कृषि ‘गेम रियालिटी शो’ ‘रिभोलुसनरी एग्रिकल्चर वार’ (आरएडब्लु) ले ‘रियालिटी शो’को इतिहासमा पहिलो पटक ‘वृक्षारोपणमा आधारित’ नवीन भोटिङ प्रणाली सार्वजनिक गरेको छ ।
हिजो शुक्रबार बौद्धस्थित उत्पल क्याफेमा आयोजित एक कार्यक्रमका बीच ’आरएडब्लु बोटः एक बोट, एक भोट’ अभियानको घोषणा गरिएको हो ।
यो प्रणाली अन्तर्गत समर्थकहरूले आफूले मन पराएको प्रतियोगीलाई भोट दिनका लागि अनिवार्य रूपमा एउटा बिरुवा रोप्नुपर्नेछ। प्रत्येक रोपिएको बिरुवालाई एक आधिकारिक भोटको रूपमा गणना गरिनेछ ।
कार्यक्रमले यसलाई केवल भोटिङ मात्र नभई जलवायु परिवर्तन र दिगो विकासको साझा लक्ष्यमा सहभागी हुने महाअभियानको रूपमा व्याख्या गरेको छ। यस प्रक्रियाबाट सबैभन्दा धेरै भोट प्राप्त गर्ने प्रतियोगीलाई ‘आरएडब्लु क्लाइमेट अवार्ड’ बाट सम्मानित गरिने आयोजकले जनाएको छ ।
कार्यक्रमको परिकल्पनाकार तथा निर्देशक शैलेश कँडेल क्षेत्रीले आरएडब्लु केवल एउटा शो मात्र नभई किसानलाई सेलिब्रेटी बनाउने र माटोलाई पवित्र मान्ने वैचारिक आन्दोलन भएको बताए ।
करिब ६ वर्षको लामो अनुसन्धान र तयारीपछि सुरु भएको यस शोको पहिलो सिजनको ग्रान्ड फिनाले आगामी असार १५ गते ’राष्ट्रिय धान दिवस’ को अवसर पारेर आयोजना गरिने घोषणा गरिएको छ। नेपालको ७७ वटै जिल्लाबाट १,६०० भन्दा बढी कृषक र कृषि प्राविधिकहरूको आवेदन परेको यस प्रतियोगितामा अहिले शीर्ष ३ किसान र शीर्ष ३ कृषि प्राविधिक अन्तिम प्रतिस्पर्धामा पुगेका छन् ।
कार्यक्रमले आफ्नो यात्राका क्रममा १०५ भन्दा बढी विद्यालयका १५,००० विद्यार्थीसँग प्रत्यक्ष अन्तरक्रिया गरेको छ भने २०० भन्दा बढी नीति निर्माताहरूलाई किसान स्वयंले लेखेको नीतिगत पुस्तक हस्तान्तरण गरिसकेको छ । साथै, २७ देशको प्रतिनिधित्व रहने गरी यसको एक अन्तर्राष्ट्रिय एपिसोड भारतमा समेत छायाङ्कन गरिएको छ ।
पुराना नायक राजेश हमाल ’महाहोस्ट’ को रूपमा रहेको कार्यक्रमलाई जेबिका कार्कीले संचालन गरेकी थिइन्। पूर्वकृषि सचिव डा. योगेन्द्र कुमार कार्की मुख्य निर्णायक रहेको मण्डलमा कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे, रामशरण तिमल्सिना र विज्ञापन विज्ञ रञ्जित आचार्य रहेका छन्। कार्यक्रमलाई प्राविधिक रूपमा सघाउन त्रिभुवन विश्वविद्यालय, नार्क र कृषि तथा वन विज्ञान विश्वविद्यालयका विशेषज्ञ प्राध्यापकहरूले विषयविज्ञ निर्णायकको भूमिका निर्वाह गरिरहेका छन्।