आज नेपालबाट बंगलादेशमा सवा ११ घण्टा विद्युत् निर्यात गरिने भएको छ । सन् २०२४ मा आज एक दिन बंगलादेशमा विदूत निर्यात गरिदैछ । सन् २०२५ जुन १५ बाट भने बंगलादेशमा नियमित विदूत आपूर्ति गरिनेछ ।
बंगलादेश नेपालबाट नजिकै छ । तर, प्रत्यक्ष सीमा भने जोडिएको छैन । थोरै भारतीय भूमि पार गरेपछि मात्रै बंगलादेशी भूमिमा पुगिन्छ । नेपालको विद्युत भारतीय प्रसारण लाइन हुँदै बंगलादेश पठाउनुपर्छ । भारतको केन्द्रीय विद्युत् नियमन आयोगले हिजो बिहीबार प्रसारण लाइनको अनुमति दिएसँगै नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न बाटो खुला भएको हो ।
भारतले हिजो मात्र नेपाल विद्युत् प्राधिकरणलाई आफ्नो प्रसारण लाइनको स्वीकृति पत्र पठाएको थियो । जसका लागि परियोजना नै तोकेर पूर्वस्वीकृति लिनुपर्ने भारतको सर्त थियो । नेपालले सर्त स्वीकारेपछि भारतले अनुमति दिएको हो ।
नेपाल विद्युत प्राधिकरणका अनुसार आज दिउँसो १२:४५ बजेदेखि राति १२ बजेसम्म ११ घण्टा १५ मिनेट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिनेछ । यही असोजमा नेपाल, भारत र बंगलादेशबीच भएको विद्युत् निर्यातसम्बन्धी सम्झौताअनुसार विदूत निर्यात गर्न लागिएको हो ।
सम्झौता अनुसार जुन १५देखि नोभेम्बर १५ सम्म मात्रै नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न पाइन्छ । आज नोभेम्बर १५ तारिखपछि २०२५ जुन १५ बाट पुनः बंगलादेशमा विद्युत् निर्यात गरिनेछ । नेपालबाट बंगलादेशमा विद्युत् निर्यात दक्षिण एसियामा पहिलो उपक्षेत्रीय विद्युत् व्यापार हो ।
नेपालले दक्षिण छिमेकी भारतमा भने विद्युत् निर्यात गर्दै आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ऊर्जा क्षेत्रका लागि आजको दिन नेपालका लागि ऐतिहासिक दिन हुनेछ ।
”हामी आज एक बंगलादेशमा विद्युत् निर्यात गर्दै छौँ । यसले प्राविधिक, कानुनी, आर्थिकलगायतका आधारमा विद्युत् बंगलादेशमा विद्युत निर्यात गर्ने बाटो खोलेको छ । आजको दिन नेपालका लागि माइलस्टोन हो”, घिसिङको भनाइ छ, ”परिमाणमा थोरैजस्तो देखिए पनि सांकेतिक रूपमा यसले ठुलो महत्व राख्छ । हामी बंगलादेशमा निर्यात हुने विद्यूतको मात्रा बढाउँदै जानेछौँ । आगामी १० वर्षमा बंगलादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना छ ।”
आज ११ घण्टा १५ मिनेटभित्र नेपालबाट बंगलादेशमा चार लाख ४० हजार युनिट विद्युत निर्यात हुनेछ । नेपाल-बंगलादेशबीचको सम्झौताअनुसार एक युनिट विद्युतबराबर नेपालले ६:४० सेन्ट पाउनेछ । जसअनुसार आज नेपालले बंगलादेशमा २८ हजार १६० डलरबराबरको विद्युत निर्यात गर्नेछ ।
आजका लागि राष्ट्र बैंकले तोकेको डलरको मूल्यअनुसार नेपाली रुपैयाँ ३७ लाख ९३ हजार चार सय ३४ हुनेछ । सम्झौताबमोजिम नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिना विद्युत निर्यात गर्नेछ । नेपालले बंगलादेशलाई निरन्तर पाँच वर्षसम्म ४० मेगावाट विद्युत् दिने सम्झौता छ । जसबापत नेपाललाई हरेक वर्ष ९२ लाख १६ हजार डलर आम्दानी हुनेछ ।