सिरियामा गत महिना भएको घातक आक्रमणमा आफेना दुई सैनिक र एक दोभाषे नागरिकको ज्यान गएपछि संयुक्त राज्य अमेरिकाले इस्लामिक स्टेट (आइएस) विरुद्ध सिरियामा नयाँ चरणको जवाफी सैन्य हमला सुरु गरेको छ ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार शनिबार दिउँसो करिब १२ः३० बजे (पूर्वी समय) अमेरिकाको नेतृत्वमा साझेदार सेनासहित ठूलो स्तरमा हवाई आक्रमणहरू गरिएका हुन् । ती आक्रमणहरू सिरियाका विभिन्न स्थानमा रहेका आइएसका बहुविध लक्ष्यहरूमा केन्द्रित थिए । जोर्डनको सेनाले पनि यस अपरेसनमा सहभागी भएको पुष्टि गरेको छ ।
यी कारबाहीहरू राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार गत महिना पाल्मिरा क्षेत्रमा भएको आइएस आक्रमणको प्रत्यक्ष जवाफमा गरिएका हुन् । उक्त आक्रमणमा आयोवा नेसनल गार्डका सार्जन्ट एडगर ब्रायन टोरेस–टोभर, सार्जन्ट विलियम नाथानियल हावर्ड र अमेरिकी नागरिक दोभाषे अयाद मन्सुर सकातको ज्यान गएको थियो ।
अमेरिकी सेन्ट्रल कमान्डले विज्ञप्तिमार्फत चेतावनी दिँदै भनेको छ, “यदि कसैले हाम्रा सैनिकहरूलाई क्षति पुर्याउँछ भने, हामी उसलाई संसारको जुनसुकै कुनामा भए पनि खोजेर कारबाही गर्नेछौँ ।”
यस आक्रमणअघि सिरियाली अधिकारीहरूले लेभान्ट क्षेत्रमा आइएसका सैन्य अपरेसन हेर्ने एक उच्च नेताको पक्राउ गरिएको जानकारी दिएका थिए । शनिबारको कारबाही कुन–कुन साझेदार सेनाको सहभागितामा भएको हो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।
ट्रम्प प्रशासनले पाल्मिरा घटनापछिको सम्पूर्ण सैन्य प्रतिक्रियालाई ‘अपरेसन हक्की स्ट्राइक’ नाम दिएको छ । यसअघि डिसेम्बर १९ मा गरिएको आक्रमणमा मध्य सिरियामा रहेका आइएसका करिब ७० लक्ष्य ध्वस्त पारिएको थियो, जसमा सङ्गठनका पूर्वाधार र हतियार भण्डार समावेश थिए ।
कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स लामो समयदेखि सिरियामा आइएसविरुद्ध अमेरिकाको प्रमुख साझेदार रहँदै आएको छ । सन् २०२४ को डिसेम्बरमा पूर्वराष्ट्रपति बशर अल–असद हटेपछि भने वासिङ्टनले दमास्कसस्थित केन्द्रीय सरकारसँग पनि समन्वय बढाएको छ । हालै सिरिया औपचारिक रूपमा आइएसविरुद्धको अन्तर्राष्ट्रिय गठबन्धनमा सामेल भएको छ ।