३५ वर्षअघि तियानमेन स्क्वायरमा के भएको थियो ? घटना किन भयो ?
चीनमा सन् १९८९ को तियानमिक स्क्वायर नरसंहारका आरोपी पिपुल्स लिबरेसन आर्मी (पीएलए) का जनरल शू छिनशियानको कोर्टमार्शलसँग सम्बन्धित एक गोप्य भिडियो ३५ वर्षपछि बाहिर आएको छ ।
यो भिडियोमा जनरल शूले विद्यार्थी प्रदर्शनकारीमाथि गोली चलाउने तथा सैन्य कारबाहीको आदेश किन पालन गर्न अस्वीकार गरे भन्ने यसमा बताएका छन् । तियानमेन स्क्वायरमा सरकारी कारबाहीमा हजारौँ मानिस मारिएका थिए ।
६ घण्टा लामो भिडियोमा जनरल शूले तियानमेन स्क्वायरको आन्दोलनलाई राजनीतिक जनआन्दोलन भएको बताएका छन् । उनका अनुसार, यसलाई वार्ता र राजनीतिक माध्यमबाट समाधान गर्नुपर्ने थियो । उनी इतिहासमा अपराधी बन्न चाहँदैनथे, त्यसैले आफ्ना सैनिकहरूलाई विद्यार्थीमाथि गोली चलाउने आदेश नदिएको बताएका थिए ।
त्यतिबेला सरकारले जनरल शूलाई बेइजिङ पठाई मार्शल ल लागु गर्ने र करिब १५ हजार सैनिक तैनाथ गर्ने आदेश दिएको थियो । यद्यपि, उनले उक्त आदेश पालन गर्न अस्वीकार गरेका थिए । यसपछि चिनियाँ सरकारले उनीविरुद्ध कडा कारबाही गर्यो । सरकारले जनरल शूलाई कम्युनिस्ट पार्टीबाट निष्कासित गर्नुका साथै पाँच वर्षको सजाय सुनाएको थियो ।
जनरल शू छिनशियानको कोर्टमार्शलको यो भिडियो गत महिना पहिलोपटक अनलाइन लिक भएको हो । यसको स्रोतबारे कुनै स्पष्ट जानकारी छैन । युट्युबमा यसलाई १३ लाखभन्दा बढी पटक हेरिसकिएको छ ।
तियानमेन आन्दोलनका इतिहासकार वू रेनह्वाले यो भिडियो सेयर गरेका हुन् । रेनह्वाका अनुसार, यो भिडियो त्यो समयको आन्तरिक सैन्य असहमतिका सबैभन्दा महत्वपूर्ण प्रमाणहरूमध्ये एक हो । लिक भएको भिडियोले त्यतिबेला चीनको सेनाभित्र पनि निर्णयप्रक्रियामा मतभेद रहेको देखाउँछ ।
सन् १९८९ मा तियानमेन स्क्वायर र वरपर गरिएको सेनाको कारबाहीमा हजारौँ मानिस मारिएको अनुमान गरिन्छ । यो घटना आज पनि चीनमा सबैभन्दा बढी सेन्सर हुने विषयहरूमध्ये एक हो ।
३५ वर्षअघि तियानमेन स्क्वायरमा के भएको थियो ?
चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायर सन् १९८९ मा ठूलो जनआन्दोलनको केन्द्र बनेको थियो । यो आन्दोलन विद्यार्थीको नेतृत्वमा सुरु भएको थियो, जुन पछि साधारण नागरिकहरूमाझ फैलिएको थियो । प्रदर्शनकारीहरूले सरकारसँग राजनीतिक सुधार, भ्रष्टाचार नियन्त्रण र अभिव्यक्तिको स्वतन्त्रताको माग गरेका थिए ।
आन्दोलन सन् १९८९ को अप्रिलमा सुधारवादी नेता हू याओबाङको मृत्युपछि सुरु भएको थियो । उनको मृत्युको कारण हृदयघात भनिएको थियो । हू याओबाङलाई राजनीतिक सुधारका समर्थकका रूपमा हेरिन्थ्यो । उनको मृत्युपछि विद्यार्थी बेइजिङमा जम्मा हुन थाले र सरकारसँग भ्रष्टाचार अन्त्य, अभिव्यक्तिको स्वतन्त्रता तथा लोकतान्त्रिक सुधारका माग अघि सारे ।
ठूलो संख्यामा विद्यार्थी सडकमा उत्रिए र चाँडै नै हजारौँ विद्यार्थी तथा नागरिकहरू थियानमिन स्क्वायरमा भेला भए । १३ मे देखि सुरु भएको प्रदर्शन धेरै हप्तासम्म शान्तिपूर्ण रह्यो ।
चिनियाँ सरकारले अवस्था बिग्रँदै गएपछि बेइजिङमा मार्शल ल लागु गर्यो । सन् १९८९ को ३ र ४ जुनको रात पिपुल्स लिबरेसन आर्मी ९पीएलए०लाई राजधानीमा तैनाथ गरियो । ट्यांक र हतियारधारी सैनिकहरूले तियानमेन स्क्वायर र वरपरका इलाकामा प्रदर्शनकारी र साधारण नागरिकमाथि अन्धाधुन्ध गोलीबारी गरे ।
घटनापछि एउटा तस्बिर विश्वभर भाइरल बन्यो, जसमा एक युवक ट्यांकहरूको अगाडि उभिएर तिनलाई अगाडि बढ्न रोक्ने प्रयास गरिरहेको देखिन्छ । ती व्यक्तिको पहिचान आजसम्म खुलेको छैन, तर उनी साहस र प्रतिरोधको विश्वव्यापी प्रतीक बनेका छन् ।
सरकारी तथ्यांकअनुसार घटनामा केही सय मानिस मारिए । तर, बीबीसीको एक रिपोर्टमा उक्त घटनामा १० हजारभन्दा बढी मानिसहरूको ज्यान गएको बताइएको थियो ।
तियानमेन स्क्वायर घटना किन भयो ?
सन् १९८० को दशकको अन्त्यतिर चीन तीव्र आर्थिक परिवर्तनको चरणमा थियो । बजार खुले, सहरहरू बदलिए, तर, राजनीतिक संरचना भने उस्तै रह्यो ।
कोलम्बिया युनिभर्सिटीका प्रोफेसर तथा इतिहासकार एन्ड्रयू नाथनले आफ्नो पुस्तक चाइना क्राइसिसमा आर्थिक सुधारले जनअपेक्षा बढाए पनि राजनीतिक प्रणाली बन्द नै रहेको र यही विरोधाभास असन्तोषको मुख्य कारण बनेको लेखेका छन् ।
विश्वविद्यालयका विद्यार्थीले सबैभन्दा पहिले प्रश्न उठाउन थाले । भ्रष्टाचार बढिरहेको छ र साधारण मानिसको आवाज सत्तासम्म पुग्न नसकेको उनीहरूलाई लाग्यो । बीबीसीकी पूर्वपत्रकार तथा लेखिका लुइसा लिमले विद्यार्थीले अहिले नबोले यो अवसर सधैँका लागि गुम्ने महसुस गरेको एको आफ्नो पुस्तक द पीपल्स रिपब्लिक अफ अम्नेसियामा उल्लेख गरेकी छन् ।
लुइसा लिमका अनुसार विस्तारै विद्यार्थीको जमघट ठूलो जनआन्दोलनमा परिणत भयो । चोकमा बहस हुन्थे, भाषण हुन्थे र मानिस भविष्यबारे कुरा गर्थे । यो केवल विरोध मात्र होइन, आशाको अभिव्यक्ति पनि थियो । हार्वर्ड युनिभर्सिटीका प्रोफेसर जोसेफ टोरिजियनको अनुसन्धानअनुसार आन्दोलनले पार्टीको सर्वोच्च सत्तालाई चुनौती दिनसक्ने कम्युनिस्ट पार्टीको नेतृत्वलाई डर थियो ।
सरकारसमक्ष संवाद वा कडाई यी दुई मात्र विकल्प थिए । ब्रिटिश अखबार गार्जियन र ह्युमन राइट्स वाचका रिपोर्टहरूका अनुसार शीर्ष नेतृत्वले यसलाई राजनीतिक खतरा मानेर सेना परिचालन गर्ने निर्णय गर्यो । सन् १९८९ मा जुन ३ र ४ को राति अवस्था पूर्णरूपमा बदलियो । सेना अगाडि बढ्यो, गोली चल्यो र आन्दोलनलाई बलपूर्वक अन्त्य गरियो ।
एम्नेस्टी इन्टरनेशनल तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका रिपोर्टअनुसार यस घटनामा सयौँदेखि हजारौँ मानिसहरू मारिएको अनुमान छ । यद्यपि, चीनले अहिलेसम्म आधिकारिक तथ्यांक सार्वजनिक गरेको छैन ।
द न्युयोर्क टाइम्स/बाहखरीबाट