Connect with us

समसामयिक

कैदीबन्दीबिच किन भयो झडप ?

Published

on

कारागारमा हरेक आर्थिक वर्षको सुरुमा कैदीबन्दीमध्येबाटै चौकीदार र नाइके चयन हुन्छ । चौकीदारले कैदीबन्दीको नेताको रूपमा आन्तरिक व्यवस्थापनको काम गर्छन् । जिल्ला कारागारमा कैदीबन्दीकै दुई समूह छन् । दुई समूहबिचको विवादका कारण कैलाली कारागारमा चौकीदार चयन हुन सकेको छैन । २३ कात्तिक ०७८ मा कैलालीको टीकापुरमा २३ वर्षीय भूपेन्द्र बडुवाललाई एक समूहले लखेटीलखेटी धारिलो हतियार प्रहार गरी हत्या गर्‍यो । उक्त हत्या काण्डमा नवीन रावलसहित १९ जना पक्राउ परे र अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्‍यो । यो समूहले कैलालीको पूर्वी क्षेत्रमा आपराधिक गतिविधि चलाउँदै आएको थियो ।

कारागार पुगेपछि उनीहरूले पनि भित्रै समूह बनाएर हैकम जमाउन थाले । कारागारमा कैदीबन्दीको आन्तरिक प्रशासन उनीहरूले नियन्त्रण गर्न थाले । कारागारभित्रैबाट उनीहरू बाहिरसमेत गुन्डागर्दी चलाउन थालेपछि समूहको नेतृत्व गर्दै आएका नवीन रावलसहित १४ जनालाई कारागार प्रशासनले गत ३ असारमा दाङ, भैरहवा र बर्दिया कारागारमा स्थानान्तरण गर्‍यो ।

जिल्लाका विभिन्न ठाउँमा भएका आपराधिक घटनामा पक्राउ परी कारागार चलान भएकाहरू पनि यो समूहमा आबद्ध भए । बडुवाल हत्या प्रकरणका थप तीनजनालाई गत साता सरुवा गरिएपछि कैदीबन्दीबिच बिहीबार कुटाकुट भएको थियो । कारागारभित्र बडुवाल हत्याकाण्डकै कपिल श्रेष्ठको छुट्टै समूह थियो । तुलनात्मक रूपमा उनको समूह बलियो भने थिएन । रावल पक्षले आफूहरूलाई पक्राउ गर्न श्रेष्ठले भूमिका खेलेको आरोप लगाएका थिए ।

बडुवाल हत्याका थप तीनजनालाई गत बिहीबार कारागार प्रशासनले थाहै नदिई सरुवा गरेपछि कारागारभित्रै कैदीबन्दीबिच कुटाकुट भएको थियो । पाँचजना घाइते भएका भए । यसअघि कैदीबन्दी सरुवाकै विषयमा गत २८ असारमा नाइके खगेन्द्र बोगटी कुटिएका थिए ।

सुरक्षा स्रोतका अनुसार रावल समूहका अधिकांश कारागारको ब्लक ‘ए’मा बस्थे । उनीहरूले ब्लक ‘बी’ मा पनि बर्चश्व जमाएका थिए । यही समूहमा आबद्ध बडुवाल हत्याकाण्डका दुईजना ब्लक ‘बी’मा बस्थे । उनीहरूले ब्लक ‘बी’ समूहको वर्चश्व कायम राखेका थिए, तर दुवैजनाको गत बिहीबार सरुवा भयो । ‘कारागारमा चौकीदार पक्षले हैकम जमाएको हुन्छ । अर्को दबिएर रहेको पक्ष हुन्छ । दुईजनाको सरुवा भएसँगै रावल समूह कमजोर बनेपछि ब्लक ‘बी’मा दबिएर रहेका कैदीहरू जुर्मुराउन थाले,’ सुरक्षा स्रोतले भन्यो, ‘ब्लक ‘ए’मा रहेको रावल समूहले ब्लक ‘बी’मा आफ्नो वर्चश्व रहन्न कि भनेर शुक्रबार राति सुतेका वेला आक्रमण गरेको हो ।’ घाइते सबैजसो ब्लक ‘बी’कै कैदीबन्दी छन् ।

रावल र श्रेष्ठ समूहबिचको विवादको टकरावले यस वर्षका लागि कारागारको चौकीदार चयन हुन सकेको छैन । ‘चौकीदारको सजाय पनि कटौती हुन्छ, चौकीदारले भनेपछि चित्त नबुझे पनि कैदीबन्दीले मान्नुपर्ने हुन्छ, त्यसैले चौकीदार बन्नका लागि को हुने भन्ने लडाइँ छ,’ कारागारका एक अधिकारीले भने, ‘कारागारमा वर्चश्व देखाएर कसले नेतृत्व गर्ने भन्ने लडाइँका कारण पटकपटक झडपका घटना भइरहेका हुन् ।’ प्रशासनको सिफारिसमा कारागार व्यवस्था विभागले एक वर्षका लागि चौकीदार नियुक्त गर्छ । स्रोतका अनुसार कैदीबन्दीबिचको विवादका कारण अप्रिय अवस्था आउन सक्ने भन्दै प्रशासनले चौकीदार सिफारिस गरेको थिएन ।

कारागार स्रोतका अनुसार आफ्नो समूहका कैदीको सरुवा गरिएको विरोधमा गत २२ साउनमा ब्लक ‘ए’का कैदीबन्दीले ब्लक ‘बी’का कैदीबन्दीको रासन र ग्यास आफ्नो नियन्त्रणमा राखेका थिए । त्यस दिन बिहान ब्लक ‘बी’का कैदीबन्दी भोकै बसे । ‘त्यो दिन बेलुकीका लागि ब्लक ‘सी’बाट सापटी लिएर १० कठ्ठा चामल, दाल, नुन, तेल र दुई सिलिन्डर ग्यास दियौँ,’ कारागार स्रोतले भन्यो, ‘तरकारी बाहिरबाट मगाइदिएका थियौँ ।’ ब्लक ‘सी’मा महिला कैदीबन्दी बस्छन् ।

बेलुकी खाना खाइसकेपछि भने कैदीबन्दीबिच झडप भएको थियो । २३ साउनको बिहानैदेखि ब्लक ‘बी’का कैदीबन्दी आन्दोलनमा उत्रिएका थिए । विवादका कारण २२ साउनपछि कारागारभित्र कैदीबन्दीको दैनिक हुने गणनासमेत रोकिएको थियो । कैदीबन्दी आन्दोलनमा उत्रिएपछि प्रजिअ हमालसहितको सुरक्षा टोली कारागारभित्र गएर दुवै ब्लकका कैदीबन्दीसँग छलफल गरेको थियो । ‘सुरक्षा टोलीसँग दिउँसो मिलेर बस्ने सहमति भएको थियो, तर त्यही राति ब्लक ‘ए’का कैदीबन्दीले अर्को ब्लकका कैदीबन्दी सुतेका वेला आक्रमण गरे,’ एक सुरक्षा अधिकारीले भने, ‘सम्भावित जोखिमको आकलन गर्न नसक्दा ठुलो घटना भयो ।’
नयाँ पत्रिका

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.