माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वागदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियान एकताबद्ध हुने भएका छन् । नेपाल र गौतमबीच आज शुक्रबार पार्टी एकताबद्ध गर्ने औपचारिक सहमति भएको हो। उनीहरुले साउन २ गते राष्ट्रियसभा गृहमा एकता घोषणासभा गर्ने भएका छन्।
एमालेमा बिग्रह चरम अवस्थामा पुगेपछि गौतम उपाध्यक्षबाट राजीनामा दिएर बाहिरिएका थिए भने नेपालले एकीकृत समाजवादी गठन गरेका थिए। नेकपा माले, एमाले निर्माणमा नेपाल , गौतम दुवैको महत्वपूर्ण भूमिका थियो ।
नेपाल र नेपालबीच आज भएको सहमति पत्रमा उल्लेख छ, ‘राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति गरियो। साथै २०८२ साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने सहमति भयो।’
गौतम झण्डै एक वर्ष अघि नै एकीकृत समाजवादीमा समाहित हुन लागेका थिए । तर, प्रधानमन्त्री समेत रहेका केपी ओलीले उनलाई एमाले पुनः प्रवेश गराउने भनेर अल्मल्याइदिएका थिए । समाजवादीसँग एकता गर्ने प्रयास भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न आश्वास दिएर भाँडे पनि यसपटक उनीहरु एकता गर्ने लिखित समझदारीमा पुगेका हुन्।