राष्ट्रिय स्वतन्त्र पार्टी कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिने निर्णयबाट अन्ततः पछि हटेको छ । रास्वपाले हिजै मात्र कीर्तिपुर नगरपालिकाको मेयरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, आज उम्मेदवारी दिने समयसम्म आइपुग्दा रास्वपा आफ्नो पूर्ववत निर्णयबाट पछि हटेको हो ।
रमाइलो के भने रास्वपाले कीर्तिपुर नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्ने व्यक्तिहरुको उम्मेदवारी दरखास्त आव्हान गरेको थियो । जसमा रास्वपाकोतर्फबाट कीर्तिपुरको मेयरमा प्रतिस्पर्धा गर्न जम्मा एक जना जयराम कार्कीले मात्र दरखास्त दिएका थिए ।
कीर्तिपुरको घना सहरमा मेयरको उम्मेदवार हुन एक जनाले मात्र दरखास्त दिनु सायद रास्वपताको घट्दो लोकप्रियता सूचक हो । यही ठम्याइमा पुगेर होवा अन्य कारणले अन्ततः रास्वपा कीर्तिपुर नगरपालिकाको् मेयरमा उम्मेदवारी नदिने निर्णयमा पुगेको छ ।
मेयरमा मात्र होइन, रास्वपाले कीर्तिपुर नगरपाकिलाका वडा नं. एक र चार दुवै वडा अध्यक्षको प्रत्यासीमा पनि उम्मेदवारी नदिने भएको छ । रास्वपाका काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्टका भनाइमा पार्टीले खोजेको जस्तो उम्मेदवार नभएकाले कीर्तिपुरमा उम्मेदवारी नदिने निर्णय भएको हो । उनका अनुसार रास्वपाले काठमाडौँ महानगरको वडा नं. १६ मा भने उम्मेदवारी दिनेछ।
यता नेकपा (एमाले) ले भने मेयरमा सुरेन्द्र मानन्धर (विद्यावारिधि), वडा नं. एक को वडाअध्यक्षमा र हर्ष मर्हजन र वडा नंं चारमा बद्री बुढाथोकीको टीम सहित उम्मेदवारी दिएको छ ।