Connect with us

राजनीति

अमरेशकुमार सिंहको अभिव्यक्तिले संसद्‌मा हंगामा

Published

on

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दिएको एक अभिव्यक्तिले प्रतिनिधिसभाको बैठकमा एकाएक हंगामा मच्चिएको छ । रास्वपाका सांसदहरुले आफ्नै शैलीले संसद अवरुद्ध गरिरहेका थिए । त्यहीबीच सिंह बिनियोजित बजेटका विषयमा बोल्न ड्यासमा पुगे । ड्यासबाट आफ्नो धारणा राख्ने क्रममा सिंहले एकाएक नेपालका चार–पाँच जिल्लाबाहेक अन्य सबै जिल्ला कुनै देशमा गाभिदिए हुने अभिव्यक्ति दिएका थिए ।

“भाग्यमानी चार–पाँच जिल्ला नेपालमा राखौँ बाँकी जिल्ला अर्को देशलाई जिम्मा दिऊँ,” उनले अभिव्यक्ति दिने क्रममा भनेका थिए, “अमेरिका, चीन, भारत जसलाई जिम्मेवारी दिने हो दिऊँ । बाँकी जिल्लामा बजेट नै जाँदैन भने नेपालमा किन राख्ने ?”

यो अभिव्इक्तिपछि सिंहले सहरी विकास मन्त्रालय अन्तरगत बिनियोजित बजेटका सम्बन्धमा धारणा राख्न थाले । यससँगै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति गर्दै सांसद सिंहका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाएर कारबाहीको माग गरे ।

“नियम २०, २१ र २३ अनुसार मेरो नियमापत्ति हो,” बर्तौलाले आपत्ति जनाउँदै भने, “छलफलमा सहभागी हुनुभएका माननीय सदस्यले आपत्तिजनक विषय यो संसद्मा राख्नुभयो । विनियोजन शीर्षकमा भाग लिनुभएको छ । बाँकी जिल्लालाई अमेरिकालगायतका देशलाई जिम्मा दिऊँ भन्नुभयो । यो राष्ट्रघाती अभिव्यक्ति हो । यो रेकर्डबाट हटाउनुपर्छ । र, कारबाहीको विषय बनाइनुपर्छ ।”

तर सिंह रोकिएनन् । उनले पनि आपत्ति जनाउँदै भने, “सर्लाहीमा बजेट किन नराखिदिएको ? यो कारबाहीको विषय हो ?”

बर्तौला पनि रोकिएनन् । उनले लगातार कारबाहीको माग गर्दै नियमापत्ति जनाइरहे । “यो रेकर्डबाट हटाउनुपर्छ । मुलुकको सार्वभौमिकताको विरुद्धमा एउटा सांसदले रोष्ट्रममा उभिएर जे बोल्नुभयो,” उनले भने, “यो कारबाहीको विषय हुनुपर्छ । थप सचेत गराइनुपर्छ । उहाँको अभिव्यक्ति विगतमा पनि राम्रो छैन । समानुपातिक सांसदलाई गाली गलौजको विषय बनाउनुभएको छ । उहाँलाई योभन्दा अघि बढ्न दिइनुहुँदैन । हामी अब सुन्न सक्दैनौँ । उहाँको शब्द हटाएर कारबाहीको विषय बनाइयोस् ।”

बाँकी सांसदहरुले पनि बर्तौलालाई साथ दिएपछि चर्काचर्की भएको थियो । यसपछि सभामुख घिमिरले सिंहले दिएका अभिव्यक्ति हटाउन निर्देशन दिए ।

“आसय जे भए पनि पाँच जिल्लाबाहेक अरु मुलुकलाई दिए हुन्छ भन्नुभएको छ । त्यसैले माननीय सदस्यहरु अरु मुलुकको नाम लिएर नेपालको भूमि दिए हुन्छ भन्ने कुरा असंसदीय भाषा भयो,” सभामुखले यति धारणा राख्नासाथ सिंह थप आक्रोशित देखिए ।

“समय जम्मा सात मिनेट छ । पार्टीको निर्देशन मान्न तयार छैन । सभामुखलाई एमालेले जे भन्यो त्यही मान्ने ? सभामुख एमालेको होइन संसद्को हो । बजेट पनि नजाने ? बोल्न पनि नपाउने ? बजेट किन गएन मलाई कारण चाहिन्छ,” सिंहले आफ्नो सिटमा उभिएका सत्तापक्षका सांसदप्रति आक्रोश व्यक्त गर्दै भने, “तपाईं जसरी आएको हो, म पनि त्यही प्रक्रियाबाट आएको हो । यहाँ तपाईंले देशप्रति गद्धार गर्ने ? ३० वर्षमा देशलाई गद्धार बनाएर डुबाउने ?”

सिंह थप आक्रोशित बनेपछि सांसदहरुले पनि उनीमाथि कारबाही हुनुपर्ने धारणा राखिरहे । यसपछि फेरि सभामुख घिमिरेले भने, “वक्ता माननीय सदस्य, यहाँलाई सचेत गराउँछु कि निर्धारित विषयमा अघि भएको रुलिङअनुसार अघि बढ्नूस् ।”

सिंह झन् जंगिए ।

उनले भने, “स्वतन्त्र सांसदलाई मात्रै रुलिङ किन ? सानो र ठूलो सांसद बनाउने ? रास्वपालाई दुःख दिइरहने ? सरकारको बजेट आफैँ कुम्ल्याउने ? अन्यायका विरुद्धमा लडन् जनताले पठाएका हुन् । हामी गुच्चा खेल्न आएको हो ?”

त्यसपछि सभामुखले भने, “निर्धारित विषयमा बोल्नुहुन्न भने तपाईं डायस छाडेर तल जानुस् । ” सिंह पनि के कम, आफ्ना धारणा नराखी सात मिनेट त्यसै बसेर बिताइदिने चेतावनी दिए । संसदमा हंगामा मच्चिइरहयो ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.