Connect with us

समसामयिक

आजबाट निर्वाचन प्रहरी छनोट गरिँदै

Published

on

भर्ना गर्ने संख्या एक लाख ४९ हजार ९० रहँदा आवेदन दिनेको संख्या एक लाख ९६ हजार, ३२ जिल्लामा मागभन्दा कम आवेदन

आगामी २१ फागुनमा हुने निर्वाचनको सुरक्षार्थ निर्वाचन प्रहरीको छनोट सोमबारबाट सुरु हुँदै छ । बुधबारसम्म छनोट सकेर मापदण्ड पुगेकालाई तालिममा पठाउने तयारी छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छनोट समिति छ ।

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमार्फत मुलुकभर एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी भर्ना गर्दै छ । निर्वाचन प्रहरीका लागि एक लाख ९६ हजार आवेदन परेका छन् । यद्यपि, ३२ जिल्लामा मागेभन्दा कम आवेदन परेका छन् । ती जिल्लामा अर्को जिल्लामा भर्ना गरिएका निर्वाचन प्रहरी पठाइनेछ । दुवै प्रहरीले गत २५ पुसबाट १ माघसम्मका लागि आवेदन खुला गरेका थिए । तर, माग भएभन्दा कम आवेदन परेपछि दुवै प्रहरीले ३ माघसम्मको म्याद थप गरेका थिए । थप भएको म्यादसम्म आवेदन भर्नेको संख्या एक लाख ९६ हजार ४७० पुगेको छ । जसमध्ये नेपाल प्रहरीमा मात्रै एक लाख ८१ हजार १७४ र सशस्त्रमा १५ हजार २९६ को आवेदन परेको छ ।

नेपाल प्रहरीका अनुसार आवेदन कम पर्ने जिल्ला कोशी प्रदेशमा आठ, बागमतीमा छ, गण्डकीमा १०, लुम्बिनीमा चार, मधेश प्रदेशमा चार र सुदूरपश्चिम जिल्लामा चार रहेका छन् । आवेदन कम परेको जिल्लामा धेरै आवेदन परेको छिमेकी जिल्लाबाट निर्वाचन प्रहरीका लागि युवा लैजाने प्रहरीको तयारी छ ।

नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले आवेदन खुला गरिएको नौ दिनमा मुलुकभरबाट झन्डै दुई लाख युवाको आवेदन परेको बताए । उनका अनुसार कतिपय जिल्लामा अझै मागभन्दा कम आवेदन परेका छन् र ती जिल्लामा अर्को जिल्लाबाट निर्वाचन प्रहरी पठाइनेछ । ‘कतिपय जिल्लामा कम आवेदन परेका छन् । कतिपय जिल्लामा भने माग गरेभन्दा धेरै आवेदन परेका छन् । ती युवालाई कम आवेदन परेको छिमेकी जिल्लामा भर्ना गर्न लगिनेछ, यसका लागि आवश्यक तयारी हुुँदै छ,’ उनले भने ।

प्रहरीका अनुसार निर्वाचन प्रहरीले न्यूनतम ५४ हजारदेखि अधिकतम ८३ हजारसम्मको खर्च सिलिङभित्र ४० दिनको तलबसहित पोसाक, खाद्यान्न र भ्रमण भत्ताबापतको रकम प्राप्त गर्नेछन् । निर्वाचन प्रहरीको दर्जा जवानसरहको हुन्छ । निर्वाचन प्रयोजनार्थ उनीहरू ४० दिन फिल्डमा खटिनेछन् र त्यसै अवधिको तलब–सुविधा प्राप्त गर्नेछन् ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकाभित्र खटिने निर्वाचन प्रहरीले सबैभन्दा कम र जुम्लामा खटिने निर्वाचन प्रहरीले सबैभन्दा धेरै सुविधा प्राप्त गर्नेछन् । काठमाडौं उपत्यकाभित्र खटिनेले तलब र अन्य सुविधासहित ५४ हजार ३६८ रुपैयाँ मात्रै प्राप्त गर्नेछन् । जुम्लामा खटिनेले भने ८३ हजार २४१ रुपैयाँ पाउनेछन् ।

त्यस्तै, तराईका जिल्लामा खटिनेका लागि तलब–सुविधासहित ५५ हजार ६६६ खर्च हुनेछ । तराईको पनि झापामा खटिनेले भने काठमाडौंसरह ५४ हजार ३६८ मात्रै पाउँछन् । पहाडी क्षेत्रका जिल्लामा खटिनेहरूका लागि तलब र अन्य सुविधासहित ५८ हजार ७८५ रुपैयाँ खर्च गरिनेछ । तर, पहाडी जिल्लाका पनि सहरी क्षेत्रमा खटिनेहरूले ५६ हजार ९७१ रुपैयाँबराबरको मात्रै तलब–सुविधा प्राप्त गर्नेछन् ।

हिमाली क्षेत्रका जिल्लामा खटिने निर्वाचन प्रहरीका लागि भने तलब र अन्य सुविधासहित ६४ हजार ६०८ रुपैयाँ खर्च गरिनेछ । तर, उक्त क्षेत्रको पनि विकट क्षेत्रमा खटिनेहरूलाई तलब र अन्य सुविधासहित ८३ हजार २४१ रुपैयाँ खर्च गरिने प्रहरीले जनाएको छ ।नेपाल प्रहरीका अनुसार मतदान केन्द्र र सुरक्षा थ्रेट वृद्धिसँगै निर्वाचन प्रहरीको संख्या पनि बढेको छ  । ०७९ को निर्वाचनमा मुलुकभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ५१२ मतदान केन्द्र निर्धारण भएका थिए ।

निर्वाचनका लागि हालसम्म मुलुकभर १० हजार ९६७ निर्वाचनस्थल निर्धारण भएका छन् । जसमा निर्वाचन केन्द्र २३ हजार ११२ निर्धारण भएका छन् । गृह मन्त्रालयका अनुसार ३६ सय ८० मतदानस्थल अतिसंवेदनशील छन् । ती अधिकांश तराईका जिल्लाका छन् । त्यस्तै, ४४ सय ४२ मतदानस्थल सुरक्षा चुनौती विश्लेषणका आधारमा संवेदनशील सूचीमा राखिएका छन् । बाँकी २८ सय ४५ मतदानस्थल भने सामान्य अवस्थाका छन् ।

म्यादीको मापदण्डनिर्वाचन प्रहरीका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भर्ना छनोट समिति गठन भएको छ । सोही समितिले आवेदकको आवेदन अध्ययन गर्नेछ । मापदण्ड पूरा नभएकाहरूको आवेदन अस्वीकृत गर्नेछ । निर्वाचन प्रहरी भर्ना मापदण्डअनुसार आवेदक १८ वर्षदेखि ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ ।

पुरुषको उचाइ कम्तीमा पाँच फिट र महिलाको हकमा ४ फिट १० इन्च हुनुपर्नेछ । छाती चौडाइ ३१ देखि ३३ इन्च र तौल ५० किलो हुनुपर्नेछ । महिलाको हकमा तौल ४२ किलो र गर्भवती नभएको हुनुपर्नेछ । शैक्षिक योग्यता साधारण लेखपढ गर्न जानेको हुनुपर्नेछ । त्यस्तै, नैतिक पतन हुने गरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, राजनीतिक दलको सदस्यता नलिएको, आतंककारी तथा ध्वंसात्मक गतिविधिमा संलग्न भएको हुनुपर्नेछ ।

इन्च, ५० केजी तौल तथा महिलाको हकमा कम्तीमा ४ फिट १० इन्च उचाइ, ४२ केजी तौल र गर्भवती नभएकोरनरहेको हुनुपर्ने मापदण्ड छ । छनोट भएका निर्वाचन प्रहरीलाई १० दिन तालिम र ३० दिन फिल्डमा खटाउने गरी भर्ना गर्न लागिएको हो । छनोट भएको युवालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले १० दिन आधारभूत तालिम दिनेछ । र, एक महिनाका लागि निर्वाचन सुरक्षार्थ परिचालन गरिनेछ ।

२९ हजार ४०५ आवेदक पूर्वसेना, प्रहरी, म्यादी र वनरक्षक
निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिनेमध्ये २९ हजार ४०५ पूर्वसेना, प्रहरी, म्यादी र वनरक्षक छन् । यो कुल आवेदन दिनेमध्येको १४।९६ प्रतिशत हो । एक हजार ६६५ पूर्वसेना ९१,५३४ प्रहरीतर्फ, १३१ सशस्त्रतर्फ०, ६७४ पूर्वप्रहरी ९६४६ प्रहरीतर्फ, २८ सशस्त्रतर्फ०, २८२ पूर्वसशस्त्र प्रहरी ९१८३ प्रहरीतर्फ, ९९ सशस्त्रतर्फ०, २६ हजार ६३१ पूर्वम्यादी ९२५ हजार ४५६ प्रहरीतर्फ, एक हजार १७५ सशस्त्रतर्फ० र १५३ पूर्ववनरक्षक९१३६ प्रहरीतर्फ, १७ सशस्त्रतर्फ०ले आवेदन दिएका छन् ।

११ माघदेखि तालिम सुरु गर्ने तयारी
नेपाल प्रहरीतर्फ एक लाख ३३ हजार ९९० र सशस्त्रतर्फ १५ हजार ११० निर्वाचन प्रहरी माग गरिएको थियो । नेपाल प्रहरीमा मात्रै एक लाख ८१ हजार १७४ र सशस्त्रमा १५ हजार २९६ को आवेदन परेको छ । बुधबारसम्म छनोट सकिएपछि दुवै प्रहरीले ११ माघदेखि तालिम सुरु गर्ने तयारी गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीअन्तर्गत छनोट हुनेको तालिम छुट्टाछुट्टै हुनेछ र उनीहरूको पोसाक पनि फरक रहनेछ । नेपाल प्रहरीमार्फत भर्ना हुने म्यादी निर्वाचन प्रहरीलाई प्रत्यक्ष रूपमा मतदान केन्द्र (बुथ_मा खटाइनेछ भने सशस्त्र प्रहरीमार्फत भर्ना हुनेलाई बाहिरी गस्ती तथा कार्यालय सहयोगका कार्यमा परिचालन गर्ने तयारी छ ।
नयाँ पत्रिका

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.