तो अवस्थामा छन्, कसरी गए, कोमार्फत गए, भिजिट भिसामा गएर पनि हालसम्म किन फर्केनन् भन्ने विषयमा छुट्टै अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । विमानस्थल कार्यालयबाट भारतीय नागरिकलाई समेत बदनियतपूर्वक सेटिङ गरी एनओसीविना नै उडाएकाले त्यसबाट ठुलो रकम असुली गरेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

कालोसूचीका मानिसलाई प्रस्थान अनुमति दिएर उडाएको, वर्किङ भिसा लिएकालाई पनि भिजिट भिसामा पठाएको र काठमाडौंको सामाखुसीमा सञ्चालित नवदुर्गा गेस्टहाउसकी सञ्चालिका लीला तिमिल्सेनाको मोबाइल नम्बर राखी १४९ जनासम्मको राहदानी बनाएको विषयबारे पनि अनुसन्धान भइरहेको अख्तियारले उल्लेख गरेको छ ।

गृह प्रशासनमाथि भएन छानबिन
भिजिट भिसामाथि छानबिन गरेर मुद्दा अभियोजन गरेको अख्तियार अध्यागमन विभाग र गृह प्रशासनतिर भने प्रवेश नै गरेको छैन । जबकि भिजिट भिसाको सञ्जाल गृह मन्त्रालयसम्म देखिने स्पष्ट संकेतहरू थिए । ७ जेठमा अख्तियारले विमानस्थल अध्यागमन प्रमुख भट्टराईलाई घुसमै रंगेहात पक्राउ गर्न खोजेको थियो । तर, यसको सुइँको पाएपछि तत्कालीन गृहमन्त्री लेखकले अघिल्लो दिन नै सरुवा गरेर मन्त्रालय तानेका थिए । भट्टराईलाई लेखकले नै विमानस्थल अध्यागमनको प्रमुख बनाएर लगेका थिए ।

अध्यागमनमा सेटिङ भएको यो पहिलो घटना भने थिएन । अध्यागमनमा भिजिट भिसाको सेटिङ हुने गरेको विषयमा झन्डै दर्जन उजुरी गृह मन्त्रालयमै थिए । तर, गृहले त्यसलाई अनदेखा गरेको थियो । बरु, भट्टराईजस्तो विवादित सहसचिवलाई प्रमुख बनाएर पठाएको थियो । अध्यागमन जान अधिकृतहरूबिच जनही रकम असुली हुने गरेको थियो ।

भिजिट भिसा सेटिङमा आँखा चिम्लेको तत्कालीन अध्यागमन विभाग र गृह प्रशासनको सिधै सम्बन्ध देखिँदा पनि अख्तियार यी दुवै निकायमा प्रवेश गरेको छैन । विभाग र गृह प्रशासनका कोही पनि अधिकारीसँग यस मुद्दामा अख्तियारले लिखित बयान लिएको छैन । सामान्यतया कुनै पनि उजुरीमा सार्वजनिक आरोप लागेका व्यक्तिसँग अख्तियारले बयान लिएको हुन्छ । तर, यो अभियोजनमा ती आशंका लागेकामाथि कुनै बयान लिएको छैन ।

घटना हुँदाको आसपास अध्यागमन विभागको महानिर्देशकमा हाल गृह मन्त्रालयमै रहेका गोविन्द रिजाल थिए । गृहमन्त्रीमा लेखक र गृहसचिव गोकर्णमणि दुवाडी थिए । लेखकले जेन–जी आन्दोलनपछि राजीनामा दिए भने दुवाडी दुई साताअघि सेवाबाटै अवकाश भइसकेका छन् । त्यतिवेला गृहको शान्तिसुरक्षा महाशाखाका प्रमुख रामचन्द्र तिवारी अहिले अध्यागमन विभागकै महानिर्देशक छन् भने प्रशासन महाशाखा प्रमुख छवि रिजालले जेन–जी आन्दोलन दबाउन भूमिका खेलेको आरोपमा अहिले छानबिन आयोगमा बयान दिइरहेका छन् ।

यद्यपि, अध्यागमन विभाग र गृह प्रशासनमाथि अलग्गै अनुसन्धान भइरहेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ । छुट्टाछुट्टै विषय, वारदात, समय तथा संलग्न प्रतिवादी भएकाले छुट्टै अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ । यद्यपि, विभाग र गृह मन्त्रालयका अधिकारी जोडिने यो अलगै विषय होइन ।

अख्तियारको अनुसन्धान– यसरी गरिएको थियो सेटिङमा ठगी
१० माघ ०८० देखि ‘भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा आवश्यक पर्ने कागजातबारे ६ बुँदे सर्त’ लागू भएको थियो । तर, भट्टराई विमानस्थलको अध्यागमन प्रमुख भएर गएदेखि ती सर्त पालना नगरी घुस लेनदेन भएका यात्रुहरूलाई सहजै प्रस्थान अनुमति दिन लगाइएको थियो । भट्टराई २३ असोज ०८१ देखि ७ जेठ ०८२ सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा प्रमुख अध्यागमन अधिकृतका रूपमा कार्यरत थिए ।

अध्यागमन प्रणालीबारे जारी भएको निर्देशनसमेत अवज्ञा गरी बदनियतपूर्वक सेटिङ गरेर भिजिट भिसामा मानिसहरू पठाएको देखिएको छ । भिजिट भिसामा विदेश यात्राका लागि आवश्यक कागजात र प्रक्रिया नै पालना नगरी अनावश्यक हैरानी दिएर घुस लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यसरी भिजिट भिसामा विदेश गएकासँग पनि अख्तियारले सोधपुछ गरेको थियो । उनीहरूले आफूहरू विदेश जाँदा ठगिएको, नेपालमा भनेजस्तो काम नपाएको, यातना भोग्नुपरेको, ठगिएको रकम फिर्ता नपाएको भन्दै दोषीउपर कारबाहीको माग गरेका थिए । ट्राभल कम्पनीलाई एक लाख ८० हजार बुझाएर भिजिट भिसामा दुबई गएर फर्केका व्यक्तिसँग नै अख्तियारले बयान लिएको थियो । ट्राभल कम्पनीहरूले एजेन्ट नै खटाएर भिजिट भिसामा जाने व्यक्ति खोज्ने र मोटो रकम लिएर अध्यागमनसँगको सेटिङमा विदेश पठाउने गरेको अख्तियारको अभियोगपत्रले स्पष्ट देखाएको छ ।

यात्रुलाई दुस्ख दिएर घुसबापत थप रकम लिई खानेरखुवाउने मनसायले आफ्नो जिम्मेवारीसँग स्वार्थ बाझिने व्यक्तिहरू बालकृष्ण खड्का तथा दीपक भण्डारीसमेतसँग हिमचिम गरेकोसमेत देखिएको पनि अख्तियारको अनुसन्धानमा खुलेको छ । उनीहरू ट्राभल कम्पनी सञ्चालकहरू हुन् । भट्टराईलाई घुस रकम दिन उनीहरूबिच लेनदेन हुने गरेको थियो । उनीहरूसँग नियमित सम्पर्क भेटघाट गर्ने, उपहार लिने, मोबाइललगायत सामानहरू खरिद गराउने गरेको देखिएको पनि अख्तियारको दाबी छ । भट्टराईले पार्सलका नाममा बालकृष्णसमेतको भेनोलिभा रेस्टुरेन्टमा पुगेर राम खड्काबाट घुस–रिसवतबापतको रकम रेस्टुराँको झोलामा पार्सलका रूपमा लिएका थिए । घुस–रिसवतको रकम लेनदेन गर्न बालकृष्णले आफ्ना भतिज रामलाई प्रयोग गरेका थिए । दीपकले भट्टराईदम्पतीलाई नै उपहार, सामान किनिदिएकासम्म भेटिएको छ ।

सेटिङमा भिजिट भिसामा विदेश जाने यात्रुहरूको नामावली बालकृष्ण र दीपकले एसएमएसलगायत विभिन्न माध्यमबाट भट्टराईलाई पठाएका थिए । त्यसलाई आफ्नो डायरीमा कोड भाषामा उतारेर गन्तव्य मुलुक, प्रस्थान मितिसमेतका विवरण टिपी सांकेतिक रूपमा हिसाबकिताब समेत राखी घुस–रिसवत लिने गरेको पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । भिजिट भिसामा विदेश प्रस्थान गरेका यात्रुहरूबारे भट्टराईले बालकृष्णलाई जानकारीसमेत दिने गरेको भेटिएको अख्तियारको आरोपपत्रमा छ । भट्टराईसँग सेटिङ गरेर बालकृष्णले ५७ पुरुष र ४७ महिलासहित १०४ जना तथा दीपकले १७ पुरुष र १८ महिला गरी ३५ जनालाई भिजिट भिसामा विदेश पठाएका थिए ।

त्यस्तै, भट्टराईले भिजिट भिसामा विदेश जाने यात्रुहरूको पासपोर्टका फोटोहरू आफूले प्रयोग गर्ने ल्यापटपमा राख्ने र भिजिट भिसामा विदेश जाने केही महिलाहरूको मात्र एकमुस्ट सूचीलाई नबुझिने गरी ब्लर गरी मोबाइलमा फोटो खिचेर राखेका थिए । तीमध्ये केही यात्रुका नामावली बालकृष्णसमेतले पठाएको नामावलीसँग दोहोरिन गएको देखिएको भन्दै भट्टराईले बदनियत राखी भिजिट भिसामा मानिस विदेश पठाउने र सोबापत घुस–रिसवत प्राप्त गरेको पुष्टि हुन आएको अख्तियारको दाबी छ । उनकै कम्पनीका मार्केटिङ अफिसर दीपक थापाले समेत बालकृष्णले सेटिङ गरी भिजिट भिसामा मानिस विदेश पठाउने गरेको बयानमा खुलाएका थिए ।

भिजिट भिसामा सेटिङमा विदेश पठाएबापत प्राप्त घुसको रकम अध्यागमन अधिकृतहरूबिच बाँडफाँट गर्ने गरेकोसमेत भेटिएको छ । भट्टराईले आफ्नो कार्यालयको प्रशासन शाखामा कार्यरत अध्यागमन अधिकृत यज्ञराज अर्याललाई घरमै बोलाई घुसको आठ लाख दिएकोसमेत भेटिएको छ । यो भिजिट भिसामा सेटिङमार्फत मानिस विदेश पठाएबापतको घुसको बाँडफाँट भएको भट्टराईले प्रयोग गर्ने गरेको डायरीबाट समेत थप पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

बदनियतपूर्वक भिजिट भिसाका यात्रुहरूको नामावली आदानप्रदान गर्न कविता पौडेलको नाममा रहेको मोबाइल सिमको अवैधानिक प्रयोग पनि देखिएको छ । भट्टराईले घुसबाट प्राप्त ठुलो रकमले कविता पौडेलको नाममा जग्गा नै खरिद गरिदिएका थिए । घुसबापत प्राप्त नगदै रकम कवितामार्फत सुवेदीलाई दिएर जग्गा कारोबारी खेम ९खगेन्द्र० सुवेदीमार्फत कविताकै नाममा जग्गा खरिद गरेको भेटिएको छ । भट्टराईको अनुमतिमा कविताले पटक–पटक खेमलाई रकम दिने गरेकी थिइन् । घुस–रिसवतबापत प्राप्त रकम भट्टराईले कविता र खेममार्फत परिचालन गराएको तथ्य पुष्टि भएको अख्तियारको आरोपपत्रमा छ ।

अख्तियारले भट्टराईको मोबाइल र ग्याजेटहरू नै नियन्त्रणमा लिएर छानबिन गरेको थियो । तिनको परीक्षणबाट फोन सम्पर्कको विस्तृत पनि अख्तियारले उतारेको छ । करिब साढे सात महिनाको कार्यकालमा भट्टराईले कवितासँग ८५८ पटक, बालकृष्णसँग ११८ पटक, दीपकसँग २५३ पटक र खेमसँग ५३ पटक फोन गरेका थिए । यात्रुहरूको नामावली टिपोट गर्ने तथा घुस र उपहार लिने क्रममा बालकृष्ण र दीपकसँग भट्टराईको सम्पर्क भएको देखिएको छ । कवितासँग भने घुसबापत प्राप्त रकमको परिचालन गर्ने सम्बन्धमा पटक–पटक मेसेज आदानप्रदान भएको थियो । कविताले पनि डायरीमा खेमले विभिन्न समयमा रकम लिएको टिपोट गरेको भेटिएको छ ।

भट्टराईले बालकृष्ण, दीपक र राममार्फत घुसबापतको रकम लेनदेन गरेको र लेनदेनमा कविता र खेमले मतियारको कार्य गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । नगदमा लिएको घुस भट्टराईले नगदमै परिचालन गर्ने गरेको देखिएको छ ।

प्रमुख अध्यागमन अधिकृतका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा भट्टराईले बदनियपूर्ण तरिकाले बालकृष्ण, दीपक, राम, कविता पौडेल र खेमसँग सेटिङ एवं एकआपसमा साँठगाँठ गरी २५७ नेपाली यात्रुहरूलाई भिजिट भिसामा विदेश पठाएको खुलेको अख्तियारले अभियोग छ । यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको सम्बद्ध कसुर गरेको पुष्टि भएको अख्तियारको अभियोग छ । भट्टराईसमेत कविता र खेमले कसुरबाट प्राप्त सम्पत्ति लुकाउनेरछल्ने, बदल्ने कार्य गरी त्यस कार्यमा मद्दत, दुरुत्साहन, सहजीकरण, सरसल्लाह गरी सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन, २०६४ ९संशोधनसहित० बमोजिमको कसुरसमेत गरेको बारदात पुष्टि भएको अख्तियारको दाबी छ ।

‘घुस–रिसवत लिईरलिन लगाएर भ्रष्टाचार गरेको र उक्त भ्रष्टाचारसम्बद्ध कसुर रही सम्पत्ति शुद्धीकरण कसुरसमेत भए गरेको हुँदा प्रतिवादीहरू तीर्थराज भट्टराई, यज्ञराज अर्याल, बालकृष्ण खड्का, दीपक भण्डारी, राम खड्का, कविता पौडेल र खेमप्रसाद सुवेदीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुर गरेको तथा प्रतिवादीहरू तीर्थराज भट्टराई, कविता पौडेल र खेमप्रसाद सुवेदीले सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन, २०६४ ९संशोधनसहित०को दफा ३ बमोजिमको कसुर गरेको पुष्टि भएको देखिएको।।।,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

दबाबमुक्त अनुसन्धान भए लेखक तानिने निश्चित
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा तत्कालीन गृहमन्त्री लेखक, गृहसचिव दुवाडीलगायत उच्चपदस्थको बयान छैन । तर, उनीहरूमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ । ‘बदनियतपूर्वक भिजिट भिसामा विदेश पठाउन तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन हेर्ने गृह मन्त्रालयका शान्तिसुरक्षा महाशाखा प्रमुख, गृहकै प्रशासन महाशाखा प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृहसचिवका सचिवालय र अन्य राष्ट्रसेवकहरूको संलग्नताको सम्बन्धमा अनुसन्धान भइरहेको।।।,’ अख्तियारले अभियोगपत्रमा उल्लेख छ ।

तत्कालीन विमानस्थल अध्यागमन प्रमुख भट्टराईसहित नौविरुद्ध मुद्दा
अख्तियारले विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित सात व्यक्ति र दुई ट्राभल कम्पनीविरुद्ध मात्रै मुद्दा दायर गरेको छ । भट्टराईले ट्राभल एजेन्सी सञ्चालकसँग सेटिङ गरी १४२ महिला र ११५ पुरुषलाई ७९ लाख ८० हजार रुपैयाँ ९प्रतिमहिला ४० हजार र प्रतिपुरुष २० हजारका दरले० लिएर भिजिट भिसामा पठाएको अख्तियारको निष्कर्ष छ । सेटिङमा घुस–रिसवत लिएर भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसमेत गरेको आरोपमा भट्टराईलाई प्रमुख प्रतिवादी कायम गरेको छ ।

त्यस्तै, विमानस्थल अध्यागमनकै तत्कालीन अधिकृत यज्ञराज अर्याल, ट्राभल कम्पनी ग्रिनलाइन होलिडेज प्रालि, उक्त कम्पनीका अध्यक्ष बालकृष्ण खड्का र सोही कम्पनीका तत्कालीन संस्थापक सेयर सदस्य एवं सञ्चालक राम खड्काविरुद्ध पनि मुद्दा दायर गरेको छ । भट्टराईलाई ७९ लाख ८० हजार बिगो कायम गरेको अख्तियारले अर्याल, ग्रिनलाइन होलिडेज र खड्काद्वयविरुद्ध जनही ३० लाख २० हजार बिगो तोकेको छ ।

मुद्दा चलाइएको अर्को कम्पनी फेमिली होलिडेज ट्राभल्स एन्ड टुर्स प्रालि र उक्त कम्पनीका संस्थापक सेयर सदस्य एवं सञ्चालक दीपक भण्डारीलाई १० लाख ६० हजारका दरले बिगो कामय गरेको छ । त्यस्तै, कविता पौडेल र खेम ९खगेन्द्र० सुवेदीसँग पनि भट्टराईसरह नै ७९ लाख ८० हजार बिगो कायम भएको छ । भट्टराई, पौडेल र सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दासमेत दायर गरेको छ । यो मुद्दामा जनही एक करोड तीन लाख ७९ हजार ६ सय बिगो कायम गरिएको छ ।

के–के भेटियो अनुसन्धानमा ?

ट्राभल एजेन्सी सञ्चालकसँग सेटिङ गरी प्रतिमहिला ४० हजार र प्रतिपुरुष २० हजार लिई १४२ महिला र ११५ पुरुषसहित २५७ जना भिजिट भिसामा पठाएको

भिजिट भिसासम्बन्धी सर्त र निर्देशन अवज्ञा गरेर घुस लेनदेनको धन्दा चलाएको, घुस दिनेलाई ‘सेटिङ’मा सहजै प्रस्थान अनुमति दिएको

सेटिङमा भिजिट भिसामार्फत गएका नै ठगिएको, विदेशमा नेपालमा भनेजस्तो काम नपाएको, यातना भोग्नुपरेको र दोषीमाथि उनीहरूले कारबाहीको माग गरेको

ट्राभल कम्पनीहरूसँग हिमचिम गरेर फाइदा लिई भिजिट भिसामा विदेश जानेहरूलाई अनिष्ट गरी घुस लिएको

ट्राभल एजेन्सीका सञ्चालकहरूले पठाएको नामावली टिपोट गरेको र घुसको हिसाबकिताबसमेत डायरीमा उतारेको

भिजिट भिसामा सेटिङमार्फत मानिस विदेश पठाएबापतको घुस बाँडफाँट, अधिकृतलाई आठ लाख

अर्कै व्यक्तिको सिम प्रयोग गरी भिजिट भिसाका यात्रुहरूको नामावली आदानप्रदान

घुसबाट प्राप्त रकमबाट कविता भट्टराईको नाममा जग्गा नै खरिद
सुवास भट्ट/नयाँ पत्रिका

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.