अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा मुद्दा दायर गरिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान विशेष अदालतमा जारी छ। बयान सकिनासाथ सरकारी वकिल र माधव नेपालका कानुन व्यवसायीहरूले बहस हुनेछ । त्यसका लागि नेपालका पक्षमा कानून व्यवसायीहरुको लाम छ ।
यता अख्तियारले पनि माधव नृपाल विरुद्ध बहसका लागि सरकारी वकिल र थुप्रै कानुन व्यवसायीहरूलाई वकालतमा सरिक गराएको छ । यद्यपि, बहसमा सहभागी हुन सीमित कानुन व्यवसायीहरूलाई मात्रै अनुमति दिइनेछ ।
मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बस्ल सहित सरकारी वकिलको टोलीले बहस गर्नेछन् । बहसकै लागि अख्तियारले पनि सहन्यायाधीवक्ताको नेतृत्वमा केही सरकारी वकिलहरू पठाउने तयारी गरेको छ । अख्तियारभित्रै केही सरकारी वकिलहरूको दरबन्दी हुन्छ । सरकारी वकिल बाहेक वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि अख्तियारको तर्फबाट वकालत गर्नेछन् ।
अख्तियारले विरलै रूपमा भ्रष्टाचार मुद्दामा बहसपैरवीका लागि स्वतन्त्र कानुन व्यवसायीहरूलाई ‘हायर’ गर्छ । हिमाल मिडियाका अध्यक्ष कनकमणि दिक्षित पक्राउ परेपछि अख्तियारले पूर्वमहान्यायाधीवक्ता डा। युवराज संग्रौला लगायतलाई यसैगरी हायर गरेको थियो ।
त्यसअघि सूर्यनाथ उपाध्याय नेतृत्वको अख्तियार र महान्यायाधिवक्ता बद्रीबहादुर कार्कीबीच नीतिगत विषयमा विवाद हुँदा पनि अख्तियारले कानुन व्यवसायीहरूलाई ‘वकालतनामा’ गराएको थियो ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको तर्फबाट बहस गर्ने भनी करिव एक सय कानुन व्यवसायीहरूले वकालतनामा भरेका छन् । बहस गर्ने कानुन व्यवसायीहरूका लागि वकालतनामाको फारममा पूर्वप्रधानमन्त्री नेपालले हस्ताक्षर गरेर राखिदिएका थिए । नेपालका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा, पूर्वकानुन मन्त्री समेत रहेका गोविन्द बन्दी, रमणकुमार श्रेष्ठ, सविता भण्डारी, टिकाराम भट्टराई, बाबुराम दाहाल, डा. चन्द्रकान्त ज्ञवालीले वकालतनामा भरेका छन् ।
हर्कबहादुर रावल, खम्मबहादुर खाती, प्रेमबहादुर खड्का, ललित बस्नेत, एकराज भण्डारी, नारायणप्रसाद देवकोटा, विश्वकान्त मैनाली, सुरेन्द्र थापा, खगेन्द्र अधिकारीले वकालतनामा भरिसकेका छन् ।
वकालतनामा भरे पनि दुवैतर्फका सबै कानुन व्यवसायीहरू आजको थुनछेक बहसमा सहभागी हुन पाउने छैनन् । सीमित समयमा संक्षिप्त बहस गर्नुपर्ने भएकाले दुवैतर्फबाट छानिएका सीमित व्यवसायीले मात्र बहस गर्न पाउने छन् ।