संगठित रुपमा अराजकता फैलाएको आरोपमा गएराति पक्राउ परेका स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनका सर्मथकहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौं अघि प्रर्दशन गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईंले शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि गरेको निष्कर्षसहित हिरासतमा राखेर अनुसन्धान गर्न निर्देशन दिएको छ । काठमाडौं जिल्ला अदालतले पनि उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
राजसंस्था पुनःस्थापना र हिन्दुराज्यको मागसहित सात मंसिरदेखि मेची महाकाली आन्दोलनको घोषणा गरेका प्रसाईंले भारतबाट हजारौँ युवाहरु काठमाडौँ आउन लागेको भन्दै समाजमा त्रास उत्पन्न गराएका प्रहरीको भनाइ छ । प्रहरीका अनुसार ‘विद्रोहले कसैको अनुमति माग्दैन’ भन्दै प्रहरी र प्रशासनलाई चुनौती दिएका उनी जसरी पनि भीड जम्मा गर्ने दाउमा थिए ।
प्रशासन र अदालतको आदेशपछि उनका समर्थकहरुले काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले प्रसाईंलाई तत्काल रिहाइको माग गर्दै नाराबाजी गरेका हुन् । प्रसाई नेतृत्वको नागरिक बचाउ अभियानका अन्य नेताहरुमाथि पनि प्रहरीले निगरानी राखेको बुझिएको छ ।