नेपाली कांग्रेसले सानेपामा केन्द्रीय कार्यालयसँगै रहेको १९ आना जग्गा खरिद गरेको छ । केन्द्रीय कार्यालय परिसरलाई थप फराकिलो र व्यवस्थित बनाउने उद्देश्यले कार्यालय अगाडिको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीनतले घर खरिद गर्ने निर्णय गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको उक्त जग्गा, घर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी अस्तिका दिन ११ असारमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग एक वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको छ ।
उक्त जग्गा १३ करोडमा खरिद गरिएको हो । १३ करोड रुपैयाँ, पार्टीको विभिन्न तहको लेबी एवम् शुभेच्छुकहरूको सहयोग मार्फत संकलन गरिने योजना रहेको मुख्य सचिव पौडेलले बताए ।