नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्ण थापाले आजबाट सुरु हुने विधान महाधिवेशनमा फरक मत दर्ज गरेका छन् । हिजो बिहीबार अपरान्ह बसेको एमाले सचिवालय बैठकले उनको फरक मत प्रस्तुत गर्ने निर्णय गरेको छ ।
३२ पृष्ठ लामो फरक मतमा थापाले साउन ५ देखि ६ को केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति पूर्वाग्रही भएर निर्णय गरेको उल्लेख गरेका छन् ।
“…यो निर्णयलाई हेर्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति पूर्ण पूर्वाग्रही भएर गरिएको सुरुमै देखिन्छ । उहाँ हिजो देशको राष्ट्रपति हुनुहुन्थ्यो । अहिले सामान्य नागरिक हुनुहुन्छ भन्ने यथार्थलाई यस निर्णयले पूरै बेवास्ता गरेको छ,” उनले केन्द्रीय कमिटीको निर्णयबारे लेखेका छन्, “अर्को कुरा उहाँ देशको राष्ट्रपति भए पनि नेकपा (एमाले) को पूर्वउपाध्यक्ष पनि हुनुहुन्थ्यो भन्ने कुरा उल्लेख गरिएको छैन । उहाँ राष्ट्रपति बन्ने समयमा एमालेको निर्णयले राष्ट्रपति हुनुभएको कुरा पनि उल्लेख गरिएको छैन ।”
उनले पार्टीका निर्णय आम पार्टी कार्यकर्ता, समर्थक, शुभेच्छुक र जनताको विश्वास र समर्थन बढ्ने प्रकारका हुनुपर्ने उल्लेख गरेका छन् । “हामीले मिसन ०८४ को नारालाई अगाडि बढाएका छौँ । ०८४ सालमा हुने आम निर्वाचनमा नेकपा९एमाले०को बहुमत ल्याउन सिँगो पार्टीलाई वैचारिक एकतामा बाँध्नु पर्दछ र संपूर्ण शक्तिलाई परिचालित गरिनु पर्दछ,” थापाले फरक मतमा भनेका छन् ।
उनले भण्डारीलाई एमालेको राजनीतिमा आउन प्रतिबन्ध लगाउनु उचित नहुने बताएका छन् । भण्डारीको सदस्यता स्वीकार गरी स–सम्मान जिम्मेवारी दिनुपर्ने उनको मत छ ।
“पूर्वराष्ट्रपति र पूर्वउपाध्यक्ष भई सफलतापूर्वक काम गरेर व्यापक जनविश्वास आर्जन गरिरहनु भएको कमरेड विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा आउन प्रतिबन्ध लगाउनु उचित हुँदैन ,” फरक मतमा उल्लेख छ, “प्रतिउत्पादक हुनसक्छ । यी सबै परिस्थितिको मूल्यांकन गरेर विधान बमोजिम नवीकरण भइसकेको सदस्यता स्वीकार गरी उहाँलाई स–सम्मान पार्टीको जिम्मेवारी दिनु पर्छ भन्ने मेरो मत यस सम्मानित दोस्रो विधान महाधिवेशनसमक्ष स्वीकृतिका लागि प्रस्तुत गर्दछु ।”
थापाको फरक मत