राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्व क्षमता माथि पेचिलो प्रश्न उठाउन सुरू गरिएको छ । स्थानीय तहका उप निर्वाचनमा सबै स्थानमा जमानत जफत भएको तथा समान विचारधारा भएका पार्टी र समुहसँग एकता एवम् मोर्चाबन्दी गर्न अस्वीकार गरेपछि अध्यक्ष लिङदेन माथि प्रश्न उठाउन सुरू गरिएको हो । असन्तुष्ट समूह लिङदेन नेतृत्वमा आपछि पार्टीलाई झन बढी क्षति पुगेको निश्कर्षका साथ आगामी केन्द्रिय समितिमा प्रस्तुत हुने भएका छन् ।
आगामी माघ ११–१२ गते बस्न गइरहेको केन्द्रिय समिति बैठकमा अध्यक्ष लिङदेनको नेतृत्व क्षमतामा प्रश्न उठाउने गरी असन्तुष्ट पक्षले तयारी गरिरहेको जानकारी प्राप्त भएको छ । हालै सम्पन्न केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा वरिष्ठ नेता पशुपति शमशेर राणाले स्थानीय तहको निर्वाचन परिणामले सिंगो राप्रपामा चिन्ता छाएको उजागरगरेपछि पार्टी भित्र नयाँ शिराबाट बहस सुरु हुन थालेको हो । ‘स्थानीय तहको उप निर्वाचनमा जुन मत राप्रपाले पाएको छ, त्यो सिंगो राप्रपा पंक्तिलाइ निराश बनाएको छ, ब्यक्तिगत रूपमा म त निकै नै चिन्तित छु,’ राणाले बैठकमा भनेका थिए ।
तर, अध्यक्ष लिङदेन पक्षधर प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले राप्रपाको मत नघटेको, बरू बढेको तर्क गरेपछि बैठकमा अन्य नेताले आपत्ति जनाएका थिए । मत घटेबढेको विषयमा केन्द्रिय कार्य सम्पादन समितिमा ठूलै बहस भएको गि.थयो ।
‘‘ज्ञानेन्द्रजीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मत बढेको तर्क गरे पनि राप्रपाले सबै स्थानीय तहमा गरी जम्मा ३ हजार ७१ मत मात्रै प्राप्त गरेको
तथ्यांकले देखाएको छ । सबै स्थानीइ तहमा पार्टीको लज्जास्पद जमानत जफत भएको छ,’ ती असन्तुष्ट पदाधिकारीले भने, ‘अब यो विषय केन्द्रिय समिति बैठकमा उठनेछ ।’
लिङदेनको जिल्लाबाट जम्मा २६ मत
उनका अनुसार स्थानिय तहका निर्वाचनमा केन्द्रिय कमाण्डर अर्थात अध्यक्ष लिङदेनले आफ्नै गृह जिल्लामा राप्रपाले जम्मा २६ मत मात्रै जोड्न सकेको छ । लिङदेनको गृह जिल्ला झापास्थित कन्काइ नपा–६ का वडा अध्यक्षका उम्मेदवार केशबबहादुर ओझाले जम्मा २६ मत मात्रै ल्याए पछि लिङदेनको नेतृत्व माथि पेचिलो थप प्रश्न उठेको हो । त्यहाँ लिङदेनले पार्टी प्रवक्ता तथा प्रदेश सांसद भक्ति सिटौलालाइ चुनावी कमाण्डर बनाएका थिए ।
‘कतिसम्म भने राप्रपाको वडा समिति ५१ सदस्यीय हुन्छ तर अध्यक्षको गृह जिल्लाको वडा अध्यक्षले जम्मा २६ मत मात्रै पाउँछन् । राप्रपाकै ४९ सदस्यको मत कता गयो ?’, एक पदाधिकारीले प्रश्न गरेका छन्, ‘जुलुसमा सहभागी मात्रैले भोट हालेको भए ५ सय मत नाघ्थ्यो तर किन कसैले हालेनन् ? यो प्रश्नको जवाफ अध्यक्षले अब केन्द्रिय समितिमा दिनु पर्छ ।’ आफ्नै गृह जिल्लामा ३० मत कटाउन नसक्ने अध्यक्षले सिंगो पार्टीको नेतृत्व गरेकाले पनि राप्रपामा समस्या देखा परिरहेको उनीहरूको तर्क छ ।
६ स्थानिय तहमा दोहोरो अंकमा आएन भोट
त्यसो त स्थानिय तहका ६ जना उम्मेदवारले त दोहोरो अंकमा पनि मत ल्याउन सकेनन् । जस्तो कि, तेह्थुमको लालिगुराँस–८ का वडा अध्यक्षका उम्मेदवारले जम्मा ४ मत, ओखलढुंगा मोलुङ–५ का वडा अध्यक्ष ३ मत, उदयपुर त्रियुगा–१२ का वडा अध्यक्षले ७ मत, सुनसरी डाक्नेश्वरी–४ का वडा अध्यक्षले ६ मत, महोत्तरी रामगोपालपुर–२ का वडा अध्यक्षले २ मत, गुल्मी मुसिकोट–१ का वडा अध्यक्ष ५ मत, जाजरकोट, कुसेँ गाउँपालिका–७ का वडा अध्यक्षले ८ मत मात्रै पाएका थिए ।
सहरिया मतदाताको विकर्षण
उसो त, राप्रपाको सहरिया मतदाताको पनि आर्कषण कम भएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौं उपत्यकामा उल्लेखनीय मत प्राप्त गरेको छ । तर लिङदेन नेतृत्व हुँदा कीर्तिपुरमा पार्टीका उम्मेदवारले जम्मा ९९५ मत मात्रै प्राप्त गरे भने वडा अध्यक्षका उम्मेदवार ६४ मतमा सीमित हुन पुगेपछि राप्रपामा भाँडभैलो मच्चिएको छ ।
उता, राजावादीका लागि सबैभन्दा राम्रो वडा मानिएको काठमाडौं–१६ मा वडा अध्यक्षका उम्मेदवारले जम्मा ७७४ मत ल्याए पछि राप्रपाप्रति सहरिया मत को पनि विकर्षण देखिएको ठम्याइ असन्तुष्ट नेताहरूको छ ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि राजावादीको शक्ति कमजोर हुँदै गएको आजबाट सुरू केन्द्रिय समिति बैठकमा उल्लेख गरेका छन् । ‘२०७९ को तुलनामा सम्बन्धित ठाउँमा मतदाताहरुको बदलिँदो रुझान, जनप्रतिनिधिप्रतिको असन्तुष्टि र नयाँ भनिने दल र राजावादी शक्तिहरुको खस्किँदो अवस्थालाई बुझ्न यसले केही आधार दिन्छ’ ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।
पार्टी एकता र मोर्चाप्रति अनुदार
अध्यक्ष लिङदेनले कमल थापा नेतृत्वका राप्रपा नेपालसहित साना राजावादी दलहरूसँग एकीकरण गरेर जानु पर्ने पार्टीभित्रको मतलाइ दबाउने गरेको जनाइएको छ ।
प्रकाश चन्द्र लोहनी, धवलशमशेर राणा मात्रै होइन, पशुपति शमशेर राणाले समेत बृहत पार्टी बनाउन एकीकरण प्रकिया सुरू गर्नुपर्ने धारणा राखेता पनि लिङदेनले नमाने पछि कुनै प्रकिया अघि बढन नसकेको पदाधिकारीहरू नै बताउँछन् ।
लोकेन्द्रबहादुर चन्दको पहलमा मुख्यतयाः राप्रपा नेपाललाई एकीकरण प्रक्रियामा ल्याउनु पर्ने भनेर पहल गरे पनि लिङदेन त्यसमा बाधक देखिएको उनीहरूको बुझाइ छ । ‘दिन दिनै जनमत खस्केर गएको अवस्था छ, जसका कारण उनको नेतृत्व पुर्णतयाः असफल भइसकेको छ,’ एक असन्तुष्ट पदाधिकारीले भने, ‘एकीकरण र मोर्चा गरेर भए पनि आन्दोलन अगाडी बढाऔं भन्दा उहाँ तयार हुनुहुन्न, पार्टी साँच्चै अनिर्णयको बन्दी अवस्थामा पुगेको छ ।’
उनका अनुसार माघ ११ गते देखि सुरू हुने केन्द्रिय समिति बैठकमा लिङदेनको नेतृत्व क्षमताका बारेमा बहस हुने लगभग पक्का भएको छ । खासमा उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन देश दौडाहामा निस्केको भएतापनि २ मतसमेतमा सीमित हुनु परे पछि लिङदेनमाथि प्रश्न बर्साउन खोजिएको एक नेताले बताए ।
पूर्वराजा पनि असन्तुष्ट
कमल थापालाइ साथ नदिएर लिङदेनलाइ साथ दिएकोमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि पश्चताप गरिरहेको बुझिएको छ । पूर्वराजाले निकटहरूसँग भन्ने गरेका छन्, ‘लिङदेन नेतृत्वमा आएपछि पार्टी विभाजन भयो, अन्य दलसँग सम्वाद र सहकार्य गर्ने कार्य पनि गरिएन, न कुनै सरोकारवालाहरूसँग उनले सम्बन्ध नै बढाए, भएको जनमत पनि घटेको तथ्यांकमा देखिएको छ, मलाइ लाग्दैन कि अब लिङदेनको नेतृत्वमा मुद्दा स्थापित हुनेछ ।’ अनौपचारिक सम्वादमा पूर्वराजाले नै लिङदेनबाट मुद्दा स्थापित त परै जाओस्, झन कमजोर हुँदै गएको गुनासो गर्ने गरेका छन् ।