Connect with us

समसामयिक

सडक सुरक्षामा प्रविधि, जनचेतना र कानुन कार्यान्वयनमा जोड

Published

on

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरणका लागि प्रविधिमैत्री निगरानी प्रणाली, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानुन कार्यान्वयनमा जोड दिएका छन् ।

समितिका सदस्यहरुले सवारीको गति बढी हुँदा स्वचालित रूपमा सचेत गराउने डिजिटल उपकरण जडान गर्न सकिने र सडक सुरक्षालाई आधुनिक प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका हुन् ।

बैठकमा समितिका सभापति आशिष गजुरेलले वार्षिक रुपमा तीन हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाएकाले सडक सुरक्षासम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

सांसद बासना थापाले सडक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताइन । उनले कर्णाली प्रदेशमा रात्रिकालीन यातायात बन्द गरिएपछि दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै त्यसले जनजीवनमा पारेको प्रभावको समेत मूल्याङ्कन हुनुपर्ने बताए ।

सांसद राजेन्द्रकुमार राईले मोबाइल फोन प्रयोग तथा सवारी चलाउँदा सङ्गीत सुन्ने प्रवृत्तिका कारण पनि सडक दुर्घटना बढिरहेको बताए । उनले चालकको अनुशासन र सचेतनामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

सांसद गोपाल शर्माले ग्रामीण क्षेत्रका सडक सुधारका लागि विशेष पहल आवश्यक रहेको बताए । उनले निगरानी प्रविधिमा लगानी गर्न सके सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखे । सांसद शर्माले कर्णाली क्षेत्रमा रात्रिकालीन यातायात सञ्चालनका लागि सडक विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

सांसद आशा झाले सडक निर्माणका काम समयमै सम्पन्न हुनुपर्ने बताइन् । त्यसैगरी, सांसद राजु पाण्डेले सडक सुरक्षासम्बन्धी कानुन कार्यान्वयनको अवस्थाबारे समग्र मूल्याङ्कन आवश्यक रहेको बताए । उनले जनशक्ति मात्रै बढाउनुभन्दा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले पहिरोका कारण सडक सुरक्षामा थप चुनौती देखिएको बताए । उनले सडक किनारमा राखिने विज्ञापन सामग्रीले समेत दुर्घटना बढाउने गरेको उल्लेख गर्दै स्थानीय सडक सञ्जाल व्यवस्थापनमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

विषयविज्ञ भगवती सेढाइले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्ने यात्रुले समेत हेल्मेट प्रयोग गरे दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताइन् । उनले मापदण्डअनुसारका गुणस्तरीय हेल्मेटको प्रयोग सुनिश्चित गर्न पहल आवश्यक रहेको धारणा राखिन्।

उनले सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीको जनशक्ति वृद्धि गर्नुपर्ने तथा सडक सुरक्षाका लागि छुट्टै ‘सडक सुरक्षा परिषद्’ गठन गर्न आवश्यक रहेको बताइन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.