सङ्घीय राजधानी काठमाडौँको मुटु मानिने पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ ‘भ्यु टावर’ समयमै सम्पन्न नहुँदा सहरको सौन्दर्य र व्यवस्थापनमा गम्भीर असर परेको छ । मुख्यतया बहुउद्देश्यीय व्यावसायिक कम्प्लेक्स तथा व्यवस्थित बस टर्मिनलको उद्देश्यले निर्माण सुरु गरिएको यस टावरको निर्माण स्थल लामो समयदेखि जस्तापाताले घेरिएको र अधुरो कङ्क्रिट संरचना अस्थिपञ्जर जस्तो देखिन्छ । यसका कारण सहरको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार, पर्यटकीय केन्द्र रत्नपार्क क्षेत्रसहित महानगरको सौन्दर्य नै कुरूप बनाएको छ । भ्यु टावर भन्दै होचो भागमा गरिएको निर्माणलाई काठमाडौँ महानगरपालिकाले ‘मेगा प्रोजेक्ट’ नाम दिएको छ ।
पहिले खुला रहेको उक्त बसपार्क क्षेत्र अहिले घेराबन्दीमा पर्दा र नजिकैको रत्नपार्क (टुँडिखेल घेराबाहिर) क्षेत्रलाई जथाभाबी बसपार्कका रूपमा प्रयोग गर्नुपर्दा सहरको खुलापन र हरियालीमा समेत असर छ । पुरानो बसपार्क विस्थापित भई यात्रु र सवारीसाधनले बर्सौंदेखि सास्ती भोग्नु परिरहेको छ । २०७१ सालमा सम्झौता भई २०७२ कात्तिकमा शिलान्यास गरिएको यो आयोजना एक दशकभन्दा बढी समय बितिसक्दा पनि अझै पूर्ण भएको छैन । अहिलेसम्म ७० प्रतिशत काम सकिएको महानगरको दाबी छ । प्रस्तावित १९ तलाको यो भवन अहिले १३ औँ तलासम्म बनेर काम ठप्प रहेको यो संरचना अलपत्र छ ।
काठमाडौँ महानगरको स्वामित्वमा रहेको सो टावरको निर्माण एक दशकसम्म अलपत्र पर्दा पनि उक्त आयोजनालाई के कसरी अगाडि बढाउने विषयमा महानगर अझै स्पष्ट कार्यदिशा तय गर्न सकेको छैन । महानगर अलमलमै परेको देखिन्छ । यो आयोजनालाई अगाडि बढाउने, रोक्ने वा भत्काउने विषयमा महानगर अझै स्पष्ट हुन सकेको छैन ।
काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौँ भ्यु टावरको विषय छलफलकै क्रममा रहेको बताउँदै अहिलेसम्म यसबारे कुनै निर्णयमा पुग्न नसकिएको जानकारी दिए । उनका अनुसार सो टावरको निर्माण अगाडि बढाउने वा भत्काउनेबारे छलफल भइरहेको छ । त्यसै गरी काठमाडौँ महानगरपालिकाको प्रशासन विभाग प्रमुख महेश काफ्लेले सो टावरबारे महानगर छलफलमा नै रहेको र अहिलेसम्म कुनै निर्णयमा पुग्न नसकिएको जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मनान्धरले उक्त भवन निर्माणबारे अहिले केही पनि काम जारी नरहेको र महानगरले कुनै निर्णय गर्न नसकेको बताउँदै निर्माणको ठेक्का पाएको निर्माण कम्पनी नै सम्पर्कमा नरहेको जानकारी दिए । उनका अनुसार निर्माण कम्पनी विगत एक वर्षदेखि महानगरको सम्पर्कमा छैन । जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले सो टावर निर्माणको ठेक्का पाएको हो ।
अदालतको आदेश
सो टावरको निर्माण अगाडि बढाउन काठमाडौँ महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी भएको एक वर्ष पुग्न लाग्दा पनि काम सुरु हुन सकेको छैन । उच्च अदालत पाटनले पुरानो बसपार्कस्थित काठमाडौँ ‘भ्यु टावर’ निर्माण अगाडि बढाउन २०८२ असार २५ गते काठमाडौँ महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको थियो । उच्च अदालत पाटनका तत्कालीन न्यायाधीश प्रकाश खरेलको एकल इजलासले सो अन्तरिम आदेश जारी गरेको थियो ।
आदेशमा भनिएको छ, “निवेदकले सम्झौताबमोजिम प्राप्त गरेको नक्सा पासको अनुमति र निर्णय यथावत् रहेको परिप्रेक्ष्यमा सम्झौताबमोजिम भवन निर्माण कार्यलाई निरन्तरता दिनु वाञ्छनीय देखिएको छ ।” अदालतको आदेशसँगै निर्माण कम्पनीलाई निरन्तरता दिन कानुनी बाटो खुले पनि निर्माण कम्पनीले अहिलेसम्म काम सुरु गर्न सकेको छैन ।
महानगरले निर्माण कार्य रोक्न निर्देशन दिएपछि ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले कानुनी बाटो खोज्दै पाटन उच्च अदालतमा रिट दायर गरेको थियो । काठमाडौँ महानगरपालिकाले २०८१ माघ ९ गते पत्र जारी गर्दै टावर निर्माण रोक्न निर्देशन दिएको थियो । २०७२ को भूकम्पपछि १२ तलाको नक्सा पास भए पनि पछि १९ तलासम्मको टावर निर्माण गर्न खोज्दा महानगरभित्र नक्सा पाससम्बन्धी विवाद र छानबिन नै चलेको थियो । भूमिगत दुई तलासहित कुल १२ तलाको भ्यु टावर निर्माण गर्ने नक्सा स्वीकृत छ । उक्त टावरको डिजाइन केज कन्सल्टले तयार गरेको थियो ।
व्यवस्थित बसपार्क र पार्किङ, आधुनिक भूमिगत बस टर्मिनल, बैङ्क, वित्तीय संस्था, स्वास्थ्य सुविधा, रेस्टुरेन्ट, सिनेमा हल र पुस्तकालयलगायतको सेवा सञ्चालन गर्न सकिने व्यावसायिक केन्द्र, पर्यटकीय आकर्षण बढाउन टावरको माथिल्लो तलाबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न मिल्ने उद्देश्यससहित यस टावरको निर्माण सुरु गरिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता मनान्धरले जानकारी दिए । कुल २३ रोपनी पाँच आना जग्गामा फैलिने उक्त टावरमा करिब ६० प्रतिशत खुला स्थान, बगैँचा र मनोरञ्जनका सामग्री राख्ने योजना छ ।
भउचप्रसाद यादव/गोरखापत्र