Connect with us

तथ्य खोज

जिद्दी ओली सरकारको, जीत अशोकराज सिग्देलको, विधिहन्ता र अन्तर्राष्ट्रिय लज्जा देशको

Published

on

जब शासकहरु कानूनी शासनको हुर्मत लिन संवेदनहीन र थेतरा हुन्छन्, त्यस्तो राज्यमा स्थापित हुने अशोकराज सिग्देल प्रवृति नै हो ।

१४ साउन साँझ बसेको मन्त्रिपरिषद्ले नेपाली सेनाका ‘किर्ते रथी’ अशोकराज सिग्देललाई २४ साउनबाट लागू हुने गरी कायममुकायम (कामु) प्रधान सेनापति सिफारिस ग¥यो । सिग्देललाई किर्ते रथी यसर्थ भनिएको हो कि नागरिकता अनुसार उनलाई ‘जागिर’ खुवाईएको हुन्थ्यो भने उनी रथी नहुँदै २०८० साउन २९ गते उपरथीबाटै अवकाश हुन्थे ।

नेपाली सेनाको दुई सय ६१ वर्ष लामो इतिहासमा कायममुकायम प्रधान सेनापति होइन कि रथी हुनु अघि नै नागरिकता र शैक्षिक प्रमाणपत्रमा खुलेआम जन्ममिति किर्ते गरेको प्रमाण छताछुल्ल भएका सिग्देल पहिलो पात्र हुन् । ‘किर्ते नायक’ उनै सिग्देललाई केपी ओली नेतृत्वको सरकारले ‘महारथी’ बनाएरै छाड्ने हठ गरेको छ । यो बेग्लै हो कि रुक्माङ्गगत कटवाल, छत्रमानसिंह गुरुङ, राजेन्द्र क्षत्री र प्रभुराम शर्माको समेत जन्ममिति किर्ते गरिएको भए पनि उनीहरुको त्यो प्रमाण प्रधान सेनापतिको शपथ खाइसकेपछि मात्र सार्वजनिक भएको थियो ।

०६२/०६३ को जनआन्दोलनपछि नेपाली सेनामा कटवाल, गुरुङ्ग, गौरव शम्शेर ज.ब.रा., क्षत्री, पूर्णचन्द्र थापा, शर्मा र सिग्देल (हुन लागेका) गरी सात जना प्रधान सेनापति बनेकामा ज.ब.रा र थापाको नागरिकता र शैक्षिक प्रमाणपत्रमा मात्र जन्ममिति किर्ते नभएको जानकार बताउँछन् । एसएससी दिएको विद्यालय, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी, नेपाली सेनाको सुपिङ क्याम्पस सल्लाघारी र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा सिग्देलको जन्ममिति २०२१ चैत्र १९ गते छ । त्रिभुवन विश्वविद्यालयको अभिलेखमा रहेको २०२१ चैत्र १९ गतेको जन्ममितिलाई सिग्देलले २०७६ साल साउन ३० गते मात्र सच्याएर २०२३ माघ १९ बनाएका छन् । जुन उनी उपरथीमा बढुवा हुने बेला हो ।

पटक–पटक उल्लेख भइसकेको छ, सिग्देलले पहिलो नागरिकता रुपन्देही जिल्ला प्रशासन कार्यालयबाट २०४० साल असोज ९ गते लिएको अभिलेखबाट देखिन्छ । रुपन्देही जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका दिन उनको उमेर १७ वर्ष उल्लेख छ । यो अभिलेख अनुसार उनको जन्ममिति २०२३ साल असोज ९ गते र जन्मस्थान, स्थायी ठेगाना, बासस्थान रुपन्देही सिदार्थनगर–७ हो ।

सिग्देलले २०५८ साल जेठ २८ गते जाजरकोटबाट प्रतिलिपि नागरिकता लिएका छन् । त्यसबेला उनी जागरकोटमा मेजर (सेनानी) को जिम्मेवारीमा गुल्मपति थिए । २०५८ जेठ २८ गते लिएको प्रतिलिपिमा पहिलो नागरिकता लिएको मिति २०४० साल साउन २९ गते उल्लेख छ । त्यसदिन उनी १७ वर्ष पुगेका छन् । अर्थात यस हिसाबले उनको जन्ममिति २०२३ साल साउन २९ गते हो ।

जाजरकोटबाट लिएको प्रतिलिपि नागरिकता अनुसार उनको जन्मस्थान कपिलवस्तु हो । स्थायी ठेगाना सिदार्थनगर नगरपालिका वडा नंं. ७ रुपन्देही हो । कानूनी व्यवस्था अनुसार प्रतिलिपि नागरिकता लिएको मिति, जन्मस्थान, स्थायी ठेगनालगायत हुबहु हुनुपर्छ । तर, सिग्देलको त्यो पनि फरक–फरक छ । कानूनी राज्य भए प्रतिलिपि नागरिकतामा कैफियत गरेको कसुरमा सिग्देल दण्डित हुनुपर्ने हो ।

प्रचलित कानून अनुसार प्रतिलिपि नागरिकता लिएपछि अघिल्लो नागरिकता स्वतः खारेज हुन्छ । यो कानूनी व्यवस्था र प्रतिलिपि नागरिकता अनुसार सिग्देल उपरथीको ५७ वर्षे उमेर हदका कारण २०८० साउन २९ गते नै निवृत भइसक्नु पर्ने हो ।

तर सिग्देलले २०५८ सालमा मेजर हुँदा सेनाको सुपिङ क्याम्पसबाट सच्चाएको प्रमाणपत्र तह (आईए) को जन्ममिति २०२३ माघ १९ (२०५८ सालमा सच्चाएका भए पनि मिति १२ भदौ २०४३ कै राखेका छन् ।) र उपरथी हुने बेलामा त्रिभुवन विश्वविद्यालयको ‘रजिष्टर्ड’ बाट सच्चाएको (३० साउन २०७६ मा सच्चाएका) जन्ममिति २०२३ माघ १९ को प्रमाण पेश गरेर सेनापतिको कुर्सीमा पुग्नै लागेका छन् । जब कि शैक्षिक र चारित्रिक प्रमाणपत्रले सेवा र पदावधि निर्धारण गर्दैन, सेवा र पदावधिको पहिलो आधार नागरिकता नै हो । यद्यपि सिग्देलको नाङ्गो किर्ते धन्दालाई सुशासनको गुड्डी हाँकेर नथाक्ने ओली सरकारले ल्याप्चे लगाई दिएको छ ।

सिग्देलको किर्ते धन्दामाथि प्रतिनिधि सभाका सांसदहरु अब्दुल खांन, प्रभु साहले संसद बैठकमा समेत कुरा उठाएका थिए । यो त छँदैछ, संसदको राज्य व्यवस्था तथा सुशासन समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सरोकारवाला निकायमा सिग्देलको नक्कली जन्ममिति विरुद्ध उजुरी परेका थिए । तर, उनले आफ्नो ‘सेटिङ’, पहुँचको ‘नेटवर्क’ यति बलियो बनाए कि शासक/ प्रशासकहरु सबैले अनदेखा गरिदिए ।

सत्ता, शक्ति र पहुँचले अनदेखा गरेपछि नाङ्गो सत्यलाई पनि कसरी अनादर गरिदो रहेछ भन्ने भयातुर प्रमाण बनेको छ, यो घटना । जब शासकहरु कानूनी शासनको हुर्मत लिन संवेदनहीन र थेतरा हुन्छन्, त्यस्तो राज्यमा स्थापित हुने अशोकराज सिग्देल प्रवृति नै हो । इतिहासको अध्ययनका लागि मजबुत दस्तावेज पनि बनेको छ, सिग्देल प्रकरण ।

सिग्देल संयोगले काकताली परेर प्रधान सेनापति बनेका होइनन्, ‘सेटिङ’ पहुँच, मोलाहिजा, चाकरी त छँदैछ, लाखौं/करोडौं मात्र होइन, अर्बौ रुपैयाँको खेलबाट प्रधान सेनापति बनेका हुन् । सिग्देललाई प्रधान सेनापति बनाउन चार जना ठेकेदारहरु विशाल पण्डित, दीपक कुँवर, दीपक भट्ट र शम्भु भारती परिचालित भइरहेका नेपालमुहारले यस अघि नै उल्लेख गरिसकेको छ ।

नेपाली सेनालाई दाई पुलिस, भ्रष्टाचारको स्वर्ग (अ प्याराडाइस अफ करप्सन) बनाउने दीर्घकालीन गुरुयोजना अनुसार नियोजित रुपमा सिग्देललाई प्रधान सेनापति बनाउन लागिएको जानकार बताउँछन् । जन्ममिति किर्ते गरेकोमा यति धेरै विवादित पात्र प्रधान सेनापतिको गरिमामय कुर्सीमा पुग्नु स्वाभिमानी नेपालीहरुका लागि मात्र होइन, कुटनीतिक जगतमा अन्तराष्ट्रिय लज्जाको उत्कर्ष समेत हो ।

नेपालका क्षण–क्षणका गतिविधि नियालिरहेका भारत, चीन, अमेरिका, युरोपियन युनियनका राजदूतलगायत प्रतिनिधिहरुले नेपाली सेनाको प्रमुख (राष्ट्रिय सुरक्षाको मेरुदण्ड) उमेर किर्ते गरेको व्यक्ति बनेको आँखा सामुन्ने देख्दा कति घृणा र अपमानपूर्वक हेर्लान ? अनुमान मात्र काफी छ ।

खासमा विधिको शासन लागु हुन्थ्यो भने संविधान दाउपेच, राजनीतिभन्दा माथि हुनुपर्ने हो । तर, यसबेला नेपालमा संविधानमाथि राजनीति, झुटनीति हाबी भइरहेको छ । फलतः झुटनीतिमा राजनीति गरेर ‘किर्ते महारथी’ सिग्देललाई साँचिकै महारथी बनाईँदैछ । नेताहरुले आफ्नो स्वार्थका कारण देशको बेइज्यत गराउँदा गराउँदै व्यवस्था नै सक्ने बाटोमा उद्दत छन् । यो एक हिसाबले खुशीको कुरा हो भने अर्को हिसाबले दुःखको कुरा पनि हो ।

सिग्देल र उनको समूहले राज्य सत्तालाई जसरी प्रभावमा पा¥यो, झुकायो, यसले उनीहरुमा आफ्नो विरुद्ध तथ्य/प्रमाणसहित लेख्ने/बोल्नेहरुलाई मारेर पनि उन्मुक्ति पाइन्छ भन्ने विस्वास जगाएको हुनुपर्छ । हुन पनि अब उनीहरुले आफ्ना विरोधीहरुलाई मार्न मात्र बाँकी छ । त्यसबाहेकका सबै अपराधिक धन्दा उनीहरुले गरिसकेका छन् ।

तर, हत्या, धम्कीसँग डराउने र बिक्रीमा रमाउनेले सुशासनका पक्षमा गर्विलो इतिहास रच्न सक्तैनन् । चेतना भया ।

प्रधान सेनापति प्रभुराम शर्मा राजनीतिमा – Nepal Muhar

माधव बस्‍नेत नेपालमुहार डटकमका सम्पादक हुन् । उनी सुशासन, सुरक्षा र राजनीतिका विषयमा औँला चलाउँछन् ।

Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.