Connect with us

अर्थ

प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

Published

on

नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान भएका छन्। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार अधिकारीलाई थुनामा पठाउन आदेश दिएको हो।

पूर्वनिर्देशक मुरारी भण्डारीसँग भने ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको विशेष अदालतका सूचना अधिकारी एज्ञराज रेग्मीले सञ्चारकर्मीलाई जानकारी दिए। उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको बुधबार पक्राउ गरेको थियो। पक्राउ परेकै दिन अदालतमा आरोपपत्र दायर गरिएको थियो। दुवैजनाविरुद्ध आइतबार नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको भन्दै मुद्धा दायर भएको छ।

हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा भ्रष्टाचार गरेको भन्दै सोही बराबर रकम सामुहिक बिगो कायम गरिएको छ।अधिकारीसहितले सम्झौताबमोजिम विस्तृत अध्ययन प्रतिवेदन पेसै नगरी र अन्य प्रक्रिया पनि पूरा नगरी हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको निष्कर्ष अख्तियारको छ। अख्तियारले अधिकारी र भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आरोप पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उपप्रबन्धक हालका प्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत तथा हालका उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्रालि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापालाई प्रतिबादी बनाइएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.