आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले काठमाडौंको सुकुम्बासीबस्तीमा खानेपानीको माग गरेको छ । सुकुम्बासी तथा अव्यवस्थित रूपमा बसोबास गरिरहेका टोल–बस्तीहरूमा अहिलेसम्म खानेपानीको आपूर्ति नगरिएको भन्दै संघले विरोध जनाउदै शसक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।
संघले आज काठमाडौं भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै सुकुम्बासी बस्तीमा खानेपानी दिनुपर्ने माग गरेको हो । संघका अध्यक्ष कालबहादुर विकले सुकुम्बासीहरुको मत र राजस्वबाट राज्य संचालन हुने तर आफूहरु नै शुद्ध खानेपानिको अभावमा तडपिनु पर्ने विभेदपूर्ण व्यवहारको तुरुन्त अन्त्य हुनुपर्ने बताए ।
संघले काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा गत जेठ २६ गते खानेपानीको माग गर्दै ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएको थियो । तर हालसम्म सुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्थाका लागि सो कार्यालय गम्भिर नभएकाले पत्रकार सम्मेलन गर्दै खानेपानी माग्नुपर्ने अवस्था आएको अध्यक्ष विकले बताए ।
‘हामीले बुझाएको ज्ञापनपत्रको बारेमा हालसम्म पनि कुनै सुनुवाई नभएकाले हामी पत्रकारसम्मेलन मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । अन्यथा, कुनैपनि किन्तु परन्तुको आडमा हाम्रो न्यायोचित मागलाई नजरअन्दाज गर्ने गराउने दुस्प्रयास भएमा हामी बाध्य भई कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिन चाहन्छौं । यसबाट सृजीत हुने सम्पूर्ण क्षतिको जिम्मेवारी स्वयं नेपाल सरकारको हुने विषय अग्रीम रूपमा अवगत समेत गराउन चाहन्छौँ,’ संघले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
अहिले काठमाडौं उपत्यकाको अधिकांश क्षेत्रमा मेलम्ची खानेपानी योजना अन्तर्गत पाइपलाइन विस्तार भई पानी आपूर्ति भईरहेको भए पनि सुकुम्बासीबस्तीमा खानेपानी वितरण नगरिएकोमा संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
‘शत्रुलाई पनि खानेपानिबाट बञ्चित गर्नुहुँदैन भन्ने हाम्रो समाजको परम्परागत मान्यता विपरित आजको २१औँ शताब्दीमा आएर यस्तो अपराध गर्नु भनेको असंवैधानिक हर्कत मात्र नभएर गम्भीर मानवता विरोधी कुकृत्य पनि हो,’ पत्रकार सम्मेलनमा विकले भने ।
यसैगरी सुकुम्बासी बस्तीमा बसोबास गर्नेहरु खानेपानीको समस्याबाट मात्र पीडित नभएको बताउदै उनले नेपाल विधुत प्राधिकरणले समेत आफूहरुसंग अन्याय गर्दैआएको दुखेसो पोखेका छन् । ‘अरुसंग प्रतियुनिट ८ देखी १० रुपैया लिने विधुत प्राधिकरणले हामी सुकुम्बासीहरुसंग प्रति युनिट २० रुपैया किन लिन्छ ? भन्ने हाम्रो नेपाल सरकारसंग प्रश्न छ । साथै हामी नेपाल सरकारसंग हामी सुकुम्बासीलाई विधुत निशुल्क उपलब्ध गराउन माग गर्दछौं,’ सुकुम्बासी संघका अध्यक्ष विकले भने ।
यसैगरी, भूमी आयोगले सुकुम्बासी एवं अव्यवस्थित बसोबासीहरुको लागत संकलनका लागि सूचना जारी गरे पनि काठमाडौं महानगरपालिकाको दोहोरो चरित्रका कारण लागत संकलन कार्य अझै सुरु नभएको उनले बताए । यसले गर्दा आफूहरुलाई थप पीडित बन्नुपरेकाले यस बारेमा समेत सरकारसंग संघले न्यायका लागि अपिल गरेको छ ।
पत्रकार सम्मेलनमा आजपा सहअध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगरले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर सरकारले मानवता विरोधी अपराध गरेको टिप्पणी गरे । यथासिघ्र सुकुम्बासीबस्तीमा खानेपानी दिनुपर्ने बताउदै उनले सरकारले सुनुवाई नगरे आजपा चुप लागेर नबस्ने चेतावनी समेत थापामगरले दिए ।
कार्यक्रममा आजपा संगठन विभाग प्रमुख त्रिभुवन साह, प्रवक्ता चन्द्रभुषण साह, आजपा नेतृ रञ्जु साह, सुकुम्बासी संघका नेतालगायतको विशेष सहभागिता रहेको थियो । उनीहरुले सुकुम्बासीको समस्या समाधानमा सरकार गम्भिर नभएको बताउदै अब कडा संघर्षमा जाने चेतावनी समेत दिएका छन्