Connect with us

समसामयिक

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधि विकास

Published

on

बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ ।
खेर गइरहेको विद्युत् र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चुलो बाल्न थालिएको हो । नमूना परियोजनाका रूपमा तीन वर्षअघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको छ । परियोजनाअन्तर्गत उत्पादन गरिएको ग्यासबाट चुलो बालेर सजिलै खाना पकाउन सकिने देखिएको छ ।
त्रिभुवन विश्वविद्यालयसहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो । परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढाउने जनाएको छ ।
बडिगाड गाउँपालिका–२ स्थित गिरिङ्दिखोला लघु जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् प्रयोग गरी हाइड्रोजन ग्यास निकालिएको हो । विसं २०६६ मा स्थापना भएको उक्त लघु जलविद्युत् आयोजनाको विद्युत् खपत नभई खेर गइरहेको अवस्थामा त्यसैलाई उपयोग गरेर नयाँ प्रविधिको परीक्षण गरिएको हो ।
तीन वर्षदेखि सात वटा साझेदार तथा प्राविधिक संस्थाको सहकार्यमा गरिएको अध्ययनबाट हालसम्म आठ वटा सिलिण्डरमा हरित हाइड्रोजन ग्यास भरिएको छ । एक वर्षअघि गरिएको प्रारम्भिक परीक्षण सफल भएपछि अहिले सिलिण्डरमा सुरक्षित रूपमा भर्ने कार्य थालिएको हो ।
नेपाल इनर्जी फाउण्डेसनका अध्यक्ष मोहनदास मानन्धरका अनुसार पानीमा रहेको अक्सिजन अलग गरी हाइड्रोजन मात्रै निकालेर सिलिण्डरमा भर्ने प्रविधि प्रयोग गरिएको हो । आवश्यकताअनुसार उक्त ग्यास चुलोमा प्रयोग गर्न सकिने उनले बताए ।
नेपाल इनर्जी फाउण्डेसन, ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल, एसएण्डएओ कम्पनी लिमिटेड युके र एचएसएलयु स्विटजरल्याण्ड साझेदार तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौँ, बडिगाड गाउँपालिका र गिरिङ्दिखोला लघु जलविद्युत् आयोजनाकोे सहकार्यमा विभिन्न देशका वैज्ञानिक तथा प्राविधिकहरुको सहयोगमा खाना पकाउनका लागि हाइड्रोजन ग्यास उत्पादन गरिएको हो ।
उत्पादन गरिएको हाइड्रोजन ग्यासबाट चुलो बालेर हिजो शुक्रबार गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले परियोजनाको उद्घाटन गरेका थिए । मन्त्री शेरचनले हरित हाइड्रोजनले वातावरण संरक्षण, विद्युत् खपत वृद्धि तथा स्वदेशी ऊर्जाबाट खाना पकाउने सम्भावना बढाउने भएकाले यस्ता परियोजनालाई राज्यले नीतिगत रूपमा अघि बढाउनुपर्ने बताए ।
नेपाल इनर्जी फाउण्डेसनका व्यवस्थापक डिल्ली घिमिरेका अनुसार उत्पादन गरिएको ग्यास सुरक्षित रूपमा सिलिण्डरमा भर्ने विषयमा मात्रै १८ महिना अध्ययन गरिएको थियो । एक केजी हाइड्रोजन ग्यासले सानो परिवारलाई करिब एक सातासम्म खाना पकाउन पुग्ने उनको भनाइ छ ।
गिरिङ्दिखोला लघु जलविद्युत् सहकारीको ७५ किलोवाट क्षमताको आयोजनाको पुनर्निर्माण, भवन तथा कुलो मर्मतदेखि ग्यास उत्पादनसम्म आइपुग्दा अध्ययनबाहेक करिब एक करोड खर्च भइसकेको घिमिरेले बताए ।
गिरिङ्दिखोला लघु जलविद्युत् सहकारीका अध्यक्ष बेलबहादुर थापाले खेर गइरहेको विद्युत्लाई उपयोग गरी उपभोक्ताका लागि खाना पकाउने इन्धन उत्पादन गरिएको बताउँदै अब नागरिकको पहुँचभित्र पर्ने सुरक्षित सिलिण्डर विकास र विस्तारका विषयमा अध्ययन गरिने जानकारी दिए । स्थानीय विष्णु अर्यालले हाइड्रोजन इन्धनबाट पकाएको खाना स्वादिलो हुनुका साथै खाना छिटो पाक्ने अनुभव सुनाए ।

Continue Reading

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.