Connect with us

राजनीति

संसदमा प्रभु साहका प्रश्नका खात

Published

on

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरुको पक्षधर भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आज (शनिबार) बसेको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा भाग लिने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भने,‘नेपालमा दुई किसिमका जनता छन् । एउटा विदेशमा कमाएर नेपाल ल्याउँछन् । अर्को नेपालमा लुटेर विदेश लैजान्छन् । वर्तमान सरकार कुन जनताको पक्षधर हो ? नेपाललाई लुटेर विदेश लैजाने दलाल र भगौडाहरुको पक्षधर हो कि ? नेपालकोलागि मर्ने र लड्नेहरुको पक्षधर हो ? आज सरकारको कार्यक्रम र बजेट हेर्दा यो सरकार देशमा लुटेर विदेश पुर्याउने भगौडा दलालहरुको पक्षधर देखिन्छ ।’

उनले विदेशमा नेपाल र नेपाली जनताको लागि काम गरेकाहरु ठगिएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने,‘आज नेपालको लागि मर्नेहरु झनै प्रताडित भएका छन् । उनीहरु ठगिएका छन् । तिनीहरु रूनुपरेको स्थिति छ । विदेशमा गएकाहरुको लागि तपाईंहरुले के गर्नुभयो ? उनीहरु आज मरिरहेका छन्, के गर्नुभयो ? दिनको तीन÷चार वटा लाश आउँछ । युवाहरुको लाश आउँछ । तिनीहरुको बचाउको लागि के गर्नुभयो ?’ नेपालबाट मेडिकल टेष्टमा पास भएर गएका होनाहोर युवाहरु आज विदेशी भूमिमा ज्यान गुमाउन बाध्य भएको भन्दै यसप्रति सरकार संवेदनशील हुन नसकेको साहको आरोप छ ।

सरकारले नै डिमाण्ड स्विकृत र श्रम स्विकृत गरेपछिमात्रै युवाहरु रोजगारीको लागि विदेश जानसक्ने भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुको बारेमा प्रश्न सोध्दा हामी मेनपावर व्यवसायी हो र ? भन्दै प्रश्नबाट पन्छिएको विषयमा पनि साहले गम्भीर आलोचना गरे । उनले भने,‘तपाईंहरुकै डिमाण्ड स्विकृत र श्रम स्विकृतबाट होईन हाम्रा युवाहरु श्रम गन्त्वय मुलुकमा पुगेको ? तर तपाईंको सरकारको प्रमुखले भन्नुहुन्छ हामी मेनपावर व्यवसायी होईन भनेर । सरकारको छापबिना कोही माइकालाल विदेश जान सक्छ ? यदि सक्दैन भने सरकारले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’

फ्रि–भिसा र फ्रि–टिकटको नाममा अहिलेपनि युवाहरु ठगिएको भन्दै यो बेथिति रोक्न सरकारले कुनै पहल नगरेकोमा पनि साहले आलोचना गरे । उनले भने,‘आज दिनादिनु युवाहरु ठगिएका छन्। फ्रि–भिसा र फ्रि–टिकट भनिएको छ, तर वैदेशिक रोजगारीको नाममा दिनदिनै गाउँमा एजेन्टहरु पुगेका छन्, यो ठगी निरुत्साहित गर्नुपर्ने होईन ? वैदेशिक रोजगारमा ठगिएकाहरुलाई न्याय दिनुपर्छ । ठगी मुद्दा सरकारवादी मुद्दा होईन र ? सरकारले आफ्नो दायित्व पूरा गरेको छैन् । गरिबहरुलाई रुवाएर लुटेर विदेश पुर्याउने काम भएको छ । यसको अन्त्य हुनुपर्छ ।’

उनले सरकारले गरिब, निमुखा जनताका छोराछोरीलाई सरकारी जागिरमा बाटो छेकेको र स्थायी बनाउन गम्भीर नभएकोमा पनि आपत्ति जनाए । उनले श्रेणीविहीन कर्मचारीहरुको सेवा भरमग्दुर लिने गरेको तर उनीहरुको वृत्तिविकास र स्थायीको लागि कुनै पहल नगरेकोमा आलोचना गरे । उनले भने,‘सरकारी स्थायी जागिरमा गरिबका छोराछोरी आउनै हुँदैन । माथिल्लो पोष्टमा काम गर्नेहरु स्थायी हुनुपर्ने ? अनि तल्लो तहमा काम गर्नेहरु तड्पिनुपर्ने ? सवारीचालकको जीवन जीवन होईन ? त्यसले पेन्सन पाउनुहुँदैन् । उसको पनि वृत्तिविकास हुनुपर्दैन र ? तपाईंहरुलाई स्वादिष्ट परिकार खुवाउने ती भान्सेहरु स्थायी हुनुपर्दैन ? गरिबलाई ताला लगाईदिने, गरिब त स्थायी हुनुैहुँदैन है ? शासक स्थायी हुनुपर्छ । राज गर्नुपर्ने, अनि मरेपछि पनि सुविधा पाउनुपर्छ । गरिबले केही पाउनुहुँदैन ? नैतिकता खोई ?’

पूर्वमन्त्री साहले निजामती विद्येयकमा राखिएको २ वर्षे कुलिङ पिरियडको बहस चलिरहेको भन्दै अहिलेसम्म कसैले पनि श्रेणीविहीनहरुको भविष्यको लागि नसोचेकोमा गम्भीर चिन्ता व्यक्त गरे । उनले थपे,‘अहिले कुलिङ पिरियडको बहस छ । हाईलेभल कर्मचारीहरु, सचिवहरुलाई आफ्नो रिटार्यड भएपछिको जीवनको चिन्ता छ । तपाईंहरुको कुकर्मको कारण ती नागरिक गरिब भए, उसले पढ्न पाएन । जसको काम तपाईं गराउनुहुन्छ, कि तपाईंहरुलाई सवारीचालक चाहिएको छैन ? माली चाहिएको छैन ? स्विपर चाहिएको छैन ?तपाईंहरु कार्यालयमा बसेर पिसाब गर्नेले सुविधा पाउनुपर्ने तर त्यसलाई सफा गर्नेले सुविधा पाउनुहुँदैन ? यो अत्याचार होईन भने के हो ? यो सरकार कुन वर्गको हो ?’

उनले आज करोडौं मान्छे देशमा तड्पिरहँदा र करोडौं मान्छे विदेशमा मरिरहँदा त्यसको बारेमा आवाज उठाउन नसकेको भन्दै सरकारको आलोचना गरे । उनले भने,‘ती नागरिकको विषयमा एक अक्षर लेख्न नसक्ने ? लुटेरा वर्ग, दुनियाँमाथि राज गर्ने र लुटेको पैसा नेपालमा नराख्ने विदेशमा पुर्याईहाल्ने तीनीहरुको बारेमा बहस गरिराख्ने स्थितिको अन्त्य हुनुपर्छ ।’

सो क्रममा साहले गत वर्षको बाढी÷पहिरोबाट भएका क्षतिग्रस्त संरचना अझै नबनेको र अहिलेको बजेट तथा कार्यक्रम हेर्दा अझै बन्न नसक्ने टिप्पणी गरे । उनले भने,‘ती बाढीले क्षति भएका हाम्रा संरचना कहिले बन्ने हो ? अहिलेको रेडबुक हेर्दा यसले पूनःसंरचना हुँदैन । पहाडको पानीले तराई क्षेत्रका बाँध, तटबन्धमा ठूलो असर पर्दै आएको छ, ती कसले बनाउने ?’ साहले क्रमागत योजना काटिएकोमा चिन्ता व्यक्त गरे । खानेपानीको समस्या अहिलेपनि उस्तै रहेको भन्दै नागरिकले शुद्ध पानी कहिले पाउने ? भनेर प्रश्न राखे । उनले काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानी नदिएकोमा आक्रोश पोखे । उनले भने,‘कि गरिबको ट्याक्स लिँदैनौं भन्नुहोस, उनीहरुको श्रम चाहिँदै भन्नुहोस, वा चुनावमा भोट लिँदैनौं भन्नुहोस, होईन उनीहरुसँग कर लिनुहुन्छ, श्रम चाहिन्छ र भोट पनि चाहिन्छ भने खानेपानी दिनुहोस न । यसरी मानवताविरोधी अपराध गर्न मिल्छ ?’

सांसद साहले एकीकृत सेवा केन्द्र के आधारमा बनानिएको भन्दै गृहमन्त्री रमेश लेखसँग प्रश्न गरे । उनले भने,‘म माननीय गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु–सेवा केन्द्र के आधारमा बनाउनुहुन्छ ? रौतहटको कटहरिया किन सेवा केन्द्र भएन ?’ सिमा सुरक्षाको नामा खटाईएका प्रहरी लुट्न बसेको भन्दै उनीहरुको भूमिकामाथि पनि साहले प्रश्न उठाए ।

स्वस्थ्य निःशुल्क भनिएको र १०० थरी औषधी निःशल्क भनिएको भएपनि त्यो सुविधा गरिब तथा निमुखा जनताले पाउनै नसकेको साहको गुनासो छ । उनले भने,‘एक सय थरी औषधी निःशुल्क पाउँछ भनिएको छ, त्यो औषधी कहाँ पाउँछ ? म सोध्न चाहन्छु । पायो भने पनि सायद मन्त्रीजीहरुको घरमा पाउँछ होला । सरकारी अस्पतालमा गरिबले पालो नै पाउँदैन, पायो भने कुनै सुविधा नै पाउँदैन । यस्तै बेथितिको निर्माण गर्न सरकार बनाएको हो र ?’ उनले विश्वविद्यालयको आम्दानी, सरकारी कलेज र सामूदायिक विद्यालयका आम्दानीलाई लुटको अड्डा बनाउने काम भएको आरोप लगाए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.