एक करोड रुपैयाँ भ्रष्टाचार मुद्दाका अभियुक्त एवं सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी धरौटीमा छुटेका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले सोडारीसँग आज सोमबार बयान लिएको थियो। बयानपछि थुनछेक बहस हुँदा उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोले गत जेठ १९ गते सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको थियो । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशका सांसद सोडारीले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति थुपारेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
उनले ०८१ वैशाख ६ गतेदेखि ०८१ साउन २० गतेसम्म मुख्यमन्त्रीको कार्यभार सम्हालेका थिए। कैलाली क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सांसदमा दोस्रोपटक निर्वाचित सोडारीले प्रदेश सरकारमा सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको समेत नेतृत्व गरेका थिए।