कक्षा १२ को परीक्षा भोलि आइतबारबाट सञ्चालन हुँदै छ । परीक्षाका लागि ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थीले फर्म भरेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
जसमध्ये नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिक १ लाख १५ हजार ६ सय १७ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । ५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।
विदेशमा जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीको केन्द्रबाट परीक्षामा सहभागी हुनेछन् । ७७ जिल्लामध्ये सबैभन्दा थोरै मनाङबाट ४५ जना र सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार १ सय ३३ जना परीक्षार्थी छन् । मनाङ र मुस्ताङमा १र१ वटा र काठमाडौंमा १ सय ६२ वटा परीक्षा केन्द्र तोकिएको छ ।
जेठ २ सम्म सञ्चालन हुने परीक्षामा ४८ हजार २ सय ९ जना जनशक्ति खटिनेछन् । नेपाल शिक्षक महासंघको शैक्षिक हडतालसहितको काठमाडौंकेन्द्रित सडक आन्दोलनले वैशाख ११ देखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको थियो ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले एक विज्ञप्ति जारी गर्दै परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन अपिल गरेका छन् ।