निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार बसेको आयोग बैठकले दल दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
कार्यतालिकाअनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको समय १ देखि १० मंसिरसम्म तोकिएको छ । आयोगमा दर्ता कायम रहेका दलहरूले मात्रै निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेकाले निर्वाचनमा भाग लिन चाहनेले ३० कात्तिकअघि राजनीतिक दल दर्ता प्रमाणपत्र प्राप्त गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ ।
आयोगका अनुसार प्रत्यक्ष निर्वाचितका लागि २ माघदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने समानुपातिक निर्वाचन प्रणालीका लागि १५ मंसिरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । १८–१९ पुसमा बन्दसूची पेस गर्ने समय निर्धारिण गरिएको छ ।
३ देखि १८ फागुनसम्म निर्वाचन प्रचारप्रसारको समय छुट्याइएको छ । त्यसपछि मौन अवधि सुरु हुनेछ । २१ फागुनमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका मतपेटिका संकलनपछि मतगणना सुरु गरिने आयोगले जनाएको छ ।
निर्वाचनमा राजनीतिक दल एवं सरोकारवालासँगको समन्वय र सहकार्यका लागि स्वीकृत कार्यतालिकाअनुसार आयोगले समयसमयमा परामर्श तथा छलफल गर्ने जनाएको छ । साथै आयोगले ३० कात्तिकसम्म मतदाता नामावली संकलन जारी राख्ने जनाएको छ ।
नयाँ पत्रिका