Connect with us

समसामयिक

मेची–महाकाली उद्धार यात्राबाट ४८ सडकआश्रित मानव उद्धार

Published

on

मानवसेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत कोशी प्रदेशबाट ४८ जनाको उद्धार गरिएको छ ।

सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरिएकामध्ये ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । झापाबाट नौ जनाको उद्धार गरिएकामा चार पुरुष, पाँच महिला, मोरङबाट सात जना जसमा छ पुरुष, एक महिला र सुनसरीका विभिन्न ठाउँबाट ३२ जनाको उद्धार गरिएको छ । जसमा २६ पुरुष र छ जना महिलाको उद्धार गरिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिएका छन् ।

उद्धार गरिएका सडक आश्रित मानवहरूलाई मानवसेवा आश्रमका विभिन्न शाखामा सुरक्षित संरक्षणका लागि पठाइएको उनले बताए । जसमध्ये १५ जनालाई झापा शाखा, १२ जनालाई विराटनगर शाखा तथा २१ जनालाई धरान शाखामा राखिएको छ ।

वर्षायाम नजिकिँदै जाँदा सडकपेटी, मन्दिर परिसर, सार्वजनिकस्थल तथा खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी मानवहरूको उद्धारलाई तीव्र बनाइएको अधिकारीको भनाइ छ । वर्षात्को समयमा कसैले सडकपेटीमा बस्न नपरोस् भन्ने उद्देश्यसहित सञ्चालन गरिएको यात्राले विभिन्न जिल्लामा सकारात्मक सन्देश प्रवाह गरिरहेको उनले बताए ।

उद्धार गरिएका सडकआश्रित मानवहरूको आश्रय, भोजन, स्वास्थ्योपचार, मानसिक तथा भावनात्मक सहजीकरणका साथै सम्भव हुने व्यक्तिहरूको पारिवारिक पुनर्मिलनसमेत गरिँदै आएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा वैशाख २९ गते झापाको काँकरभिट्टास्थित मेची पुलबाट सुरु गरिएको यात्रा मोरङ र सुनसरी हुँदै कोशी प्रदेशको तीनदिने कार्यक्रम सम्पन्न गरी आज (शुक्रबार)देखि मधेस प्रदेशमा केन्द्रित हुने जनाइएको छ ।

उद्धार अभियान यही जेठ २२ गतेसम्म सञ्चालन हुनेछ । अभियानमा आनी छोइङ डोल्मासहित २४ जना स्वयंसेवक टोली सहभागी छन् । परिवार वा आफन्तको आश्रय पाउन नसकी सडकमा जीवन बिताइरहेका नागरिकको उद्धार गरी विभिन्न जिल्लास्थित आश्रममा पुनःस्थापित गरिँदै आएको अध्यक्ष अधिकारीले बताए । हाल मानवसेवा आश्रमका सातै प्रदेशका १९ जिल्लामा २३ शाखा सञ्चालनमा छन् ।

Continue Reading

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.