विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले २३ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा २३ बुँदे घोषणा सार्वजननिक गरिएको हो । नेकपा (माओवादी केन्द्र) का निवर्तमान महासचिव देव गुरुङले नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न १० वटा छोटोमोटे घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी घोषणा गरिएको हो । पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल तोकिएका छन्।
प्रचण्ड र नेपाल दुवै विरुद्ध भ्रष्टाचारमा उजुरी र मुद्दा दर्ता छ । प्रचण्ड विरुद्ध लडाकू शिबिरको भ्रष्टाचार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता छ भने न्पाल विरुद्ध पतन्जली जग्गा काण्डमा अख्तियारले विशेष अदालतमा मुद्दा नै दायर गरेको छ । उक्त मुद्दामा उनी ३२ लाख धरौटी बुझाएर बाहिरिएका थिए ।