Connect with us

राजनीति

प्रधानमन्त्री स्वार्थ समूहको प्रभावमा परेको निवर्तमान सचिवालय सदस्यहरुको जिकिर

Published

on

प्रधानमन्त्री सुशीला कार्की स्वार्थ समूहको प्रभावमा परेको सचिवालयबाट निकालिएकाहरूको जिकिर छ । युवा तथा सामाजिक विज्ञ प्रदीप ज्ञवाली, सूचना तथा प्रविधि विज्ञ अरुण कटुवाल र शाखा अधिकृत आकृति घिमिरले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त गम्भीर आरोप लगाएका हुन् । आफूहरूले सचिवालयमा आफन्त भर्ती लगायतका विषयमा आवाज उठाउँदा निकालिएको उनीहरूले बताएका छन् ।

‘भदौ २३ को जेन–जी आन्दोलन सबैखाले भ्रष्टाचारका विरुद्ध थियो । जेन–जी आन्दोलनको अग्रमोर्चामा रहेर हामीले पनि नैतिक भ्रष्टाचार, नातावाद र कृपावादविरुद्ध नारा लगाएका थियौँ । यसकारण जेन–जी आन्दोलनपछि गठन भएको यो संक्रमणकालीन सरकार सञ्चालनको क्रममा, आन्दोलनको मर्मविपरीत नातावाद र कृपावादलाई प्रशय दिने नियुक्तिमा हाम्रो समर्थन रहने कुरै भएन,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले यसको आलोचना र विरोध दुवै गर्‍यौँ । तत्पश्चात् सम्माननीयज्यूलाई प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले नै घेराबन्दीमा पारी प्रतिशोध साँधेर हामी तीन जनाकै नियुक्ति खारेजी गरिएको हो भन्नेमा कुनै दुविधा रहेन ।’

‘सम्पूर्ण टिम नै बदलिएको हो’ भन्ने भावमा नियुक्तिहरू खारेज गरिएको भए पनि केहीबाहेक अरुले काम नगरेको उनीहरूको भनाइ छ । ‘हामीले आजसम्म सचिवालयमा नियुक्त भएका प्रमुख स्वकीय सचिव, प्रमुख सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस सल्लाहकार र फोटोग्राफरबाहेक अरू कसैले कार्यालयमा काम गरेको देखेका थिएनौँ । हामीले उल्लिखितबाहेकका अन्य नियुक्त व्यक्तिहरूलाई न कहिल्यै बालुवाटारमा देख्यौ न सिंहदरबारमा,’ जारी विज्ञप्तिमा भनिएको छ ।

‘हामी तीन जनाले भने यो बीचमा एकदिन पनि गयल नभइकन आफ्नो काम अहोरात्र खटिएर गरेका छौँ । तर जब हामीले नातावादको विरोध गर्‍यौँ, तब मुख्य संदिग्धलाई नभई हामीलाई बर्खास्त गर्नुले सम्माननीय प्रधानमन्त्री कुनै एक व्यक्ति वा व्यक्तिगत स्वार्थ समूहको चंगुलमा परेको हामीलाई आभास भएको छ । त्यसका साथसाथै हामीले नागरिक सरकार गठन भएर नियुक्ति लिएपश्चात गरेको हाम्रो कामको समेत अवमूल्यन र अवहेलना भएको महसुस भएको छ,’ विज्ञप्तिमा थप उल्लेख छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.