नेकपा एमाले संसदीय दलले पूर्णता पाएको छ । अध्यक्ष तथा पूवप्रधानमन्त्री केपी ओलीको इसारामा संसदीय दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोयन गरेका छन् । अर्याललाई दलको उपनेता बनाएको जानकारी प्रमुख सचेतक ऐन महरले दिएका छन् ।
अध्यक्ष ओलीको इच्छा अनुसार केही समयअघि थापाले दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनित गरेका थिए । महर बझाङबाट निर्वाचित हुन् भने घतानी समानुपातिक सांसद हुन् । उपनेता मनोनित पूर्वमन्त्री अर्याल एमाले केन्द्रीय कमिटी सचिव तथा समानुपातिकबाट सांसद हुन् ।
जानकारका अनुसार संविधानसभाका अध्यक्ष एमालेका दिवंगत नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले संसदीय दलको नेतामा रामबहादुर थापासँग प्रतिस्पर्धा गरेकाले ओलीले उनलाई सचेतक बनाउन चाहेनन् । स्रोतका भनाइमा सुहाङले संसदीय दलको नेता लड्ने प्रयास गरेकाले उनलाई सचेतकबाट बन्चित गरेर घतानीलाई मनोनयन गरिएको हो ।