पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज बिहीबार रूपन्देही पुगेकी छन् । धार्मिक एवम् सामाजिक भ्रमण र व्यक्तिगत भेटघाटका लागि भन्दै रूपन्देही पुगेकी भण्डारीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एमालेका नेता-कार्यकर्ताहरूले स्वागत गरेका थिए । भण्डारीसँग एमाले सचिव तथा पूर्वमन्त्री पद्या अर्याल, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ पनि साथमा छन्।
पूर्वराष्ट्रपति भण्डारीलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि होटल सिद्धार्थ भिलासासम्म ल्याउन एमाले नेता कार्यकर्ता पुगेका थिए । उनलाई सम्मान गर्न एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरी, केन्द्रीय सदस्य खिमलाल भट्टराई, लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल, प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे, नेताहरू दधिराम न्यौपाने, जिल्ला अध्यक्ष यज्ञ गैरे पुगेका थिए।
यस्तै, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, जो एमालेबाट निर्वाचित हुन्, एमाले जिल्ला उपाध्यक्ष हितराज पन्थी, अनेरास्ववियु, युवा संघ, पार्टीका गाउँनगर कमिटी अध्यक्ष तथा पदाधिकारी, अनेमसंघका नेतृहरु भण्डारीलाई भेट्न पुगेका छन्।
भण्डारी तीन दिनसम्म रूपन्देहीमा रहने कार्यक्रम छ । उनले त्यहाँ रहदा नेकपा एमालेका नेता कार्यकर्तासँग भेटघाट गर्ने, लुम्बिनी र भैरहवामा हुने केही धार्मिक सामाजिक कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ।
तालिका अनुसार भोलि शुक्रबार पूर्वराष्ट्रपति भण्डारीले लुम्बिनीमा आयोजित एक कार्यक्रममा सहभागी हुने र त्यसपछि दिउँसो २ बजेदेखि साढे तीन बजेसम्म एमाले नेता कार्यकर्तासँग भेटघाट गर्ने छिन्।
दिउँसो साढे तीन बजे त्रिवेणीधाममा धार्मिक यात्राका लागि निस्किने र त्यहाँबाट फर्किएपछि बेलुका ८ बजेदेखि १० बजेसम्म पुनः भेटघाटमा व्यस्त रहने कार्यक्रम छ । १६ गते शनिबार बिहान ११ बजेदेखि बेलुका साढे ६ बजेसम्म भैरहवामा हुने महिला नेतृहरूबीचको अन्तरसंवाद कार्यक्रममा सहभागी जनाई १७ गते उनी काठमाडौं फर्किने कार्यतालिका छ।
पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा संलग्न हुन खोजेको आरोप लाग्दै आएको छ । यद्यपि उनी अहिलेसम्म खुलेर एमालेको राजनीतिमा देखिएकी छैनन् । भण्डारीले भित्रभित्र आफ्नो पक्षमा माहोल बनाइरहेको एमाले नेताहरू बताउँछन्।
एमालेको ११ औं महाधिवेशनबाट समेत अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिन चाहिँरहेका छन् । भण्डारीको चाहनामा ओली नै अवरोधक बन्न खोजेको आरोप लागिरहेको छ ।