Connect with us

तथ्य खोज

गृहमन्त्री रमेश लेखकः ज्याद्रा ज्यमराज, ओली–देउवाले सफाइ दिँदैमा जोगिने छाँट छैन पद

Published

on

नैतिकता अरुका हकमा मात्र लागू हुने आफ्ना लागि लागू नहुने अस्त्र होइन ।

अरुका लागि नीति र नैतिकताको पाठ पढाएर नथाक्ने गृह मन्त्री रमेश लेखक आफ्ना हकमा भने नीति कथाको छट्टु स्याल बन्दैछन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निजी निवास बुढानीलकण्ठमा हिजो पदाधिकारी बैठक बोलाएका थिए । जहाँ सुरुमै भिजिट भिसा प्रकरणको मानव तस्करी र संगठित अपराधको ‘सेटिङ’ मा जोडिएका गृहमन्त्री रमेश लेखकले आफू संलग्न नभएको जिकिर त गरे नै, पार्टीलाई अप्ठ्यारो नपार्न राजीनामा दिन पनि तयार रहेको बताएका थिए ।

तर, सभापति देउवाले गृहमन्त्री लेखक ‘निर्दोष’ भएकाले राजीनामा दिनु नपर्ने निष्कर्ष त सुनाए नै, पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नैतिकताका आधारमा लेखकले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका कांग्रेस नेता डा. शेखर कोइरालालगायतसँग प्रष्टिकरण लिनु पर्ने सुझाए । गृहमन्त्री लेखक र उनको सचिवालयका कर्मचारीहरु भिजिट भिसा प्रकरणमा प्रत्यक्ष मुछिएको छताछुल्ल भइसकेको छ ।

साउन–भदौ २०७९ मा नेपालमुहारले भिजिट भिसाका नाममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने मानव तस्करी र संगठित अपराधबारे श्रृंखलावद्ध समाचार प्रकाशित गरेको थियो, जसमध्ये २० भदौ २०७९ मा लेखेको थियो, यस्तो छ त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको सूची, दिनमै एक करोडसम्मको खेलो–२ – (nepalmuhar.com) । भिजिट भिसामा कसरी मानव तस्करी र संगठित अपराध भइरहेको छ ? कसरी सेटिङ मिलाइएको छ ? को–को संलग्न छन् ? उच्च तहसम्म कसरी पैसा पुग्छ ? साङ्गोपाङ्गो विवरण लेखिएको छ त्यसबेलै । अहिले सहसचिव तीर्थराज कोइराला पक्राउ नयाँ संस्करण मात्र हो ।

रोचक के भने उक्त समाचार प्रकाशित भएपछि त्रिभुवन विमानस्थलमा कार्यरत तत्कालीन सात जना कर्मचारी (तीन उपसचिव, चार अधिकृत) नेपालमुहारकै अफिसमा आएर धम्की र प्रलोभन दुवै दिएका थिए । यति मात्र होइन, घटना विवरण सत्य भएको तर आफूहरु चाहिँ संलग्न नभएको उनीहरुको जिरह थियो ।

विडम्बना ! प्राविधिक कारण अहिले त्यो समाचार लिंक खुल्दैन । नेपाली सेनाका तत्कालीन प्रधान सेनापति प्रभुराम शर्माले गरेको कर्तुतमाथि लेखिएको श्रृंखलावद्ध समाचार ढिसमिस बनाउन उनले नेपालमुहारको पोर्टल नै ‘ह्याक’ गराएका थिए । त्यसलाई ‘रिकभर’ गरेपनि त्यसयता थुप्रै पुराना समाचारहरु खुल्दैनन् । यद्यपि प्राविधिक प्रयास जारी छ ।

रमाइलो यो छ कि देउवा निवासमा बसेको पदाधिकारी बैठकमा पूर्वमहामन्त्री एवम् सांसद डा. शशांक कोइरालाले गृहमन्त्री लेखकको राजीनामा माग गर्ने कांग्रेस नेताहरुसँग स्पष्टीकरण सोध्न सुझाए । जब कि गृहमन्त्री लेखक गम्भीर सरोकारको विषयमा प्रत्यक्ष जोडिएकाले उनले राजीनामा दिनु पर्ने अभिव्यक्ति अरु कसैले नभएर शंशाककै दाजु (काकाका छोरा) डा. शेखर कोइरालाले दिएका थिए ।

जानकारका अनुसार देउवासँग साखुल्ले बनेर पार्टी सभापति बन्ने दाउँमा छन् शशांक । त्यसैले उनले सभापतिकै तयारी गरिरहेका दाजु डा. शेखरलाई स्पष्टिकरण सोध्नु पर्ने ‘प्रतिगामी माग’ गरेका हुन् । देउवा, शशांक, पूर्णबहादुर खड्का जस्ता वेथिति पक्षधर नेताहरुले लेखकलाई संरक्षण गरिरहे पनि उनले गृहमन्त्रीबाट राजीनामा दिनु पर्ने विषयले कांग्रेसभित्र भूसको आगो दन्किरहेको छ ।

सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री शशांकलगायत आफैं न्यायाधीश बनेर गम्भीर सरोकारमा जोडिएका लेखकलाई सुनपानी छर्केको समाचार बाहिरिएपछि नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले हिजो अपरान्ह ४.३० मा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे,

‘दाइभाउजु कम्पनीका मठाधीशहरु त अव न्यायाधीशमा पो परिणत भएछन् । यिनका लागि अव कुनै अदालत र नियमनकारी निकायहरुको आवश्यकता नपर्ने होला ।’

त्रिताल तिनै पूर्वसचिव हुन्, जसले बालुवाटारस्थित ललिता निवास काण्डको अनुसन्धानको नेतृत्व गरेका थिए । त्रिविको जग्गा खोज्ने समितिको प्रमुख पनि तत्कालीन शिक्षा मन्त्री सुमना श्रेष्ठले त्रिताललाई नै चुनेकी थिइनँ । विडम्बना, त्रिताल एकाएक बिरामी परे । उनले आफूले पाएको पछिल्लो जिम्मेवारी पुरा गर्न पाएनन् । त्रिताल नै प्रमुख रहन सकेका भए सायद प्रतिवेदन अझ् गह्रुगो बन्थ्यो कि ? नेपाल सरकारका थोरै इमान्दार र नैतिक उच्च अधिकारीहरुमध्ये त्रिताल एक हुन् । त्यसैले अवश्य उनको स्टाटसको घनत्व छ ।

तीस वर्षभन्दा लामो समयदेखि वैदेशिक रोजगार व्यवसाय चलाइरहेका एक व्यावसायीका अनुसार, भिजिट भिसामार्फत हुने मानव तस्करीबारे २०७९ मा पनि उनैले धेरै सूचना दिएका थिए, अख्तियारद्धारा पक्राउ परेका तीर्थराज भट्टराईले गृहमन्त्री लेखक स्वयम्लाई दैनिक न्यूनतम ७ लाख रुपैयाँसम्म बुझाउने गरेका थिए । गृहमन्त्री लेखक र सहसचिव भट्टराईबीच प्रत्यक्ष सम्पर्क थियो । जो निष्पक्ष अनुसन्धान हुने हो भने पुष्टि भएरै छाड्ने उनको दाबी छ । दैनिक हिसाबले साप्ताहिक, पाक्षिक वा मासिकरुपमा गृहमन्त्रीलाई भट्टराई स्वयम्ले नगद बुझाउँथे ।

बाहिर शालीन छवीका देखिने गृहमन्त्री लेखक ‘चुथ्था’ हुन भन्ने तथ्यका लागि अहिले भाइरल भइरहेको ४६ सेकेण्डको एउटा ‘भिडियो क्लिप’ ले पुष्टि गर्छ । यसबेला चर्चित मेरो कथाकी संचालिका विद्या चापागाईले पूर्वप्रधान न्यायाधीश शुशीला कार्कीसँग संवाद गरिएको दृष्य हो । कार्कीले प्रधान न्यायाधीशको कुर्सीमा आसिन भएका बेला ८० जना न्यायाधीशहरुलाई एकै पटक नियुक्त गरेकी थिइन । जो उनको कार्यकालको सबैभन्दा विवादित निर्णय हो र कार्कीलाई हिलो छ्याप्नु पर्यो भने त्यही विषय उठाइन्छ ।

त्यही नियुक्तिका विषयमा कार्यक्रम सञ्चालिका चापागाईले कार्कीलाई प्रश्न सोध्छिन् । जवाफ दिँदै कार्कीले कांग्रेसका तर्फबाट ‘लेखकले लामो सूची लिएर आएको र यो गरिदिनु भएन भने मेरो पार्टीमा ठूलो बुमर्याङ आउँछ’ भनेको खुलासा गर्छिन । यो खुलासाले लेखक भित्रभित्रै आफू अनुकूल निर्णय गराउन कसरी लागि पर्छन भन्ने त स्पष्ट हुन्छ नै, नेताहरुले कसरी सेटिङमा, चिटिङमा देशलाई थिलथिलो पारिरहेका छन् भन्ने पनि खुल्छ ।

https://www.facebook.com/watch/?ref=saved&v=559008880316558

सत्ताधारी कांग्रेस, एमालेले गृहमन्त्री लेखकलाई राजीनामा दिनु पर्दैन भनेर चोख्याए पनि विपक्षीहरु चित्त बुझाएर बस्न तयार छैनन् । ओली मन्त्रिपरिषद्कै सदस्य तथा शिक्षा मन्त्री विद्या भट्टराई विरुद्ध सडकमा आन्दोलनरत शिक्षकहरुले नारावाजी गरेपछि गत ८ बैशाखमा मात्र उनले पदबाट राजीनामा दिएकी थिइन । जब कि भट्टराईलाई अहिले गृहमन्त्री लेखकलाई लागे जस्तो संगीन आरोप केही पनि थिएन । ७० करोड काण्डमा नाम मुछिएपछि ठूलो दबाब नआउँदै तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए ।

त्यसअघि तत्कालीन कानुन मन्त्री शेरबहादुर तामाङले बोलेको विषय विवादमा परेसँगै उनले तत्काल राजीनामा दिएका थिए । गृहमन्त्री लेखक जोडिएको विषय विद्या भट्टराई, गोकुल बास्कोटा र शेरबहादुर तामाङको भन्दा निकै संगीन प्रकृतिको हो । रास्वपाका सभापति एवम् तत्कालीन उपप्रधान र गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएपछि संसदको रोष्टममा उभिएर जोतोडले राजीनामा माग गर्ने मुख्य पात्र अरु कोही नभएर हालका गृहमन्त्री रमेश लेखक नै थिए ।

यसबेला उनै लेखक आफैं मानव तस्करी र संगठित अपराधको गम्भीर साँठगाँठमा जोडिएका छन् । तर, उनले नैतिकता देखाएर राजीनामा दिन आनाकानी गरिरहेका छन् र उनलाई प्रधानमन्त्री केपी ओलीदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्मले ‘सफाइ’ दिइरहेका छन् । जुन सभ्य समाज र लोकतन्त्रका लागि सुहाउँदो चरित्र होइन । यति मात्र होइन, नैतिकता अरुलाई मात्र लागू हुने अस्त्र होइन, आफूले पनि पालना गर्ने चरित्र हो ।

जानकारका अनुसार नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतनत्र पार्टी (रास्वपा), राप्रपालगायत दलहरु लेखकको राजीनामालाई अन्तिम अस्त्र बनाउने तयारीमा छन् । त्यसको संकेत आज पहिलो चरणमा संसद अवरुद्ध गरिसकेका छन् । त्यसैले सत्ता/प्रतिपक्षहरुबीच दृष्य/अदृष्य लेनदेन भएन भने ओली र देउवाले ‘सफाइ’ दिँदैमा लेखकको पद जोगिने संभावना न्यून छ । गृहमन्त्री लेखक जुन संगीन काण्डमा मुछिएका छन्, उनले पदबाट राजीनामा दिनैपर्छ । उनीमाथि छानबिन हुनैपर्छ । होला कि उनले सफाइ पाउन् ।

हेर्नुहोस् नेपालमुहारले २० भदौ २०७९ मा लेखेको स्टोरीको पिडिएफ फाइल…

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.