कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनसँगै बलरहरु चम्किएपछि साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार साँझ भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको रोमाञ्चक जित हात पार्यो ।
जितसँगै सुदूरपश्चिमले तीन खेलबाट ६ अङ्क बनाएको छ । शीर्षस्थानमा रहेको सुदूरपश्चिम जारी लिगमा अपराजित रहने दोस्रो टोली हो । लगातार तीन खेल जित्दै समान ६ अङ्क बनाएको विराटनगर किङ्सले दोस्रो स्थानमा छ । तीन खेलमा दोस्रो हार खेपेको कर्णालीको दुई अङ्क छ ।
जितका लागि एक सय ४० रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन जोडे । यस्तै मार्क वार्टले १७, कप्तान सोमपाल कामीले १४, गुल्शन झा र अर्जुन घर्तीले समान १३र१३ रन बनाए ।
कर्णालीलाई स्तब्ध बनाउन बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले एक्लैले चार विकेट लिए । उनले पूरै चार ओभर बलिङ गर्दै २३ रन खर्चिएका थिए । दीपेन्द्र सिंह प्लेयर अफ दि म्याच बने । यस्तै हर्मित सिंह र अविनाश बोहराले दुई दुई तथा हेमन्त धामी र स्कट कुगेलेइजनले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरिले २८ बलमा एक चौका र दुई छक्काको सहयोगमा ३९ रन बनाए । यस्तै आरिफ शेखले २५ बलमा तीन चौकासहित २७, हर्मित सिंहले १९ र क्रिस लिनले १८, ओपनर विनोद भण्डारीले ११ र स्कट कुगुलेइजनले १० रन बनाए । बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले सर्वाधिक तीन विकेट लिनुभयो । यस्तै नन्दन यादवले दुई तथा मार्क वार्ट, विपिन शर्मा र युवराज खत्रीले एक एक विकेट लिए ।