Connect with us

राजनीति

सुदूरपश्चिममा १२ जना पूर्वमन्त्री चुनावी दौडमा

Published

on

आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट १२ जना पूर्वमन्त्री चुनावी दौडमा छन् । १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा प्रमुख राजनीतिक दलले पूर्वमन्त्रीहरूलाई उम्मेदवारका रूपमा अघि सारेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले( र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूमा सङ्घीय र प्रदेश सरकारमा सहभागी भइसकेका १२ जना पूर्वमन्त्री आसन्न चुनावी मैदानमा छन् ।

कांग्रेसले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा नारायणप्रकाश साउदलाई उम्मेदवार बनाउँदै चुनावी मैदानमा उतारेको छ । उनी यसअघि सङ्घीय सरकारमा पटकपटक मन्त्री भइसकेका छन् । साउदबाहेक सुदूरपश्चिममा सबै नयाँ उम्मेदवारलाई अघि सारिएको नेपाली कांग्रेसका प्रदेश सहमहामन्त्री चिन्तामणि भट्टले जानकारी दिए ।

नेपाली कम्युनिष्ट पार्टीबाट अछाम क्षेत्र नं १ मा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावल चुनावी मैदानमा छन्। त्यस पार्टीले कैलाली क्षेत्र नं ५ मा प्रेम आले, कञ्चनपुर क्षेत्र नं १ मा बीना मगरलाई उम्मेदवार बनाएको छ । आले र मगर सङ्घीय सरकारका पूर्वमन्त्री हुन् ।

नेकपाले सुदूरपश्चिम प्रदेश सरकारको पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलाई डोटीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । प्रदेश सरकारकै पूर्वमन्त्री प्रकाशबहादुर शाहलाई नेकपाले बाजुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । नेकपाबाटै कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका मानबहादुर सुनार प्रवेश राज्यमन्त्री भइसकेका छन् ।

नेकपा (एमाले) बाट पनि पूर्वमन्त्रीहरू सुदूरपश्चिमबाट आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छन् । नेकपा (एमाले) ले दार्चुलाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार गाणेशसिंह ठगुन्ना, बैतडीबाट दामोदर भण्डारी उम्मेदवार बनाएको छ । जो सङ्घीय सरकारका पूर्वमन्त्री हुन् । एमालेले कैलाली निर्वाचन क्षेत्र नं. ४ बाट पूर्वमन्त्री एवं उपमहासचिव लेखराज भट्टलाई उम्मेदवार बनाएको छ । त्यस्तै कैलाली–३ का गौरीशङ्कर चौधरी पूर्वसङ्घीय मन्त्री हुन् ।

एमालेबाटै अछाम क्षेत्र नं १ मा उम्मेदवार बनाइएका झपटबहादुर बोहरा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री हुन् । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दले डोटीमा जेनजी पुस्ताको प्रतिनिधित्व गराउँदै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीलाई उम्मेदवारका रूपमा मैदानमा उतारिएको जानकारी दिए ।

उनले भने, “एमाले सबैतिर चुनावी सभा÷भेलाहरू व्यवस्थित गर्दै जाने तयारीमा छ ।” सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा हुने प्रारम्भिक आँकलन गरिएको छ ।

कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा १६ वटा निर्वाचन क्षेत्रबाट २०६ जना चुनावी मैदानमा रहेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.