राजनीति
जसले संसदको सानका लागि जित्नु पर्ने थियो, हारे-हराइयो !
Published
2 months agoon
By
माधव बस्नेत
भनिन्छ, ‘जस्ता जनता, उस्तै नेता ।’ यसपटकको चुनावी सुनामीमा मतदाताहरुले धेरै योग्य र विज्ञहरुलाई पराजित गराएका छन्
अवसर पाएका बेला योग्यलाई अपमान गर्ने अनि सरकार, संसदमा प्रतिनिधित्व गर्ने नेताहरु नै ठिक भएनन् भन्नु गलत
गगनकुमार थापा
कांग्रेसभित्र बरफभन्दा चर्को गरी जमेर बसेको ‘ढल पुस्ता’ विरुद्ध विशेष महाधिवेशनमार्फत जबरजस्त विद्रोह गरेर सभापति बनेका पात्र मात्र होइनन् गगनकुमार थापा । उनी साचिँकै विशेष क्षमता भएका परिपक्क नेता हुन् । वर्तमान नेपालमा सुझबुझ, गहिरो अध्ययनसहितको (अध्ययनको अर्थ पाठ्यक्रम मात्र होइन) क्षमता भएका थापा बराबरका नेता अरु कोही पनि छैनन् भन्दा अत्युक्ति हुँदैन ।
हुनत कोही मान्छेको अर्को दोस्रोसँग तुलना हुन सक्तैन । किनभने प्रत्येक मानवमा आ–आफ्ना विशिष्ट क्षमता र गुण हुन्छन् । तर, राजनीतिक नेतामा हुनु पर्ने थुप्रै गुणहरुसँग दाँज्ने हो भने रवि–बालेनले दुई तिहाइ त के ! संसदमा एकलौटी बर्चश्व नै कायम गरे पनि उनीहरुसँग थापाको जति सुझबुझ र क्षमता देखिएको छैन । आवेग र उत्तेजनाविरुद्धको राजनीति गर्ने नेता मात्र होइनन् थापा । प्रजातन्त्र र लोकतन्त्रका लागि कम्तिमा तीन पुस्तादेखि उनीहरुको खान्दानीको नसा/नसामा रगत बगेको छ ।
थापा आफैँ पनि बहुदलकालमा राजद्रोह मुद्दाको भारी बोक्ने दुर्लभ नेताहरुभित्र पर्छन । उनी र नेपाली कांग्रेसकै महामन्त्री गुरुराज घिमिरेले राजद्रोहको मुद्दा खेपेका थिए । त्यसबेला घिमिरे ने.वि. संघका अध्यक्ष र थापा महामन्त्री थिए । थापा २०६२/६३ को वसन्त विद्रोहमा सक्रियतापूर्वक सहभागी त भए नै, २०४६/४७ सालको जनआन्दोलनमा समेत बाल कांग्रेस भएर मैतिदेवी आसपासको जुलुसमा सहभागी भएका छन् ।
स्मरणीय छ– राजनीतिमा अरु कुनै पार्टी वा नेताको लोकप्रियता देखेर एकाएक चर्का कुरा र नारा उचालेर रमाइलो परीक्षण र ठट्टाका लागि आएका–उदाएका होइनन् थापा । बावुआमाले डाक्टर, इन्जिनियर बन् भनेर उत्प्रेरित गरेको मात्र होइन्, थप्पड नै लगाउँदा पनि अटेर गरेर बालवयदेखि नै राजनीतिमा मोडिएका हुन् उनी । त्यसैले उनको धमनी–धमनीमा राजनीति छ । थापा ‘आइकोन’ मात्र होइनन्, आस्था हुन् ।

थापामाथि यी पक्तिहरु लेखिरहदा पक्तिकारलाई उनको अतिशय चाकरी गर्यो भन्ने आरोप लगाइन्छ भन्ने पनि थाहा छ । तर मेरो लामो ‘ट्रयाक रेकर्ड’ हेर्नेहरुले भने पक्तिकारले यी वाक्यहरु थापाको भद्दा चाकरीका लागि लेखेको होइन भन्ने पक्कै विस्वास गर्न सक्छन् । प्रतिनिधि सभाको बैठक होस् वा संसदीय समितिका बैठकहरु– पूर्वतयारी, परिपक्वता र तथ्यांकसहितको प्रस्तुति एवम् संसदको सानका लागि थापाको उपस्थिति जरुरी थियो ।
जसरी संविधान सभाका ६०१ हुन् वा प्रतिनिधि सभाका २७५- सांसदहरुमा प्रदिप गिरि एक्लो बृहस्पति थिए, गिरी हुँदै समेत वा उनको रिक्ततापछि थापाले उक्त स्थानको अभाव पुरा गरेका थिए । कानूनको विद्यार्थी नभए पनि संसदीय समिति र प्रतिनिधि सभामा प्रस्तुत विधेयकहरुको दफावार छलफलमाथि गहन अध्ययन गरेर तयारीका साथ मात्र प्रस्तुत हुन्थे थापा ।
नेपाली कांग्रेसबाट प्रत्यक्षमा जितेका १८ जना सांसदको भन्दा एक्लै थापाको उपस्थिति संसदको गरिमा, सान र मानका लागि भारी हुन्थ्यो । ज्ञातव्य रहोस्, पार्टी, आ–आफ्नो क्षमता, बलबुता र मतदाताको विस्वासले विजेता ‘माननीय’ हरुलाई अनादर गरेको होइन । थापा एक्लैको आवाज सदनभित्रबाट रास्वपाको सरकारलाई खबरदारी गर्ने कांग्रेसका अरु १८ जना सांसदहरुको भन्दा बलशाली हुन्थ्यो भन्ने मात्र हो । तर, तत्कालका लागि थापाको त्यो आवाजले संसदभित्र गुन्जन पाउने छैन ।
कुलमान घिसिङ
सबैलाई थाहा भएकै कुरा हो, कुलमान घिसिङ उज्यालो नेपालका प्रतिक हुन् । काठमाडौं उपत्यकामा दैनिक १६ घण्टाभन्दा बढी ‘लोडसेडिङ’ भइरहेका बेलामा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी लिएका उनले प्रत्येकको घर/घरको अध्याँरो हटाई दिएका थिए । यसअर्थमा उनलाई धेरैले ‘भगवान’ का रुपमा पनि पुकारे, पुकारिरहेका छन् । कार्यकाल थोरै मात्र बाँकी रहदा तिनै घिसिङलाई केपी ओली नेतृत्वको सरकारले ‘अपमानजनक’ ढंगले हटायो र हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी दियो ।
यस्तै–यस्तै सैयौं ‘पाप’ हरुको परिणाम २३ र २४ भदौको जेन्जी विद्रोह, हत्या, विध्वंसले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै हेलिकोप्टरमा भाग्नु पर्ने बनाइदियो । आपतकालीन अवस्थामा संविधानको प्रस्तावना मात्र रहन्छ भन्ने मान्यतामा टेकेरै सही, संविधानले नचिन्ने/नमान्ने सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने अवसर पाए घिसिङले । अर्थात कार्यकारी निर्देशकबाट हटाइएका उनी मन्त्रीकै कुर्सीमा विराजमान हुन पुगे र न्याय पाए । उनले उर्जा, जलस्रोत मात्र होइन, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी पाए ।
मन्त्रीको जिम्मेवारी सम्हाल्दा घिसिङले एउटा कमजोरी बाहेक अरु राम्रै काम गरेका थिए । त्यो एउटा कमजोरी के भने घिसिङलाई कार्यकारी निर्देशकबाट सरकारले हटाएको थियो न कि हितेन्द्रदेव शाक्यले । तर, घिसिङले मन्त्री भएपछि शाक्यलाई कार्यकारी निर्देशकबाट हटाएर साँघुरो चित्त देखाएका थिए । उनले शाक्य विरुद्ध जुन व्यवहार देखाए, फराकिलो सोंच र चित्त भएको मान्छेले त्यस्तो छोटो व्यवहार देखाउँदैन । किनभने उनलाई शाक्यले होइन, सरकारले हटाएको थियो । घिसिङले गरेको गल्ती अदालतले सच्याई दियो । कुरा सकियो ।

त्यो एउटा कमजोरी बाहेक तीन–तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा घिसिङले उदाहरणीय काम गरेका थिए । वर्षौदेखि ठेक्का ओगटेर राज्य कोषको रकम दमपच र मुलुकलाई रुग्ण बनाउनेहरुको धन्दा खारेज गरिदिएका थिए । सरकार र मन्त्री घिसिङको सुझबुझपूर्ण सावधानीकै कारण बाढीपहिरोले ठूलो भौतिक क्षति हुँदा समेत समयमै उद्धार र अवरुद्ध सडक सञ्चालन हुन सकेको थियो ।
उनै घिसिङ मन्त्रीबाट राजीनामा दिएर उज्यालो नेपाल पार्टीको अध्यक्षका हैसियतमा काठमाडौं– ३ मा उम्मेदवार बनेका थिए । तर, आफूलाई हाकाहाकी बालेन साहको ‘गोठालो’ उद्घोष गर्ने निर्दयताका शिरोमणि राजु पाण्डेबाट पराजित हुन पुगे । स्मरणीय के भने यहाँ दोष पाण्डेलाई पनि किन दिनु ! मतदाता नै विवेकहीन भीडको पछि दगुर्ने भएपछि ।
आफूलाई कम्तिमा नेपाल देश, रास्वपाको पनि होइन, बालेन साहको गोठालो दाबी गर्नेलाई जिताउने, अन्धकारबाट मुक्ति दिलाई दिने, जिम्मेवारीमा रहदा सडकका गरिबहरुलाई निर्दयता होइन, देश बाढीपहिरोमय भएका बेला आफैँ ‘फिल्ड’ मा खट्ने, रुग्ण ठेक्का तोडेर राज्य कोषलाई अर्बौ जोगाई दिने कुलमान घिसिङलाई हराउने मतदाताहरुहरुको बाहुल्यता छ टोल, समाजमा । तर, घिसिङ जस्तो योग्य अगुवालाई हराउने तिनै मतदाताहरुले आफूलाई काठमाडौंको बौद्ध जस्तो क्षेत्रको सहरिया, शिक्षित र कुलीन दाबी गर्छन् । यही र यस्तै विडम्बनाले अभिशप्त छ, नेपाल ।
प्रेम सुवाल
संसदमा तथ्य तथ्यांकसहित देशभक्तिको पक्ष र देश घात, दलाली, भ्रष्टाचार, बिचौलिया धन्दा विरुद्ध निर्भिकतापूर्वक आवाज उठाउने प्रतिनिधि सभामा कुनै सदस्य थिए भने ती प्रेम सुवाल थिए । एक्लो बृहस्पति नै सही, उनले राजनीतिको दलालीकरण र अपराधीकरण विरुद्ध निरन्तर आवाज उठाएका थिए ।
देशभक्तिको पक्ष र राजनीतिको अपराधिकरण विरुद्ध बोल्ने कुरामा नेमकिपाले काहिँ कोहीसँग सम्झौता गरेको थिए । विकास निर्माणकै कुरा गर्ने हो भने पनि सात सय ५३ वटा स्थानीय तहमध्ये नेमकिपाले नेतृत्व गरेको भक्तपुर नगरपालिका उत्कृष्ट मानिन्छ । जहाँ बालकदेखि बृद्धबृद्धासम्मलाई सार्वजनिक स्थलमै व्यामशालादेखि स्वास्थ्य परीक्षणसम्मका सुविधा उपलब्ध छन् । भक्तपुर नगरपालिकालाई विकासको नमूना नै मानेर कैयन जनप्रतिनिधिहरु हेर्न, सिक्न समेत पुग्ने गरेका छन् ।

नेपालमा वायु प्रदूषणको शैलीमा भइरहेको विदेशी हस्तक्षेप विरुद्ध संसदमा निरन्तर आवाज उठाएर सचेत गराईरहने एक अगुवा पात्र थिए, सुवाल । भलै, ठूला कहलिएका दलहरुले त्यसलाई निरन्तर उपेक्षा गर्दै आइरहेका थिए । त्यसको परिणाम स्यंम दल र देशले भोगिरहेको छ । तथ्यपरक प्रस्तुतिका लागि संसदमा जरुरी पात्र थिए, सुवाल । तर, उनलाई पनि चुनावी सुनामीले बढारिदियो ।
युवराज संग्रौला (विद्यावारिधि)
‘तपाईँहरु मलाई विस्वास गर्नुहोस्, म यो देशको नियति बदल्ने लडाईको अगुवाई गर्नेछु’ भन्ने उद्घोषका साथ प्रा. युवराज संग्रौला (विद्यावारिधि) झापा– २ बाट उम्मेदवार बनेका थिए । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा होमिएका प्रा. संग्रौला अब्बल कोटीका बौद्धिक हुन् । भलै, ‘परपीडक मानसिकता’ की एक छात्राले अघिल्लो वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको अवसर जुराएर संग्रौलालाई जबरजस्ती विवादित बनाउने नियोजित योजनाका साथ प्रमाण पेस गर्न नसकेको ‘यौन दुर्व्यवहारी’को आरोप लगाइन् । अनि फेरि सार्वजनिक रुपमा आफैँले भनिन, ‘आफू कहिल्यै दुर्व्यवहारको पीडित हुइँन ।’ अरु पीडित को हुन् ? उनले त्यो पनि खुलाउन सकिनन् । त्यही आरोपलाई ‘केएसएल अकाउन्टबिलिटी’ नामक फेसबुक पेज नै बनाएर उरालियो ।

संग्रौलामाथि लगाइएको त्यही नियोजित आरोपको छडीले बेलाबेलामा उनलाई योजनावद्ध प्रहार गर्ने काम भइरहेको छ । नेपालकै मेधावी कानून कलेज काठमाडौं स्कुल अफ ल का अवधारणाकर्ता, पूर्वकार्यकारी निर्देशक संग्रौला ३९ वर्ष लामो प्राध्यापन पेसाबाट अवकाश लिएर चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रिएका थिए । निर्वाचन आचार संहिताको धज्जी उडाउँदै चुनावकै सम्मुखमा पनि संग्रौलालाई मत नआओस् भन्ने नियोजित उद्देश्यले दुष्प्रचार गरियो ।
संग्रौलाले लामो समयदेखि विधिको शासन, सामाजिक नागरिकतन्त्र र देशभक्तिका पक्षमा पैरवी गर्दै आएका छन् । ठूला कहलिएका पार्टीका शीर्ष नेताहरुको आचरण शैलीका कारण देश संकटको भुमरीमाथि छ भनेर संग्रौलाले पटक–पटक भन्दै, लेख्दै आएका थिए, छन् । अमेरिकी सरकारको परियोजना एमसीसीको सुरुदेखि नै उनले खरो विरोध गरेका थिए । एमसीसीको विरोध गरेकै कारण संग्रौलामाथि ‘केही षडयन्त्रकारी’हरुले दुर्व्यवहारीको झुट्टो आरोप थोपरेका जानकारहरुको भनाइ छ । नेपाललाई कसरी ‘रेमिट्यान्स’ बाट मात्र चल्ने परनिर्भर देश बनाईदैछ ? मुलुकका उद्योगधन्दा, कल–कारखाना कसरी टाढ पल्टाइयो ? अब उद्योगधन्दा कल–कारखानाको संभावना छ कि छैन ?
‘ट्रेडिङ’ कम्पनीहरु मात्र खोलेर कसरी मुलुकको आय बाहिर लगिदैछ ? गुणस्तरीय शिक्षा नेपालमै दिन सकिन्छ कि सकिदैन ? हाम्रा कानून, नीति नियमहरुमा कहाँ समस्या छ ? त्यसलाई नागरिक मैत्री बनाएर कहाँ–कहाँ संशोधन गर्नुपर्छ ? कृषिमा आत्मनिर्भर बन्न कसरी संभव छ ? जस्ता विषयहरुमा बहस गर्न प्रतिनिधि सभामा प्रा. संग्रौलाको उपस्थिति आवश्यक थियो । तर, उनी पनि पराजित भए ।
हरि रोका (विद्यावारिधि)
राजनीति, अर्थशास्त्रमा सामान्य चासो राख्नेहरुलाई हरि रोका चिनाइरहनु पर्ने नाम होइन । नामै काफी छ भने जस्तै उनी मुलुकका गिनेचुनेका राजनीतिक विश्लेषक र अर्थशास्त्री हुन् । २०४२ सालमै अर्थशास्त्रमा स्नातकोत्तर गरेका रोका पञ्चायत विरोधी आन्दोलनका एक जोदाहा हुन् भने २०६२–६३ को जनआन्दोलन सफल बनाउन पनि उनले निकै ठूलो भूमिका खेलेका थिए ।
२०४८ सालको आम निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट सचिवको जिम्मेवारीमा रहेर रोकाले तीन वटै निर्वाचन क्षेत्रबाट आफ्नो पार्टीका उम्मेदवारहरु अशोक राई, टंक राई र कुलप्रसाद फुयाललाई जिताएका थिए । २०५१ सालको मध्यावधी निर्वाचनमा पनि उनले सचिवकै भूमिकामा रहेर दुवै निर्वाचन क्षेत्रबाट अशोक राई र टंक राईलाई विजयी गराएका थिए । २०५६ मा भने नेकपा (माले) का तर्फबाट उम्मेदवार बन्दा आफैँ पराजित हुन पुगे ।

मुलुक रुपान्तरणमा कहाँ समस्या रहयो ? नेपालमा दलाल पूँजीवाद कसरी हाबी भयो ? नेताहरु कसरी भ्रष्ट र बिचौलियाका ‘एजेन्ट’ भए ? नेपालको खास–खास समस्या के हो ? रोकाले वर्षौदेखि पत्रपत्रिकाहरुमा स्तम्भ लेख्दै आएका छन् भने बैकल्पिक अर्थशास्त्र नामक गहन पुस्तकसमेत लेखेका छन् । राजनीतिक दलहरुको व्यवहार र चरित्रका कारण यस्तो संकट आउन सक्छ भनेर उनले लेख्दै बोल्दै आएका थिए । मुख्य दलहरुको चरित्रका कारण त्यो दिन २३ र २४ भदौमा आएरै छाड्यो ।
त्यही संकटबाट सृजित निर्वाचनमा कृषि कर्ममा केन्द्रित भएर खटिरहेका रोकालाई नेकपाले सम्झिएर टिकट दिएको थियो । तर, खोटाङे मतदाताहरुको विवेकले रोकाको उच्च कोटीको क्षमतालाई अयोग्य देख्यो । उनले यसपटकको प्रतिनिधि सभामा राजनीति र अर्थशास्त्रका गहन प्रस्तुतिहरु दिन नपाउने भए ।
महेश्वर दाहाल
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अतिशय अन्याय गरेपछि साद्गीपूर्ण जीवनका राजनीतिक नमूना महेश्वर दाहालले सिन्धुली– २ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसको प्रस्ताव र सर्मथक नै पुराना नेता हरिबोल गजुरेल तथा पानीराज बम्जन बसेका थिए । निष्ठा र सादगीपूर्ण जीवनका धनी दाहाल जनादेशका पूर्वसम्पादक र माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष हुन् ।

जन्मे–जानेदेखि नै कम्युनिष्ट सिद्धान्त र दर्शनबाट दीक्षित दाहाल स्वार्थका लागि सत्य, न्यायको बाटो नछोड्ने थोरै नेताभित्र पर्छन । कम्युनिष्ट भएवापत उनले पञ्चायतकालमै जेलनेल भोगेका थिए । उनको त्यो जेल भोगाईलाई पुराना वाम नेता तथा पूर्वमन्त्री राधाकृष्ण मैनालीले नौ वर्ष अघि नै प्रकाशित आफ्नो पुस्तक ‘नलेखिएको इतिहास‘मा उल्लेख गरेका छन् । राजनीतिमा बेइमानीहरु हाबी भइरहेको बेला इमानको प्रतिक देखाउन पनि संसदमा दाहालको उपस्थिति जरुरी थियो । तर, सिन्धुलीका मतदाताले दाहालको इमान र स्वाभिमान स्वीकार गर्न सकेनन् । भोको भनिएकोले नै मासुभात भन्दा चटपटे रोजे–खोजेपछि कसको के लाग्छ ?
लेखनाथ न्यौपाने
औपचारिक रुपमा नेकपा (माओवादी) २०६३ मंसिर पाँच गतेबाट शान्ति प्रक्रियामा आइसकेपछि नेकपा (माओवादी) का अध्यक्ष ‘प्रचण्ड’ ले लेखनाथ न्यौपानेलाई पहिलो पटक न्याय गरेका थिए । वर्षौपछि प्रचण्डले पहिलो पटक न्याय गरेका न्यौपानेका लागि समय यस्तो परेछ कि ‘भूतले खाजा खाने समय’ भन्ने उखान जस्तै । पहिलो पटक प्रचण्डबाट न्याय पाएका न्यौपानेलाई गोरखाली मतदाताले नै अन्याय गरिदिएका छन् ।

आफ्नो निष्ठामा अबिचल उभिने नेता हुन् न्यौपाने । जनताले राजनीति खराब व्यक्तिहरुका हातमा पुग्यो भनेर गुनासो गरिरहेका छन् । त्यही गुनासोको उकुसमुकुस २३ र २४ भदौमा प्रष्फुटन भयो । त्यो प्रष्फुटनले निर्वाचनको माहोल खडा गर्यो । अनि जब केही सज्जनहरु, नैतिक निष्ठाका धनीहरु निर्वाचनको मैदान उत्रिए, मतदाताले उनीहरुलाई नै अयोग्य देख्नु विडम्बना हो । त्यही विडम्बनाको घानमा परेका छन्, लेखनाथ न्यौपाने पनि । अर्थात जसको संसदमा उपस्थिति आवश्यक थियो, उनी नै पाखामा छोडिएका छन् ।
दीपेन्द्र रोकाया (विद्यावारिधि)
पत्रकार, अनुसन्धानदाता, योजनाविद् जस्ता उपमाबाट स्थापित व्यक्ति हुन्, दीपेन्द्र रोकाया (विद्यावारिधि) । हुम्लाको भूमिमा जन्मिएर परिवर्तन, समानता, विभेद रहित समाजको हुटहुटीमा जोडिदै माओवादी ‘जनयुद्ध’ को कठोर भूमिगत यात्रा रोजेका थिए रोकायाले । खासमा उनी माओवादीको तत्कालीन मुखपुत्र जनादेशमा आवद्ध थिए उनी । त्यसक्रममा उनलाई पार्टीले पूर्वी कमाण्डमा खटाएको थियो । रेडियो जनगणतन्त्र नेपाल पूर्वी प्रशारण शाखाका संस्थापक समेत हुन् रोकाया ।

प्रतिनिधि सभाको यस निर्वाचनमा उनलाई नेकपाले हुम्लाबाट उम्मेदवार बनाएको थियो । तर, निकटतम प्रतिद्धन्द्धी भएर पराजित भए रोकाया । शालिन शैलीका धनी रोकायाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्न सकेका भए संसद बौद्धिक थलो हो । त्यहाँ हुम्ला जस्तो विकड हिमाली जिल्लाबाट पनि विद्यावारिधि गरेकाको प्रतिनिधित्व छ भन्ने गौरव देशकै लागि मिल्थ्यो । तर, हुम्लीहरुले रोकायालाई पत्याएनन् र त्यो अवसर दिएनन् ।
भनिन्छ, ‘जस्ता जनता, उस्तै नेता ।’ यो भनाइ त्यतिकै जनजिब्रोमा बसेको होइन । २०४८ सालको निर्वाचन लगत्तै लौह पुरुष गणेशमान सिंहले काठमाडौंका मतदातालाई ‘भेडा’ को उपमा दिएका थिए । आफ्नी श्रीमती मंगलादेवी र छोरो प्रकाशमान पराजित भएको आक्रोशमा प्रजातन्त्रका सतिसाल सिंहले त्यो आक्रोश पोखेका भए पनि त्यो केवल आक्रोश मात्र थिएन । धेरथोर सत्यता पनि थियो ।
थापा, घिसिङ, सुवाल, संग्रौला, रोका, दाहाल, रोकाया केही प्रतिनिधि उदाहरण मात्र हुन् । यसपटकको चुनावी सुनामीमा मतदाताहरुले धेरै योग्य र विज्ञहरुलाई पराजित गराएका छन् । र जनजिब्रोमा स्थापित ‘जस्ता जनता-उस्तै नेता’ उखान चरितार्थ गराएका छन् ।
नेपाली कांग्रेसले विद्यावारिधि–स्नातकोत्तर गरेका ४६ जना उम्मेवार बनाएको थियो भने नेकपा (एमाले) ले ४० जना, नेकपाले ३६ जना विद्यावारिधि–स्नातकोत्तरलाई मैदानमा उतारेको थियो । ती मध्ये औंलामा गन्न सकिनेहरुले मात्र प्रतिनिधि सभाको यात्रा तय गर्न सकेका छन् । रास्वपाबाट विद्यावारिधि स्नातकोत्तर गरेका ४२ जना उम्मेदवार थिए । जसमध्ये धेरैजसो संसदभित्र प्रवेश गर्न सफल भएका छन् ।
जसमध्ये स्वर्णिम वाग्ले, ताराप्रसाद जोशी, कृष्णहरि बुढाथोकी, धनन्जय रेग्मी, अमरेशकुमार सिंह, विक्रम तिमिल्सिना र अच्युतम लामिछाने गरी सात जना विद्यावारिधि गरेकाहरु संसदमा छिरेका छन् । भलै, संसदमा उनीहरुको बौद्धिक, नैतिक प्रस्तुति कस्तो हुन्छ ? देखिनै बाँकी छ ।
नेपाल यस्तो देश बनेको छ, भ्रष्टाचार गर्न नपाएपछि भ्रष्टाचारको विरोध गर्ने, अवसर पायो कि आफू त्यसैमा चुर्लुम्म डुब्ने । फेरि उच्च शिक्षाको प्रमाणपत्र लिएको व्यक्ति चाहिँ नैतिक संस्कारी, भ्रष्टाचारी हुँदैन भन्ने छैन । नेपालको अर्को विडम्बना के भने उच्च शिक्षाको प्रमाणपत्र लिएकाहरु नै संविधान, कानूनको उल्लंघनकर्ता, अविवेकी, भ्रष्टाचारी धेरै छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेका मुद्दा, महालेखापरीक्षकको प्रतिवेदन केलाउँदा पनि त्यो पुष्टि हुन्छ । संसदको सान, मान र स्वाभिमानका लागि त्यहाँ पुग्नै पर्ने थुप्रै पात्रहरु छुटे पनि ज–जसले प्रतिनिधित्व गरेका छन्, उनीहरुले प्रतिनिधि सभाको गरिमा राखुन् भन्ने कामना गरौं ।
माधव बस्नेत नेपालमुहार डटकमका सम्पादक हुन् । उनी सुशासन, सुरक्षा र राजनीतिका विषयमा औँला चलाउँछन् ।
You may like
-
संस्थापक कांग्रेसविरुद्ध पूर्णबहादुरले डाके जिल्ला सभापतिहरूको भेला
-
संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
-
सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह
-
अब बन्ने सरकारले पार्टीका नेताबाट सम्पत्ति शुद्धिकरण सुरु गर्छः सभापति थापा
-
स्थानीय जनताका बीचमा रहेर विकास निर्माणमा समर्पित हुनेछुः सभापति थापा
-
कांग्रेसका नवनिर्वाचित सभापति थापाको पदवहाली