अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामाले अमेरिका अहिलेसम्म महिला राष्ट्रपतिको लागि तयार नभएको बताएकी छन् । उनको टिप्पणीले पूर्वउपराष्ट्रपति कमला ह्यारिसको २०२४ को चुनावमा डोनाल्ड ट्रम्पविरुद्धको पराजयतर्फ संकेत गरेको मानिएको सीएनएनले उल्लेख गरेको छ ।
अभिनेत्री ट्रेसी एलिस रोसले अमेरिकामा महिला राष्ट्रपति बन्नका लागि पर्याप्त ठाउँ बनेको हो भनेर सोधेको प्रश्नमा, ओबामाले भनिन्, “हामीले यसअघिका चुनावमा देखिसक्यौँ र दुःखका साथ भन्नुपर्छ हामी महिलालाई राष्ट्रपति बनाउन तयार छैनौँ ।”
रोस र ओबामाबीचको संवाद न्युयोर्कको ब्रुकलिनमा आयोजित पूर्वप्रथम महिला मिसेल ओबामाको ‘द लुक’ नामक पुस्तक विमोचन समारोहमा भएको थियो । यो पुस्तक डेमोक्रेट नेता बाराक ओबामाको राष्ट्रपति कार्यकालमा ह्वाइट हाउसमा समय बिताउँदा उनको फेसन तथा राजनीतिक दृष्टिकोणसँग सम्बन्धित छ ।
ओबामाले रोसलाई भनिन्, “त्यसैले म भन्छु मलाई चुनाव लड्न भन्नु नै पर्दैन । तपाईंहरू सबै झुट बोल्दै हुनुहुन्छ । तपाईंहरू महिलाका लागि तयार हुनुहुन्न । हामी अझ धेरै परिपक्व हुनुपर्छ र अझै धेरै यस्ता पुरुषहरू छन्, जसलाई के लाग्छ भने उनीहरू आफ्नो नेतृत्व महिलाले गरोस् भन्ने चाहँदैनन् र हामीले त्यो देख्यौँ ।”
पूर्वप्रथम महिला डेमोक्रेटिक नेताहरूमध्येकी हुन्, जसलाई वर्षौंदेखि ‘राष्ट्रपतिमा उम्मेदवारी दिनुपर्छ’ भन्ने चर्चा र अनुमानहरू भएका छन् । तर, मिसेल ओबामाले हरेकपटक यसलाई खारेज गर्दै आएकी छन् । सन् २०१६ मा वा उनी अझै प्रथम महिला हुँदा नै ओबामाले स्पष्टरूपमा भनेकी थिइन्, “म राष्ट्रपति पदका लागि उमेदवारी दिने छैन । होइन, होइन, म यो गर्दिनँ ।”
गत वर्ष आफ्नो चुनावी अभियानमा कमला ह्यारिसलाई समर्थन गर्दै ओबामाले ट्रम्पले अमेरिका विशेषगरी महिलाहरूको स्वास्थ्यप्रति देखाएको जोखिमबारे मतदाताहरूलाई चेतावनी दिँदै आएकी थिइन् ।
मिसिगनमा भएको एक चुनावी अभियानमा उनले भनेकी थिइन्, “कृपया, हाम्रो भविष्य ट्रम्पजस्ता व्यक्तिको हातमा नदिनुहोस् जसलाई हाम्रो बारेमा केही थाहा छैन, जसले हाम्रोप्रति गहिरो घृणा देखाएको छ । किनभने उनलाई दिइने मत हाम्रो विरुद्ध, हाम्रो स्वास्थ्यविरुद्ध, हाम्रो मूल्यविरुद्धको मत हो ।”
सीएनएनबाट