Connect with us

राजनीति

बिचौलिया भट्टमाथि तीन कसुरमा छानबिन गर्दै सिआइबी

Published

on

सिआइबीले भट्टविरुद्ध बिमासम्बन्धी कसुर, धितोपत्रसम्बन्धी कसुर र बैंकिङ कसुरमा अनुसन्धान गरिरहेको छ
बिचौलिया दीपक भट्टमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि छानबिन अघि बढाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्टमाथि सिआइबीले थप तीन कसुरमा छुट्टै छानबिन अघि बढाएको हो ।

ब्युरोका अनुसार भट्टविरुद्ध बिमासम्बन्धी कसुर, धितोपत्रसम्बन्धी कसुर र बैंकिङ कसुरमा अनुसन्धान भइरहेको छ । उनलाई सिआइबीले नै गत १९ चैतमा सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ गरी विभागमा बुझाएको थियो । विभागले भट्टमाथिको अनुसन्धान अन्तिम चरणमा पुर्‍याइसकेको छ । सिआइबीको अनुसन्धान भने जारी नै रहेको एआइजी मनोज केसी बताउँछन् । ‘दीपक भट्टमाथि तीन कसुरमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘उनीसँग जोडिएका व्यक्तिहरू पनि अनुसन्धानमै छन् ।’

भट्टसँगै शंकर ग्रुपका व्यवसायी सुलभ अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । ती कसुरमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका अन्य व्यक्तिमाथि पनि छानबिन भइरहेको सिआइबीले जनाएको छ ।

बिमा ऐनअनुसार कारबाही गर्न बिमा प्राधिकरणले नै सिआइबीलाई पत्राचार गरिसकेको छ । भट्टले बिमा ऐनको खिलाप हुने गरी हिमालयन रिइन्स्योरेन्सको रकम आफ्नो र आफन्तको खातामा ट्रान्सफर गराएका थिए । त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीको मूल्य कृत्रिम रूपमा बढाउने भूमिका खेलेको प्राधिकरणको छानबिनले देखाइसकेको छ । जसमा धितोपत्रसम्बन्धी कसुरअनुसार छानबिन अघि बढेको हो ।

प्राधिकरणको जाँचबुझ प्रतिवेदनअनुसार नेपाल रिको सेयर अग्रिम रकम नलिई किनबेच गर्न दिइएको थियो । धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम अग्रिम रकम कम्तीमा २५ प्रतिशत प्राप्त नगरी कारोबार गर्न नहुने उल्लेख छ ।

धितोपत्र कारोबार राफसाफ तथा फर्स्योट विनियमावली, २०६९ को विनियम १३ बमोजिम कारोबार भएको दिनबाहेक दुई कार्यदिनमा राफसाफ तथा फर्स्योट गरे पनि धितोपत्र सोही विनियमावलीको विनियम १६ र १७ बमोजिम खरिदकर्ता ग्राहकबाट रकम लिने र बिक्रीकर्ता ग्राहकलाई रकम दिने कार्य गरेको नदेखिएको भन्दै धितोपत्रसम्बन्धी कसुरमा कारबाहीको सिफारिस भएको हो । यसमा व्यवसायी शेखर गोल्छाको पनि मिलेमतो देखिएको भन्दै सिआइबीले उनलाई पक्राउ गरेको थियो । गोल्छा भने हाजिरी जमानीमा छुटिसकेका छन् ।

नेपाल रिको सेयर मूल्य बढाउन दीपक भट्ट र उनको समूहले नेपाल स्टक एक्सचेन्जको प्रणालीलाई नै झुक्याएको समेत अभियोग छ । भट्ट, भृकुटी स्टक ब्रोकिङ र गोल्छासमेतको मिलोमतोमा नेपाल रिको सेयर मूल्य बढाउने प्रपञ्च रचेको प्रतिवेदनमा उल्लेख छ ।

यसरी सेयर खरिद–बिक्रीका लागि रकम लेनदेन नगर्ने कार्यबाट बजारमा नेपाल रिको सेयर मूल्यमा कृत्रिम माग सिर्जना गरिएको जाँचबुझ प्रतिवेदनमा खुलेको छ । नेपाल रिको सेयर मूल्य ५ साउनको दिउँसो १२ः५६ मा एक हजार ४६१ रुपैयाँबाट १० भदौको दिउँसो ३ः५९ सम्ममा एक हजार ६८६ रुपैयाँ १० पैसासम्म पुर्‍याएको देखिन्छ । यसबाट लगानीकर्ता तथा दोस्रो बजार प्रणालीलाई झुक्याई नेपाल रिको सेयरको मूल्य बढाउने प्रपञ्च रचिएको ठहर छ ।

त्यस्तै, भट्टले जगदम्बा स्टिल्सले हिमालयन बैंकबाट लिएको कर्जा दुरुपयोग गरेका थिए । सो कम्पनीका नाममा एक अर्ब २६ करोडबराबरको ऋण स्वीकृत गरिएको थियो । त्यसमध्ये ३८ करोड ८१ लाख जगदम्बा स्टिल्सको व्यावसायिक चल्ती खाताबाट कम्पनीका अध्यक्ष शंकरलाल अग्रवालले भट्टलाई रकमान्तर गरेर बैंकिङ कसुर गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनबाट पनि प्रस्ट भएको छ । शंकरलाललाई सम्पत्ति शुद्धीकरणले बयान लिई हाजिरी जमानीमा राखेको छ । एक वर्षअघि नै उनले बैंकको रकम अपचलन गरेको खुलिसकेको थियो ।

त्यसवेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्र बैंकलाई लेखेको पत्रमा भनिएको छ, ‘उक्त कम्पनीका अध्यक्ष शंकरलाल अग्रवालले दीपक भट्टलाई रकमान्तर गरेको २० करोड रुपैयाँ व्यवसायका लागि लिएको ऋणको दुरुपयोग गरी बैंकिङ कसुर गरेको हुन सक्ने भन्ने उल्लेख भएको र सो विषय अनुसन्धान तथा कारबाहीका लागि साधिकार निकायमा पठाइएको भन्नेसमेत देखिन नआएको, सो सम्बन्धमा मूलतः नियामक निकायको हैसियतले नेपाल राष्ट्र बैंकबाट निरीक्षण तथा सुपरिवेक्षण हुनुपर्ने देखिन्छ भने बैंकिङ कसुरमा कारबाही गर्न सक्षम निकाय विभाग नभएकाले नियमनरसुपरिवेक्षणलगायतका जेरजे हुनुपर्ने हो सो गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउनुपर्ने जिम्मेवारी वित्तीय जानकारी इकाइमा समेत निहित रहेको नै मान्नुपर्ने देखिन आयो ।’ विगतमा सत्ताको दबाबले अनुसन्धान रोकिँदै आएकोमा अहिले अघि बढेको हो ।

यसपटक पनि सम्पत्ति शुद्धीकरणको मुद्दा भने अस्वाभाविक रूपमा लम्बिएको छ । पक्राउ गरेकै वेला भट्टमाथिको अनुसन्धान अन्तिम चरणमा पुगिसकेको थियो । तर, डेढ महिना हुँदा पनि मुद्दा दायर हुन सकेको छैन । भट्टले अझै पनि आफूमाथिको अभियोग कमजोर बनाउन चलखेल जारी राखेको स्रोत बताउँछ ।
नवराज मैनाली/नयाँ पत्रिका

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.