नेकपा (एमाले) को दोस्रो विधान महाविधेशन नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भदौ २० देखि २२ गतेसम्म हुने महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्। गौतमका अनुसार प्रतिनिधिदेखि मञ्च व्यवस्थापनसम्मका सबै कामको केही पूरा भएका छन् भने बाँकी पुरा हुनेक्रममा छन् ।
एमाले महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधिसहित दुई हजार ३४९ जना सहभागी हुँदैछन् । एमालेले दशौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि हुने निर्णय गरेको छ । अघिल्ला प्रतिनिधिमध्ये कतिपयको मृत्यु भएको, कतिपयले पार्टी छोडेका र कसैलाई पार्टीले कारबाही गरेकाको सूची हटाइएको छ । ती हटाइएका रिक्त ठाउँमा भने नयाँ प्रतिनिधि छनौट गर्न पाइने व्यवस्था नभएकाले नयाँ प्रतिनिधि चयन नहुने गौतमको भनाइ छ ।
दशौँ महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकाले उनीहरू आयोजकको हैसियतमा रहने छन् । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारी (विद्यावारिधि) ले हिजो आइतबार सबै प्रतिनिधिलाई एसएमएसमार्फत महाधिवेशनको निमन्त्रणा पठाइसकेको जानकारी दिए ।
महाधिवेशनको आदर्श वाक्य ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’तय गरेको छ । अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीनवटा प्रतिवेदन राजनीतिक, साङ्गठनिक र विधान प्रतिवेदनको छपाइको काम भइरहेको छ ।
यस्तै, निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग र सल्लाहकार परिषद्को प्रतिवेदन पनि छपाइका क्रममा रहेको छ । उनले प्रतिनिधिका लागि परिचयपत्र छपाइको काम सकिएको जानकारी दिए । परिचयपत्र ‘अनलाइन’ मार्फत पनि लिन सकिने व्यवस्था गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव अधिकारीका अनुसार गोदावरीस्थित सनराइज हलमा प्रवेशका लागि प्रतिनिधिहरूलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । प्रतिनिधिले ढोकामा आफ्नो परिचयपत्रमा रहेको ‘क्यूआर कोड स्क्यान’ गरेर मात्र प्रवेश गर्न पाइनेछ ।
महाधिवेशनको तयारीका लागि हल सजाउने र मञ्च व्यवस्थापन गर्ने काम भइरहेको उनको भनाइ छ । विभिन्न जनवर्गीय सङ्गठन र स्थानीय कमिटीले ललितपुरको सातदोबाटोदेखि गोदावरीसम्म स्वागतद्वार तयारी गरेका छन् ।