चीनको स्वाशासित क्षेत्र न्यालम सरकारले मनमौजी रुपमा मालबस्तु छाड्नेक्रमले तातोपानी नाका हुँदै नेपाल आउन लागेका मालबस्तु बोकेका कन्टेनरका करोडौं मूल्यका सामान चिनियाँ क्षेत्रमा नै रोकिएका छन् ।
दसैं, तिहार लक्षित सामानहरु न्यालममै रोकिएपछि व्यापारी, व्यवसायी मारमा परेका छन् । व्यवसायीले खरिद गरेका करोडौं मूल्यका सामानहरु न्यालम सरकारले तातोपानी नाका हुँदैं नेपाल छिर्न कडाइ गरेपछि सामानहरु उत्तै रोकिएका छन् । न्यालम प्रशासनले तातोपानी नाका हुदैं आउजाउमा कडाइ गरेपछि समयमा करोडौंको सामान आउन नपाएको हो ।
रसुवा नाका बन्द भएपछि व्यवसायीले तातोपानी नाका हुँदै मालबस्तु नेपाल ल्याउन लागेको थिए । तर न्यालम प्रशासनले कन्टेनर आउजाउमा कडाइ गरेपछि प्रर्याप्त मालबस्तु बोकेका कन्टेनर आउन नसकेको हो ।
अधिकांश कन्टेनरमा दसैं तिहारका सामान थिए । साउनको पहिलो सातादेखि तातोपानी सडक खण्डअन्तर्गत कोदारी सडक खण्ड बन्द भयो । यसपछि तातोपानी भन्सार कार्यालयबाट मालबस्तु बोकेका कन्टेनर आउन पाएनन् । कोदारी सडक सुचारु भए पनि न्यालम सरकारले कन्टेनर आउजाउमा कडाइ गरेपछि करोडौंका सामान उत्तै रोकिएको छ ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गंगाबहादुर घिमिरे (सागर) का अनुसार तिब्बतको न्यालम प्रशासनले सीमित संख्यामा मात्र मालबस्तु बोकेका कन्टेनर छोडेका कारण अरबौं रुपियाँका सामानहरु चिनियाँ भू–भागमा रोकिएको दुखेसो पोखे ।
चीनको न्यालम, केरुङ लगायतका शहरमा नेपाली व्यापारीले किनेका सामानहरु रोकिएको पीडा उले पीडा सुनाए । कतिपय मालबस्तु लोड गरेर राखिएको भए पनि न्यालम प्रशासनले कन्टेनर छाडेको छैन् । त्यसकारण आफूहरु मारमा परेको व्यवसायी व्यापारीहरुले बताएका छन् ।
तातोपानी नाकाबाट मालबस्तु बोकेका कन्टेनर ल्याउन कठिन हुन थालेपछि कतिपय व्यवसायीले मुस्ताङको कोरला नाका हुँदै व्यापारिक सामान ल्याउन थालेका छन् । तर जाडो मौसममा हिउँ पर्ने, जम्ने भएकाले कन्टेनर आउजाउमा समस्या पर्ने देखिएको छ । तर पनि दसैं तिहारका सामानहरु सोही नाकाबाट आयात गरिएको घिमिरेले बताए । हिउँ पर्ने र जम्ने हुँदा उक्त नाकाबाट मालबस्तु ल्याउन कठिन हुने देखिन्छ ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की नेतृत्वमा नेपालस्थित चिनियाँ दुतावासलाई मालबस्तु बोकेको कन्टेनर पर्याप्त मात्रामा छोड्नका लागि न्यालम प्रशासनसँग पहल र समन्वय गरिदिन लिखित, मौखिक रुपमा आग्रह गरेको छ ।
नेपाल सरकारले नै पहल गर्दा झन राम्रो हुने संघको ठम्याइ छ । न्यालम प्रशासनले तातोपानी नाका हुँदै दैनिक १५ देखि २० वटा कन्टेनरसम्म मात्र छोडेको छ । उसले दैनिक ४० देखि ५० वटा बढी संख्यामा मालबस्तु बोकेको कन्टेनर छोडेमा रोकिएका सामान केही महिनामा नै आयात हुने घिमिरेले बताएएको छ । यसका लागि सरकारले पहल थालिदिन उनले आग्रह गरे ।