त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि करिब झण्डै पाँच महिनासम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गर्न लागिएको हो ।
प्राधिकरणमातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत सुदृढ गर्नेछ । सुदृढिकरणको काम पूरा गर्न १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ ।
विमानस्थल स्तरोन्नतिका लागि राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ बजेबाट राति २ बजेसम्म उडान अवतरण हँदै आएको थियो ।
नेपालमा हाल त्रिभुवन, गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थल छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ७४ वर्षअघि स्थापना भएको हो भने भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दुई तीन वर्ष अघि मात्र सञ्चालनमा आएका हुन् ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय विमानस्थलको २०७७ मा धावनमार्ग विस्तारगरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ देखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो ।
त्यसअघि २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना धावनमार्ग मर्मत गरिएको थियो । त्यसबेला आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो ।
विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् ।