संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगो लागेको छ । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २-२ तथा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १-१ जना सदस्य छन् ।
नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती, नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहने टुंगो लागेको हो ।
आज सभामुख देवराज घिमिरेसँगको छलफल दलहरुले आआफ्नो पार्टीबाट सदस्यहरुको नामावली दिएका थिए । ती नामावली सभामुखको सचिवालयले सार्वजनिक गरेको छ ।
सभामुख घिमिरेले आजको प्रतिनिधि सभा आजको बैठकमा ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’मा रहने सदस्यहरुको नाम औपचारिक रुपमा जानकारी दिँदैछन् ।