Connect with us

राजनीति

माधव नेपालको अंगालोमा बेरिए वामदेव

Published

on

नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम र भ्रष्टाचार मुद्दामा विशेष अदालतमा तारिख धाइरहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बीच औपचारिक एकता भएको छ । राष्ट्रियसभा गृह भृकुटीमण्डपमा भएको एकता घोषणा कार्यक्रममा गौतमले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घमण्डी नेताको संज्ञा दिँदै नेपाल, झलनाथ खनाललगायत नेताहरुको अंगालोमा निकैबेर बेरिएका छन् ।

एकता घोषणा सभालाई सम्बोधन गर्दै गौतमले कुनै समयका सहकर्मी ओलीलाई दम्भी नेताको समेत संज्ञा दिए । उनले नेपाललाई भने कोमल मनको भएको व्यक्ति भन्दै फुरुक्क बनाए । नेपालसँग ०३६ सालमा पहिलोपल्ट भेट भएको स्मरण गर्दै गौतमले त्यसपछिका सम्बन्ध उत्तारचढावपूर्ण रहँदै आएको बताए । पुरानो सम्बन्ध सम्झिने सिलसिलामा उनले केपी ओली र माधव दुवैको व्यक्तिगत स्वभाव र प्रवृतिमाथि टिप्पणी गरे ।

‘माधव कमरेडसँग पहिलोपल्ट ०३६ सालमा चिनजान भएको थियो, त्यसयता हामी कहिले धेरै एकताबद्ध भएर, कहिले थोरै एकताबद्ध भएर र कहिले धेरै रिसाएका छौ, तर हामीले हाम्रो सम्बन्धलाई बचायौँ’, गौतमले भने, ‘म नेपालमा कम्युनिष्टको एउटै पार्टी बनाउनुपर्छ, छरिएका कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउनुपर्छ भनेर लाग्दा केपी ओली तयार हुनुभएन, घमण्डी कुरा गर्नुभयो, बरु माधव कमरेड तयार हुनुभयो ।’

नेकपा एससँग एकता गर्न चार वर्ष ढिला भएको र त्यसको कारण पनि प्रधानमन्त्री ओली नै रहेको गौतको टिप्पणी थियो । यो ढिलाईले समाजवाद लागू गर्ने सवालमा पनि बिलम्ब भएको गौतमको ठम्याइ छ । ‘म चार वर्ष पहिले आउन पाएको भए समाजवाद आइसकेको हुन्थ्यो, अब म आएपछि समाजवादको मान्यताहरु लागू हुन्छन्, ओली कारण यो ढिलो भएको हो, तर अहिले म ७५ जना केन्द्रीय समितिको समर्थन बोकेर आएको छु । नौ जिल्लामा कमिटी छन्, उनीहरु सबैको समर्थन लिएर आएको छु’, गौतमले प्रष्ट्याए । एकीकृत पार्टी नेकपा एसले अब संविधानले परिकल्पना गरेको समाजवाद निर्माणको अभियान नै चलाउने गौतमको घोषणा छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.