Connect with us

तथ्य खोज

निर्वाचन नौ दिन बाँकीः झापा– २ मा डा. युवराज संग्रौलाका पक्षमा तात्दै माहोल

Published

on

झापा– २ मा डा. युवराज संग्रौलालाई चिन्ने र चिन्न चासो राख्नेहरुले उनको बिद्धता, दृष्टिकोण, शिक्षा, कानूलगायत क्षेत्रमा उनले देश–समाजलाई पुर्याएको योगदान बुझिसकेका छन्

दीपक विश्वकर्मा झापाको बिर्तामोड बजारमा अटोरिक्सा चलाउँछन् । उनको दैनिक आम्दानी न्यूनतम १५ सय रुपैयाँ छ । अटोरिक्सा चलाउने भएकाले अनेकन मानिसहरुसँग उनको घुलमिल भइरहन्छ । त्यसैले विश्वकर्माले अनेक मानिसहरु व्यहोरेका छन् । उनीहरुको आनीबानी, हाउभाउ नियालेका छन् ।

संयोग ! ५ फागुन बिहान नेपालमुहार टिम विश्वकर्माकै अटोरिक्सामा चढ्न पुगेछ । विश्वकर्माको रिक्सामा चढेर गन्तव्य भन्न वित्तिकै उनले प्रश्न गरे, ‘सरहरु कहाँबाट आउनु भएको हो ? पेसा, व्यवसाय के गर्नुहुन्छ ? तपाईहरु विवाहमा आउनु भएको हो ? विश्वकर्मा कतिसम्म ‘चतुर’ भने कहाँबाट आएको, पेसा–व्यवसाय के गर्नु हुन्छ ? विवाहमा आउनु भएको हो ? लगायत विषय सोधिसकेपछि थपे, ‘मैले सोधेर गल्ती पो गरेँ कि सरहरु ?’

विश्वकर्मा समक्ष हामीले पनि आफूलाई सञ्चारकर्मीका रुपमा चिनाएनौ । ‘सामान्य निजी विद्यालयको शिक्षक हौँ। विवाहमा पाहुना आएको’ भनेर झुट बोलौँ । किनकी हामीले हाम्रो पेसा भन्ने वित्तिकै उनी नखुल्ने संभावना प्रबल थियो । विश्वकर्माको रिक्सा चढेको स्थान र हामी पुग्नु पर्ने गन्तव्य करिब डेड किलोमिटरको दुरीमा थियो ।

हामीले पनि विश्वकर्माको पुर्ख्यौली थलो सोध्यौं। पारिवारिक पृष्ठभूमि बुझ्यौँ । जसै उनी खुल्दै गए, ‘झापाको चुनावी माहोल के छ ? तपाईले हामीलाई गुडाइरहेको क्षेत्र निर्वाचन क्षेत्र नं. दुई पर्छ के रे, यहाँ उम्मेदवार को–को छन् ? कसको अवस्था बलियो छ ?’ जस्ता विषय उठाएँ । उनले आफू बाल्यकालदेखि नै एमाले भएको, २०४८ सालदेखि २०७९ सम्म सात वटा निर्वाचन (०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४, ०७९) मा निरन्तर एमालेलाई मत दिएको मात्र बताएनन्, यसपटक उक्त पार्टीलाई मत नदिने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको खरो विरोध गरे ।

नयाँ उम्मेदवार र दललाई परीक्षण गर्ने उनको प्रष्ट भनाइ थियो । त्यसै मेसोमा हामीले सोध्नै नपाई भने “झापा– २ मा एक जना बौद्धिक व्यक्ति डा. युवराज संग्रौला उम्मेदवार बनेर आएका रहेछन् । यसपटक मेरो परिवारको मत उनैलाई जान्छ । सुरुमा मैले उनको नाम मात्र चिनेको थिएँ । उनको बौद्धिकता, देशभक्तिका बारेमा सबै कुरा थाहा भएपछि मैले त उनकै लागि मत मागिरहेको छु ।”
………………………….

झापामै कुनै समय कलेज पढाउने निराजन ओली पछिल्ला वर्षमा कृषकमा रुपान्तरित भएका छन् । ओलीले २३ विगाह जमिन भाडामा लिएर ३७ वटा गाई पालन गरेका छन् । उनको ‘फार्म’ मा ३५ लिटरसम्म दुध दिने गाई छन् । कृषि पेसालाई थप व्यवस्थित बनाउन लागिपरेका छन् ओली ।

यसबेला ओली गाई ‘फार्म’ अन्य श्रमिकहरुलाई जिम्मा लगाएर डा. संग्रौलाको प्रचारमा जुटेका छन् । भन्छन्, “डा. युवराज संग्रौला जस्तो राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा स्थापित, चिरपरिचित प्राज्ञिक व्यक्ति झापा क्षेत्र नं. २ मा आएर जे विचार, दर्शन, उद्योग विकासका नमूना योजना देखाउँदै हुनुहुन्छ, यो निर्वाचनमा उहाँ जस्ता प्राज्ञिक व्यक्तिहरुलाई संसदमा पुर्याउनु पर्छ भनेर म जस्ता पात्रहरु प्रचारमा जुटेका हौँ ।”

ओली डा. संग्रौलाको अगुवाईमा यहाँ करिब पाँच सय बिगाह क्षेत्रफलमा सामुहिक खेती, पशुपालन गर्ने योजना अघि बढेको बताउँछन् । विगतदेखि वर्तमानसम्मका कुनै पनि उम्मेदवारले यसपटक डा. संग्रौलाले जस्तो सामुहिक खेती गर्ने, उद्योगधन्दा कलकारखाना स्थापना गर्ने, त्यसलाई अन्तर्राष्ट्रियकरणमा गर्ने योजना झापामा नल्याएका युवा उद्यमी ओलीको भनाइ छ ।

डा. युवराज संग्रौला मतदाताहरुका कुरा सुन्दै

थप्छन्, “संसदमा प्राज्ञिक व्यक्तिहरु पुर्याउन नितान्त जरुरी भइसकेको छ । एक जना बौद्धिक, इमान्दार र देशभक्त व्यक्ति कहिल्यै एक्लो हुँदैन । उ त संकटमा परेको राष्ट्रलाई निकास दिने अगुवा हुन्छ । विश्वमा यस्ता उदाहरण दर्जनौ छन् । त्यसैले डा. संग्रौलालाई झापा– २ बाट जिताएर पठाउनु अहिलेको जल्दोबल्दो आवश्यकता देखेर म र म जस्ता सैयौँ व्यक्तिहरु डा. संग्रौलाका पक्षमा उभिएका हौं ।”

…………………………………..

बुद्धशान्ति गाउँपालिका स्थायी थलो भएका छत्रबहादुर कार्की निजी विद्यालयहरुको संगठन प्याब्सन झापाका अध्यक्ष हुन् । प्याब्सन झापाको आफ्नै भवन छ र संयोग त्यो झापाकै क्षेत्र नं. २ मा पर्ने बिर्तासिटी अस्पताल नजिकै छ । झापा– २ को चुनावी माहोल बुझ्न नेपालमुहार प्रतिनिधिसहित शिक्षासेवी अनिल कसपाल (विद्यावारिधि), टेलिभिजनकर्मी सरोज कोइराला, उपप्राध्यापक राजिव विष्ट प्याब्सन झापाको कार्यालयमा पुगेका थियौं ।

जसै हामीले चुनावी अवस्थाका बारेमा चासो राख्यौँ, अध्यक्ष कार्कीले प्याब्सन झापाभित्र पनि विभिन्न पार्टी संगठनमा आस्था राख्ने साथीहरु रहेका बताउँदै झापा– २ का उम्मेदवारहरुमध्ये सबैभन्दा बौद्धिक डा. युवराव संग्रौला नै रहेको अधिकांश मतदाताहरुलाई जानकारी भइसकेको बताए । “झापा– २ मा डा. युवराज संग्रौलाका बारेमा अब बताइरहनु पर्दैन । चिन्ने र चिन्न चासो राख्नेहरुले उहाँको बिद्धता, दृष्टिकोण, शिक्षा, कानूलगायत क्षेत्रमा उहाँले देश–समाजलाई पुर्याएको योगदान बुझिसकेका छन् । हामीले उहाँको अवस्था दिनप्रतिदिन एकदमै सुधार हुँदै गएको देखेको छौं”, अध्यक्ष कार्कीको भनाइ छ ।

यी तीन प्रतिनिधि घटना झापा क्षेत्र नं. २ मा स्वतन्त्र नागरिकहरुकातर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका प्रा.डा. युवराज संग्रौलाका पक्षमा दिनदिनै बढ्दै गएको माहोलको परिदृष्य हो । यी परिदृष्य केही प्रतिनिधि घटना मात्र हुन् । आफूलाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (नेपाली कम्युनिष्ट पार्टी), रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी), राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) लगायतमा आस्था राख्ने गरेको बताउनेहरु क्रमशः डा. संग्रौलाका पक्षमा खुल्दै गएका पाइएको छ । झापा– २ मा पूर्वी नेपालमै तीव्रतर विकास भएको सहर बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिकालगायतका २५ वटा वडा पर्छन ।

झापा– २ मा डा. संग्रौलाले पुर्याएको बिर्सनै नसकिने योगदान के भने उनले त्यहाँका लोपोन्मुख, अल्पसंख्यक जातजातिका झण्डै एक सय ५० जना विद्यार्थीहरुलाई काठमाडौं स्कुल अफ ल मा ल्याएर छात्रवृद्धिमा बिएएलएलबी र एलएलएम पढाएका छन् । त्यहीमध्ये अल्पसंख्यक सन्थाल (सतार) जातीका विश्वदीप वेश्रा न्यायाधीश नै बनेका छन् । त्यस क्षेत्रका उत्पीडित, उपेक्षितहरुलाई डा. संग्रौलाले कानूनी सहयोग समेत गरेको पाइएको छ । फलतः उनीहरुले डा संग्रौलालाई निकै श्रद्धाका साथ सम्मान गरिरहेका छन् र उनका पक्षमा माहोल दिनदिनै बढ्दो छ ।

संग्रौला सार्बजनिक बौद्धिक हुन् भन्ने तथ्य निरन्तर स्थापित हुँदैछ । सचेत नागरिकहरु उनका पक्षमा खुलेर उभिन थालेका छन् । विश्वकर्मा, ओली, कार्की केही प्रतिनिधि पात्र मात्र हुन् । झापाको बिर्तामोड बजारमा व्यवसाय गरिरहेका एक दर्जन बढी उद्योगी–व्यवसायीहरुसँग समेत यस प्रतिनिधिले त्यस क्षेत्रको चुनावी भिडन्तबारे संवाद गरेको थियो । उनीहरुमध्ये अधिकाशंले निसंकोच डा. संग्रौलालाई मत हाल्ने बताएका छन् । बिर्तामोडस्थित अन्तर्राष्ट्रिय ‘ब्राण्ड’ को ‘डिलर’ सञ्चालन गरिरहेका एक जना व्यवसायी नाम उल्लेख नगर्ने सर्तमा भन्छन्, “म जन्मे, जानेदेखि कांग्रेस हुँ । तर, यसपटक बौद्धिक व्यक्ति डा. युवराज संग्रौलालाई मत दिने निष्कर्षमा पुगेको छु ।”

डा. संग्रौलाको हसिलो अनुहार, शालिनता र नम्रतापूर्वक मत माग्ने शैलीले पनि धेरै मतदाताहरुलाई आर्कषित गरेको पाइएको छ । ‘मेरो उम्मेदवारी कसैलाई जिताउन र कसैलाई हराउन होइन, म आफू जित्न आफ्नो विचार र अजेण्डासहित आएको हुँ’, डा. संग्रौलाले मतदाताहरुसँग अपिल गरिरहेका छन् ।

केही मतदाताहरुले भने ‘उहाँ जस्तो बौद्धिक मान्छे झापा– २ लाई चाहिने हो । तर, उहाँ अलि ढिलो आउनु भयो । छ महीना अघि मात्र आइदिनुभएको भए हामी खुलेर लाग्ने थियौँ र यसअघि झापा– ५ मा केपी शर्मा ओलीलाई प्रतिस्पर्धीभन्दा तेब्बर मतले जिताए जस्तै झापा– २ बाट डा.संग्रौलालाई पनि भारी मत अन्तरले जिताउने थियौं’ भनेका छन् । जो डा. संग्रौलालाई भारी मतले जिताउने ‘चाहना नहुनेको बहाना’ हो भन्ने बुझ्न सकिन्थ्यो ।

डा. संग्रौलालाई भारी मतका साथ झापा– २ बाट विजय गराउन चाहनेहरुका लागि २१ फागुन अपरान्हसम्मै समय छ । चाहना हुनेहरुले बहाना नदेखाई आफूलाई पङ्खा चिन्हमा मत हाली दिन डा. संग्रौलाले मतदाताहरुसँग अपिल गरिरहेका छन् । भन्छन्, “झापा– २ मा म भन्दा योग्य अर्को उम्मेदवार छैन । त्यसैले मलाई मत दिएर विजय गराउनुहोस्, म तपाईहरुको मतको अपमान हुन दिन्न ।”

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.