विश्वको पहिलो शक्तिशाली अमेरिका इरान युद्धमा होमिएको छ । इरानका तीनवटा परमाणु क्षेत्रमा बम आक्रमण गरेर अमेरिका युद्धमा हाम फालेको हो । इरानको फोर्दो, नतान्ज र इस्फहान परमाणु केन्द्रमा अमेरिकाले बम हानेको छ । जसको सूचना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै दिएका छन् ।
अमेरिकाले इरानमाथिको आक्रमण नेपाली समयअनुसार आज आइतबार बिहान पौने ५ बजे गरेको हो । ट्रम्पले बम खसालेका अमेरिकी जहाज इरानको हवाई क्षेत्रबाट बाहिर निस्किसकेको बताएका छन् । उनका शब्दमा फोर्दोमा धेरै बम खसालिएको छ ।
ट्रम्पले लेखेका छन्, ‘सबै विमान सुरक्षित रुपमा आफ्नो घर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धालाई बधाई । विश्वमा कुनै पनि अरु सेना छैनन् जो यो काम गर्न सक्षम छन् । अब शान्तिको समय हो ।’
उनले दोस्रो पोस्ट गर्दै इरानलाई अब यो युद्ध समाप्त गर्नका लागि सहमतिमा आउनुपर्ने बताएका छन् । इरानले भने अमेरिकी सेनालाई इरानी सेनाले रोक्ने कोसिस गरेको बताएको छ । तर आक्रमण रोक्नका लागि असफल भएको इरानको मेहर न्युजले बताएको छ । परमाणु क्षेत्रमा आक्रमण भएको इरानले स्वीकारेको छ । तथापि अमेरिकाले बमवार्ड गरेको क्षेत्रमा कति क्षति भएको छ भन्ने विवरण सार्वजनिक भइसकेको छैन ।