नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आउँदो जेठ ३ गते मदन–आश्रित स्मृति दिवस मनाउन मातहतका कमिटीलाई निर्देशन दिएका छन् ।
एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज भएको बैठकमा महासचिव पोखरेलले पार्टी र जनतालाई जोड्ने अवसरमा रूपमा पनि स्मृतिको दिनलाई लिन आग्रह गरे । तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस देशभर मनाउन एमालेले तयारी गरेको हो ।
महासचिव पोखरेलले प्रदेश तथा जिल्ला कमिटी र जनसङ्गठनलाई पार्टीको विचार, नेताद्वयको योगदान र जनतासँग पार्टीको सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो अनुकूलतामा स्मृति कार्यक्रम आयोजना गर्न निर्देश गरेका हुन् ।
बैठकमा पार्टीका सचिव तथा जनसङ्गठन समन्वय संयोजक भानुभक्त ढकाल, पार्टी सचिव तथा राजधानी विशेष प्रदेश इन्चार्ज डा राजन भट्टराई, विभिन्न जनसङ्गठनका अध्यक्ष, राजधानीका पार्टी कमिटी तथा सम्पर्क कमिटीका अध्यक्षको सहभागिता रहेको थियो ।
केन्द्रस्तरमा मदननगर बल्खुमा स्मृति कार्यक्रम आयोजना गरिने एमालेले जनाएको छ । जिल्लास्तरमा मदन–आश्रितका योगदानको चर्चो, विचार गोष्ठी, सञ्चारमाध्यममा जनताको बहुदलीय जनवादका बारेमा परिसंवादलगायत कार्यक्रम प्रस्ताव गरिएको एमालेको केन्द्रीय कार्यालयले जनाएको छ ।
यसैगरी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, कैदीबन्दी भेट्ने, अस्पतालमा बिरामी भेट्ने तथा फलफूल वितरण गर्ने र मदन–आश्रितका तस्बिर सार्वजनिक स्थलमा सजाएर राख्न पनि निर्देशन दिइएको छ ।
जननेता भण्डारी र नेता आश्रितको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा निधन भएको थियो ।