रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आधिकारिक उम्मेदवार घोषणा गरेपछि आन्तरिक पक्रिमा चरम असन्तुष्टि देखिएको छ। जबकि नौ जनामध्ये जो उम्मेदवार भएपनि आन्तरिक कलह नदेखाउने सहमतिमा हस्ताक्षर भएको थियो । यस विपरित उम्मेदवार छान्ने क्रममा त्रुटी भएको दाबी गर्दै केन्द्रीय नेताहरुले छानबिनको माग गरेका छन्।
‘प्राइमरी इलेक्सन’मा प्रतिस्पर्धा गरेका नौ जना आकांक्षीमध्ये पार्टीले हिजो डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवार घोषणा गरेको थियो । तर थापामाथि बहुविवाहदेखि गोप्य बैठकसम्बन्धी कुरा रेकर्ड गरेर बाहिर ल्याएसम्मको आरोप छरपष्ट भएको छ । ती आरोपहरू सार्वजनिक भएपछि वनस्थलीस्थित घण्टी घरमा राखिएको पत्रकार भेटघाट कार्यक्रम स्थगित गरिएको छ ।
पार्टी केन्द्रीय सदस्य गणेश कार्कीले उम्मेदवार छान्ने प्रक्रियामा केही त्रुटी हुनसक्ने टिप्पणी गरेका छन्। उनले भने, ‘प्रक्रियामा कुनै त्रुटी भएको जस्तो लाग्दैन र अहिले पनि पूर्ण रूपमा त्रुटी भएको धारणा बनेको छैन, तर केही कमजोरी हुन सक्छन्, जसको छानबिन र निष्कर्ष आवश्यक छ। यसले नयाँ प्रणाली निर्माणमा शंका बढाउँछ। त्रुटी हुने वा भएको आशंका भए पनि त्यसको निरूपण नहुँदा समस्या थुप्रिन सक्छ र समाधान गर्न कठिन हुन्छ।’
कार्कीका अनुसार उम्मेदवार छनौट प्रक्रिया सकेसम्म लोकतान्त्रिक र प्रतिस्पर्धी हुनुपर्छ। उनले थपे, ‘लोकतन्त्र भनिए पनि उम्मेदवारहरू गोजीबाट निकालिने परिपाटीले व्यवस्थामा केही व्यक्ति र समूह हाबी भएको देखिन्छ ।’
कार्कीले पहिले समानुपातिक सांसद छान्ने प्रक्रियामा देखिएको त्रुटीसमेत स्मरण गराएका छन् । ‘पार्टीको समानुपातिक सांसद छान्ने प्रक्रिया १२ क्लस्टरमा भएको चुनावमार्फत परिणाम निकालियो, तर पछि सांसद छान्दा ६ क्लस्टर बनाइयो र म धपाइएँ। पहिलेको समानुपातिक सांसद छान्ने विवादसमेत समाधान हुन सकेन, जुन समय–समयमा भिन्न स्वरूपमा फेरि देखिन्छ,’ कार्कीको भनाइ छ ।